coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्मार्ट सिटीकाे अभियानमा महानगर : ६ स्थानमा फ्रि वाइफाई सुरू

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई समयानुकुल प्रविधिमैत्री सेवा विस्तार गरी विस्तारै महानगरपालिकालाई डिजिटल र स्मार्ट सिटी बनाउने अभियानलाई तीव्र रुपमा अघि बढाएको छ। यसको सुरुवातमा महानगरले हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रमा आइतबारदेखि फ्रि वाइफाई सेवा सुरु गरेको छ।

फ्रि वाइफाई सेवा सुरुवातको उदघाटन पशुपति क्षेत्रबाट गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो घोषित नीति अनुसार नै यस्तो कार्यक्रमको सुरुवात गरेको जानकारी दिए। पशुपति क्षेत्र विकास कोषको सहयोग र वर्ल्डलिङ्क कम्युनिकेशनको सहकार्यमा फ्रि वाईफाईको उदघाटन गर्दै उनले भने- ‘यो युग विज्ञान र प्रविधिको युग हो’, उनले भने, ‘विज्ञान र प्रविधिलाई हामीले वेवास्था गर्ने होइन सदुपयोग गरेर नै अघि बढ्नुपर्छ।’

उनले स्मार्ट सिटी अभियान अन्तरगत नै धर्मपथमा स्मार्ट पार्किङ भवन बनाउने तयारी सुरु भएको बताए। भविष्यमा काठमाडौँ महानगरपालिकालाई नै फ्रि–वाईफाई महानगरपालिका बनाउने उदघाेष गरे। उनले महानगरका धार्मिक, सास्कृतिक स्थलहरुका बारेमा जानकारी लिन सजिलो होस भनेर एप्स समेत तयार गरेको पनि जानकारी दिए।

आज उदघाटन गरिएको क्षेत्रमा एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान गरिएको छ। जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन्।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने छन्। बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन्।

मेयर शाक्यले अहिले परीक्षणकाल भएकाले दिनमा ८ घण्टा मात्र सञ्चालनमा ल्याउने पनि जानकारी दिए। प्रदेश सांसद नरोत्तम वैद्यले पनि सकारात्मक सोचका साथ कामको सुरुवात भएको भन्दै आफूहरुले सहयोग गर्ने जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७५ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App