८ वैशाख २०८१ शनिबार
अर्थ

‘ओभरलोड’ भन्दै ४४ गाडी नियन्त्रण

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा फलाम लोड गरिँदै। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - प्रदेश २ स्थित ट्राफिक प्रहरी कार्यालयले ‘ओभरलोड’ ढुवानीका सवारीसाधन रोक्दा औद्योगिक कच्चा पदार्थको रुपमा आयातित फलाम ओसारपसार प्रभावित भएको छ । प्रहरी उपरीक्षक किरण बज्राचार्यको निर्देशनमा वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा कारबाही बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिकले वीरगन्ज भन्सार÷आइसिपी र ड्राइपोर्टबाट मालसामान बोकेर आएका सवारीसाधन नियन्त्रणमा लिन थालेको छ । ट्राफिकले नियन्त्रणमा लिएका गाडीहरु गाडीधनी प्रमाणपुर्जा अर्थात ‘ब्लुबुक’मा निर्धारित क्षमताभन्दा बढी मालसामान लोड लिएर हिँडेको अवस्थामा समातिएको जनाएको छ । आइतबारसम्म ४४ वटा त्यस्ता गाडी नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रमुख एवं प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताइन्।

‘तोकिएको क्षमताभन्दा दोब्बर, तेब्बर मालसामान लिएर आएका सवारीसाधन नियन्त्रणमा लिई नियमन गर्न थालेका हौं,’ प्रहरी उपरीक्षक बज्राचार्यले भनिन्, ‘सडक दुर्घटना, सडक बिग्रने र पुल भत्कने समस्या नियन्त्रणका लागि गृह मन्त्रालयले समेत कडाइ गर्न निर्देशन गरेको हो । ३० टन क्षमता भएका गाडीले ७५–८० टनसम्म बोकको पाइएको छ ।’ पहिले सवारी चालकलाई केही दिन मौखिक रुपमा सचेत गराउने काम गर्दा पनि नियमविपरीत अत्यधिक भार बोक्ने परिपाटी नरोकिएपछि आफूहरुले कारबाही थालेको उनले बताइन् । ओभरलोड गर्ने सवारीसाधनमा धेरैजसो फलाम ढुवानी गर्ने ट्रेलर छन् । कतिपय ढुवानी व्यवसायीले कारबाहीको विरोध गरेका छन् । दसैंको मुखमा अतिरिक्त व्यक्तिगत आम्दनी गर्न ट्राफिक प्रहरीले ओभरलोडमा कडाइ गर्ने गरेको एक ढुवानी व्यवसायीले आरोप लगाए।

ट्राफिक प्रहरीको उक्त कदमलाई स्वागत गर्ने ढुवानी व्यवसायी पनि छन् । ‘ट्राफिक प्रहरीको उक्त कार्यको हामी विरोध होइन, प्रसंसा गर्छौं । ओभरलोड गाडीमा ब्रेक नलाग्ने समस्या हुन्छ जसले दुर्घटना निम्त्याउन सक्छ,’ ड्राइपोर्ट वीरगन्ज ट्रान्सपोर्टका सञ्चालक भैयाराम पटेलले भने, ‘ब्लुबुकमा उल्लेखित क्षमताअनुसार ढुवानी गर्नुपर्छ, यो नियमसंगत हुन्छ, सुरक्षित हुन्छ र सडक पनि बिग्रिँदैन । अघिल्लो वर्ष यस्तै समस्या हुँदा अर्थ, वाणिज्य, यातायात र गृह मन्त्रालयका अधिकारीको बैठकले सीमा नाकाबाट १५ किलोमिटरसम्म औद्योगिक एरियामा ओभरलोड मालसामान ढुवानी छुट दिन भनेको थियो । त्यसमा टेकेर ढुवानी व्यवसायीले क्षमताभन्दा तेब्बर र ३० किलोमिटरभित्रसम्म ओभरलोड सवारीसाधन गुडाउन थालेपछि कारबाही गर्नुपरेको ट्राफिक प्रहरीको भनाइ छ।

यसअघि २०७० पुस ९ देखि तत्कालीन मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले ओभरलोड ढुवानी रोक्न कडाइ गरेपछि ढुवानी व्यवसायी आन्दोलित भएका थिए । उनीहरुले ढुवानी हडताल गरेपछि २०७० पुस २७ मा विभिन्न सरोकारवाला मन्त्रालयका उच्च अधिकारी तथा ढुवानी व्यवसायीको बैठकले अन्तरिम व्यवस्था गर्दै २ एक्सल ६ चक्के गाडीले १६ हजार ६ सय किलो वजन बोक्न सक्ने, ३ एक्सल १० चक्केले २५ हजार किलो, ४ एक्सल १२ चक्केले ३१ हजार किलो र ४ एक्सल १४ चक्केले ४० हजार दुई सय किलो वजन बोक्ने व्यवस्था गरेको थियो।

अझ २२ हजार किलोदेखि ५४ हजार किलोसम्म सामान बोकेर विदेशबाट आउने कन्टेनर ढुवानीमा पनि बेलाबेलामा कानुनी जटिलता आउने गरेको छ । त्यसको ढुवानीको लागि आवश्यक तोकिएको क्षमताको गाडी एकदमै न्यून संख्यामा रहेको छ।

नेपालमा औद्योगिक सामान तथा कन्टेनरको ओसारपसारका लागि चाहिने बेग्लै नियम कानुन छैन । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ अनुसार नै त्यसलाई समेत नियमन गर्ने गरिएको छ । २०५४ मा सो नियमावली बनाउँदा त्यसमा कन्टेनर र त्यसको वजनको व्यवस्थापनको कल्पनासमेत नगरिएकाले कानुनी समस्या देखिएको ढुवानी व्यवसायी बताउँछन्।

प्रकाशित: १८ भाद्र २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App