coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेवा खोला हाईड्रोपावर निर्माण पूरा, केन्द्रीय प्रशारणमा जोडिँदै

बत्ती बाल्ने तयारी गरिएको मेवा खोला हाईड्रोपावर पावरहाउस। तस्बिरः दमन राई

खोटाङ– खोटाङलाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ सुरु गरिएको मेवा खोला हाईड्रोपावरको काम पूरा भएको छ। हाईड्रोपावरको सिभिल कन्ट्रक्सन, ट्रान्समिसन, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकललगायतका निर्माणका काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर केन्द्रीय प्रशारणलाईनमा जोडिने आयोजना प्रबद्र्धक साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताए।

बाढी, भूकम्प र नाकाबन्दीले पु¥याएको असर तथा क्षतीका कारण तोकिएको मितिमा पूरा हुन नसकेको हाईड्रोपावरको काम दुई हप्तापछि सञ्चालनमा आउने साप्सु–कालिका हाईड्रोपावर कम्पनीले बिहीबार सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर जानकारी दिएको छ। १ मेगावाट क्षमताको हाईड्रोपावरको ड्राई टेस्ट गरिसकिएकाले बत्ती बाल्न र नेपाल बिद्युत प्राधिकरणको बुईपास्थित सबस्टेशनमार्फत केन्द्रीय प्रशारणलाईनमा जोड्न मात्र बाँकी रहेको प्रबन्ध निर्देशक राईले जानकारी दिए। आयोजनाका अनुसार चीनबाट आउने इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि बिद्युत बल्ने छ। हाल निरन्तर परिरहेको वर्षाका कारण सडकको अवस्था नाजूक भएकाले चिनिया ईन्जिनियरलाई दिक्तेल ल्याउन सकिएको छैन।

‘आयोजनाको सबै काम पूरा भइसकेको छ, टेस्टिङ र कमिसनिङ गर्न मात्र बाँकी छ,’ प्रबन्ध निर्देशक राईले भने, ‘मौसमले साथ दिए दुई हप्तापछि हामी बत्ती बाल्न सफल हुनेछौं।’ लोडसेडिङको मार खेपीरहेका जिल्लाबासी दुई हप्ताभित्र मेवा खोला जलविद्युत सञ्चालन हुने खबरले उत्साहित छन्। विद्युत आयोजना सञ्चालन भएपछि लोडसेडिङको मार खेप्न नपर्ने र उद्योगलगायत अन्य विकासे काममा समेत सघाउ पुग्नेमा स्थानीय आशाबादी छन्। हाल २.५ मेगावाट बिद्यूत खपत भइरहेको जिल्लामा मेवा खोलाको १ मेगावाट थप हुँदा उर्जा संकटमा कमी आउने दाबी गरिएको छ।

समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाण्डूको ७० प्रतिशत गरी २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट विद्युत उत्पादन गर्न लागिएको हो। उत्पादित बिद्युत केन्द्रीय प्रशारण लाइनको बुईपा सबस्टेशनमा जोड्ने र जिल्लामै खपत गरिने प्रबन्ध निर्देशक राईले बताए। ‘हाईड्रोपावरको बिद्युतलाई केन्द्रीय लाईनमा जोडेपछि जिल्लामा उपभोग गर्न पाईन्न भन्ने सबैलाई चिन्ता छ,’ राईले भने, ‘तर, बुईपा सव–स्टेशनमा जडान गरेपछि यो बिद्यूत जिल्लामै खपत हुन्छ, बढी भए मात्र बाहिर पठाईन्छ।’

जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो। पाँच वर्षअघि सम्पन्न खोटाङको १८ औं जिल्ला परिषदले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि मेवा खोला लगायतका हाईड्रोपावरको कामलाई द्रुत गतिमा अघि बढाइएको थियो।

हाईड्रोपावरको नहर, जलाशय, पावर हाउसलगायतका सिभिलका काम, फ्रेम, गेटलगायत फलाम जडानसम्बन्धी हाइड्रो मेकानिकलका काम, जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर, प्यानललगायतका इलेक्ट्रोमेकानिकल तथा पोल राख्ने, तार टाँग्ने, विद्युतगृह र सव–स्टेसनलाई जोड्ने ट्रान्समिसनका काम सम्पन्न भइसकेको आयोजना प्रमुख ललितकुमार राईले बताए। २०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछि धकेलिएको हो। बाढीको असरबाहेक भूकम्पका कारण कामदारहरु काम छाडेर घर हिँडेपछि पनि हाईड्रोपावरको काम प्रभाबित भएको थियो। बाढीको क्षतीका कारण सुरुमा स्टिमेट गरेभन्दा २ करोड ५० लाख बढी खर्च लागेको हो। ‘अघिल्लो असोजमै बत्ती बाल्ने लक्ष्यका साथ काम गरिरहेका थियौं, बाढीका कारण सम्भव भएन,’ प्रबन्ध निर्देशक राईले भने, ‘अब भने चाँडै विद्युतको अभाव झेल्न नपर्ने अवस्थामा पुगेका छौं।’

खोलाबाट निकालिने हाईड्रोपावरको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाबिस रहेको जिल्लाका ४० गाबिस लोडसेढिङमुक्त बन्ने साप्सु–कालिका हाईड्रोपावर कम्पनीले जनाएको छ।

 

प्रकाशित: ३१ भाद्र २०७३ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App