४ वैशाख २०८१ मंगलबार
राजनीति

सभामुखलाई मासिक न्यूनतम ७० हजार प्रस्ताव

मकवानपुर - तीन नम्बर सभाको सभामुखलाई मासिक पारिश्रमिक (तलब) ५३ हजार, उपसभामुख र विपक्षी दलको नेताको ५० हजार प्रस्ताव गरिएको छ। ३ नम्बर प्रदेश सभाको आईतबार बसेको बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापती र विपक्षी दलका प्रमुख सचेतकको ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेश सभा सदस्य(सांसद)को ४५ हजार प्रस्ताव गरिएको हो।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७४ माथि प्रदेश मामिला समितिका सभापती माधवप्रसाद पौडेलले पेश गरेको प्रतिवेदनमा अन्य सुविधाहरु समेत थप गरी प्रस्ताव गरिएको छ।

सभामुखलाई मासिक रुपमा पारिश्रमिक ५३ हजार, अतिथी सत्कार १० हजार, सञ्चार सुविधा ५ हजार, निजी सचिवालय २ हजार गरि न्यूनतम ७० हजार पाउने भएका छन्। त्यसका साथै आवास, सवारी साधन र फर्निचरसहित सभामुखले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार ५ सय, सवारी ईन्धन मासिक १ सय ५० लिटर, मोविल त्रैमासिक १० लिटर, बिजुली, धाराको बिल अनुसार, विदेश भ्रमण भत्ता प्रतिदिन २ सय अमेरिकी डलर र यात्रा विमा १० लाखको रहने प्रस्ताव गरिएको छ।

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७५ माथि समितिले तयार गरेको प्रतिवेदन आईतबारनै प्रदेश सभा बैठकमा पेश गरेका थिए। 

३ विधेयक छलफलका लागि समितिमा पठायो
३ नम्बर प्रदेश सभाको आईतबारको बैठकले ३ विधेयकलाई दफावार छलफलका लागि विधेयक समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ। बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रकोप व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रस्तुत गरेको प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ लाई सर्वसम्मत रुपमा दफावार छलफलका लागि समितिमा पठाएको हो।

तीन नम्बर प्रदेश सभाको अर्को बैठक सोमबार बिहान ११ बजे तोकिएको छ।

प्रकाशित: १७ भाद्र २०७५ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App