८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा

काठमाडौं– संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेको हो।

काठमाडौंमा आयोजित एक समारोहमा आज (आइतबार) सभामुख महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदहरुको नाम घोषणा गरे। नेकपाका नेता एवं सांसद भीम रावलको नेतृत्व रहने नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा सांसदहरु योगेश भट्टराई, जयपुरी घर्ती, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, लेखराज भट्ट र उमेश श्रेष्ठलगायत हुन। केही सांसदहरुको नाम अझैं आउने क्रममा रहेको र नाम आइसकेपछि समूहले पूर्णता पाउने सभामुख महराले बताए।

सभामुख महराका अनुसार पहिलो चरणमा भारत, चीन र अष्ट्रेलियाका लागि संसदीयमैत्री समूह गठन हुनेछ। प्रत्येक मुलुकका लागि गठन हुने संसदीयमैत्री समूहमा १५ जना सदस्य रहनेछन्। 
नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहको शुभारम्भ गर्दै सभामुख महराले मैत्री समूहले दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन योगदान पु¥याउने विश्वास व्यक्त गरे। 

उनले भने, ‘संसदीयमैत्री समूहको विभिन्न राजनीतिक दलका शीर्ष नेताबाटै नेतृत्व होस् भन्ने हामी चाहन्छौं। दुवै देशका संसदीय अभ्यासको अनुभव आदानप्रदान गर्न यस्ता समूहको गठनबाट योगदान पुग्नेछ।’ 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध विस्तारमा संसदीयमैत्री समूह गठनको घोषणा नौलो र ऐतिहासिक क्षण भएको बताए। शेर्पाका अनुसार अष्ट्रेलियाको संसदले नेपालका लागि ३७ सदस्यीय संसदीयमैत्री समूह गठन गरिसकेको छ। 

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडले दुवै देशमा लोकतन्त्रको विकासका लागि भइरहेको अभ्यासबारे जानकारी गर्न, संसदीय अनुभव आदानप्रदान गर्न, विकासका क्षेत्र पहिल्याउन तथा पर्यटन प्रवर्द्धन गर्नसमेत मैत्री समूह गठनबाट योगदान पुग्ने विश्वास व्यक्त गरे। 

उक्त घोषणा समारोहमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक नेताहरु, संघीय संसद् सचिवालयका महासचिव तथा नेपालका लागि अष्ट्रेलियन दूतावासका प्रतिनिधिको सहभागिता थियो। 

प्रकाशित: १७ भाद्र २०७५ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App