७ वैशाख २०८१ शुक्रबार
अन्य

‘सुन्दर सहर ‘कवाड’ बनायौं’

टोपबहादुर रायमाझी, नेता

तपाईँको बुझाईमा सहर के हो?
सहर योजनाबद्ध विकास भएको सुविधायुक्त आकर्षक ठाउँ हो । सहरको रूप हराभरा हुन्छ । त्यहाँ पुराना मौलिक कला संस्कृतिको संरक्षण गरिएको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
सिंगापुर मनपर्छ । त्यहाँ योजनाबद्ध विकास भएको छ । ५० लाख जनसंख्या र क्षेत्रफल पनि थोरै छन् । एउटा आकर्षक समुद्रको टापु छ । त्यहाँ ‘मास्टर प्लान’ अनुसार काम भएको छ । अधिकांश ठाउँमा जंगल छन् । जमिनबाहिर भवन र भित्र बजार छ, मानिसको बसोबास छ।

नेपाललाई सिंगापुरजस्तै बनाउने राजनीतिक दलहरूको सपना छ, साकार होला?
नेपाल प्रकृतिको वरदान भएको ठाउँ हो । संसारका कुनै पनि मुलुकलाई नदिएको वरदान हामीलाई प्रकृतिले दिएको छ । मौलिक र परम्परागत सम्पदाले भरिएको हराभरा देश संसारमा कहीँ पाइँदैन । फरक यति हो– हामीले सुन्दर देशलाई ‘कवाड’ बनायौं, विदेशी मुलुकले मरुभूमिलाई स्वर्ग बनाए । हामीले प्राकृतिक सम्भावना खोज्न सकेनौं । यदी ती सम्भावना खाजेर अघि बढ्ने हो भने नेपाललाई फाइदै फाइदा छ।

पहिलो कुरा त राज्यले भू–उपयोग नीति ल्याउनुप¥यो । देशको ‘म्याप’ तयार गर्नुप-यो । राजधानी बनाउने, जंगल राख्ने, खेती गर्ने, उद्योग खोल्ने, व्यापारीक क्षेत्र बनाउनेलगायत पक्षलाई समेटेर समेटेर मार्गचित्र (मास्टर प्लान) कोर्नुप-यो ।

त्यसको लागि राज्य कसरी अघि बढ्नुपर्ला?
पहिलो कुरा त राज्यले भू–उपयोग नीति ल्याउनुप-यो । देशको ‘म्याप’ तयार गर्नुप-यो । राजधानी बनाउने, जंगल राख्ने, खेती गर्ने, उद्योग खोल्ने, व्यापारीक क्षेत्र बनाउनेलगायत पक्षलाई समेटेर समेटेर मार्गचित्र (मास्टर प्लान) कोर्नुप-यो । भूगोललाई कसरी प्रयोग गर्ने भन्नेबारे विज्ञहरूसँग बहस हुनुप-यो । त्यति गरेपछि हामीले बल्ल सहरलाई कस्तो बनाउने भनेर अघि बढ्न सक्छौं।

विदेशी मुलुक हेरिकन हामीकहाँ सहरीकरण कुन ‘फेज’मा छ ?
दुनियाँमा यस्तो जात्रा कही छैन । एउटा व्यापारीले जग्गा किन्छ, कवाडी बनाएर छाड्छ । राज्यको नीतिविपरित भवन बनाउँछ । तर, त्यसमा राज्यको कुनै कारबाही छैन । कडीकडाउ गर्न सकेको छैन । हामीलाई विश्वका विकसित मुलुकको दाजोमा पुग्न अझै सयौं वर्ष लाग्छ । अरु मुलुक जस्तै बनाउँछु भनेर सरासर काम थाल्ने हो भने पनि अरु देशको गतिमा पुग्न तीन सय वर्ष लाग्छ । त्यसकारण हामीकहाँ सहरीकरण टालटुले किसिमको छ । काठमाडौं उपत्यकामा राष्ट्रिय स्तरका सडक विकासको काम भएका छन् । तर, ती कुनै पनि योजना फत्ते भएका छैनन् । इन्जिनियरिङ पार्ट पनि राम्रो छैन । तार तथा ढल व्यवस्थापन भएको छैन । विकासको नाममा जोखिम बढाएको छ । त्यसकारण यसबारे राज्य नै बलियो हुनुपर्छ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा तपाईँको लामो अनुभव छ, तर सत्तामा हुँदा सन्तोषजनक काम गर्न सक्नुभएन नि?
मैले राज्यले दिएका स्रोत साधन प्रयोग गरेर भरपुर विकासका काम गरेको छु । म भौतिकमन्त्री हुँदा बाग्मती, विष्णुमतीलगायत नदीमा करिडोर, ढल व्यवस्थापन, कुरूप ठाउँमा पार्क निर्माण, पूर्व–पश्चिम रेलमार्गका योजनालगायत काम गरेँ।

स्थानीय विकास मन्त्री हुँदा पनि मैले काठमाडौंमा नदी सफाईको काम थालनी गरेको थिएँ । त्यहीबाटै नदी सरसफाई कामको थालनी भएको हो । त्यतिबेला काम गर्न निकै चुनौती थियो । एकातिर आन्दोलन चलेको थियो, अर्कातिर संविधान बनाउनुपर्ने थियो । त्यसमा पनि विकास निर्माणका काम गर्न ९ महिनाको समय हुन्थ्यो । काम थाल्छु भन्दाभन्दै कार्यकाल सकिन्थ्यो।

अहिले देशको इतिहासमै पहिलोपटक स्थिर सरकार आएको छ । विकासमा एकसुत्रीय प्रतिवद्धता छ । त्यसैले अब त हामीले विकासका काममा ढिलो गर्नै हुन्न।

राजनीतिक परिवर्तनसँगै सहरका योजना पनि तुहिन्छन्, हरेक पार्टीले सत्तामा पुग्दा हिजोकोलाई निरन्तरता दिँदैनन्, यस्तो प्रवृत्तिले दोहोरिन्न भन्ने आधार के छ?
यो कुरा सत प्रतिशत सही हो । हरेक सरकार परिवर्तन हुँदा मन्त्रीपिच्छे नयाँ योजना ल्याइन्छन् । यो एकदमै खराब प्रवृत्ति हो । यो सबैभन्दा ठूलो विकासको बाधक नै हो । नेताले आफ्नो लोकप्रियताको लागि आफ्ना छुट्टै योजना ल्याउँछन् । तर, त्यसले जनता र देशको भलो गरेको देखिन्न । बरु हरेक योजना अलपत्र अवस्थामा छाडिएका हुन्छन् । योभन्दा अघि सरकार बन्दा योजना ल्याइयो । तर, अस्थिर सरकार ढल्दा योजना पनि ढलेर गए । अबको युग भनेको विकास र समृद्धिको युग हो । सरकार पनि त्यही अनुरूपको छ । त्यसले हरेक क्षेत्रको मार्गचित्र बनाएर विकास काम तीब्र गतिमा सञ्चालन गर्न आवश्यक छ।

विदेशी पाहुना आउँदा सहर सफाचट पारिन्छ, अरुबेला कामै गरिन्न, के नेपालीलाई सफा सुग्घर चाहिँदैन?
यो एकदमै गलत अभ्यास हो । विदेशीलाई देखाउन हामीले यति धेरै खर्च गरेका हुन्छ कि यदि त्यही बजेटमा कुनै स्थायी किसिमको काम गरेको भए त्यस दीर्घकालीन हुन्थ्यो । सबैको लागि हुन्थ्यो । तर, सरकारको भिजन नै भएन । जहाँ जे पर्छ त्यही गर्छ । सरकारले भोलिको बारेमा सोच्दैन । त्यसकारण यस्ता अस्थानीय र लाज छोप्ने काम गर्नुहुन्न । तीन प्रकारका योजना बनाएर अघि बढ्नुपर्छ।

कस्तो योजना बनाउनुपर्ला?
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन । त्यसरी काम गरियो भने सहरको वर्तमानसँगै भविष्य पनि राम्रो र व्यवस्थित बन्छ । महानगरले जिम्मेवार भएर काम गर्नुपर्छ । म स्थानीय विकास मन्त्री हुँदा काठमाडौं महानगरमा १२ सय जना फोहरमा काम गर्ने कर्मचारीमध्ये ६ सयले मात्रै काम गर्दा रहेछन् । त्यतिबेला मैले कारबाही गरेर त्यसमा केही सुधार ल्याएको थिएँ।

यी योजनाअनुसार काम गर्न त्यही किसीमको सोच, भिजन र समन्वय चाहिन्छ, तर हाम्रोमा यी पक्षमा कहिल्यै छलफल गरिन्न कसरी सम्भव होला?
छलफल गर्नुप-यो । हरेक कामलाई पारदर्शी र जिम्मेवार ढंगले फत्ते गराउनुप-यो । आम नागरिकको दैनिकीमा कठिनाई पार्नु भएन । त्यसको लागि नेतृत्वकर्तामा सोच र समन्वय चाहिन्छ । हरेक पक्षसँग छलफल गर्नुपर्छ।

नेपाल बाहिर कहाँ पुग्नुभएको छ?
हङकङ, भारत, चीन, श्रीलंका, जापान, सिंगापुर, कोरिया, अमेरिका, युएई, कतारलगायत देशमा पुगेको छु।

त्यहाँका सहरमा उभिएर हाम्रा सहरको बारेमा सोच्दा कस्तो लाग्छ?
हामी विकसित मुलुकभन्दा तीन सय वर्ष पछाडि छौं । तर, अहिलेको दुनियाँमा हामी केही विकसित भने भएका छौं । विज्ञान प्रविधिले केही विकसित बनाएको छ । दुनियाँ ज्यादै साँघुरो बनेको छ । प्रविधिको प्रयोगले छोटो समयमा धेरै काम गर्न सकिन्छ । त्यसको लागि दृढता चाहिन्छ।

हामीले नेपाललाई स्वर्गको एक टुक्रा भन्छौं, प्रकृतिले भरिएको ठाउँ भन्छौं । तर, मानवीय रूपमा हुने गर्न सक्ने काम हामीले गरेका छैनौं, हामी कहाँनिर चुक्यौं?
हामीले प्रकृतिले दिएका वरदानलाई बोलीमा बेचेर बसेका छौं । नारा मात्रै बनाएका छौं । तर, आफूले गर्नसक्ने कुनै काम गरेका छैंनौ । खाली आफ्नो स्वार्थपूर्तिमा मात्रै लागेका छौं । यसको विकास र अनुपम सुन्दरता बचाउने बारे हामीले सोचेका छैनौं।

तपार्इँ कस्तो सहरको परिकल्ना गर्नुहुन्छ?
असाध्यै व्यवस्थित, जहाँ सहरको विकास मात्रै होइन, गरिबी हठाउने, सामाजिक कार्यमा सुधार ल्याउने, पूर्वाधार विकासमा फड्को मार्ने र व्यवस्थित सहरको परिकल्पना गर्छु।

उपत्यकाको मनपर्ने पक्ष?
आफैमा उचाईमा रहेको सुन्दर भूगोल हो । यहाँ अथाह सम्भावना छन् । पुस्ता र प्रकृतिको वरदान छ यहाँको भूगोलमा।

यहाँको मनपर्ने पक्ष?
भूगोलमा संरक्षण गरेर काम गर्न नसक्ने सरकारदेखि मन पर्दैन । देश कवाडी बनाएर व्यक्तिहरू रमाइरहेका छन् । यो ज्यादै मन नपर्ने पक्ष हो । हामी चरम व्यक्तिवाद भयौं । माथिदेखि तलसम्म व्यक्तिवाद हावी भएको छ । राष्ट्र र जनताको लागि सोच्ने भएनन् । व्यक्तिवाद भएपछि नियम कुल्चियौं । मन्त्रीले नै नियम अटेर गरे । माथिल्लो निकायबाट कडा अनुशासन भयो भने बल्ल सबै पक्ष व्यवस्थित बन्छ।

सहरवासीको बानी कस्तो लाग्छ?
सहरवासीमा नैतिकता र सोच राम्रो छैन । आफ्नो मात्रै हेर्ने प्रवृत्ति छ । खाली जग्गा हडपिरहने चिन्तन छ । त्यसमा सरकारमा बस्नेहरू पनि समावेश छन् । खुमलटारको रेडियो नेपालको जग्गामा अहिले माफियातन्त्र लागेको छ । सरकारी कर्मचारीलाई भाटे कारबाही नगरेसम्म सरकारी जग्गा संरक्षण नहुने देखिन्छ।

काठमाडौं कस्तो लाग्छ?
काठमाठौं बन्द कोठाजस्तै भएको छ । यहाँ हरेक पक्ष अव्यवस्थित छ । तर, सरकारले कुनै नियन्त्रण गरेको देखिन्न । यही अवस्थामा अघि बढ्ने हो भने काठमाडौं निस्सासिन्छ । अर्को कुरा, यहाँ भौतिक पूर्वाधार विकास पनि भएको छैन । सडक अलपत्र छन् । सबै मेलम्चीको पर्खाइमा छन् । तर, यही तरिकारले काम गर्ने हो भने मेलम्ची ५ वर्ष पनि काठमाडौं आउन्न।

मन भएर पनि पुग्न नपाएको सहर?
धेरैले स्वीजरल्याण्ड भनेर विभिन्न उदाहरण दिन्छन्, त्यहीँ जाने मन छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १८ भाद्र २०७५ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App