coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिरामी अस्पताल

जिल्ला अस्पतालको भवन ।    तस्बिरः दिनेश/नागरिक

रोल्पा – दीर्घरोगी जस्तै बनेर थलिएको जिल्ला अस्पताल रोल्पामा आवश्यक भौतिक पूर्वाधार र प्रयाप्त जनशक्ति नहुँदा बिरामीसँगै स्वास्थ्यकर्मीले हैरानी भोगिरहेका छन्। पछिल्ला केही वर्षयता डाक्टरहरू अस्पतालमा नियमित बस्न थालेपछि बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएपनि यहाँ हरेक चिजको अभाव छ। ‘बिरामी राख्ने ठाउँको अभाव छ। प्रयाप्त म्यानपावर पनि छैन्। भौतिक हिसाबले पुग्दो भएन।’ जिल्ला अस्पताल प्रमुख डा. सुशिल आचार्यले भने।

बुधबार जटिल अवस्थाका ३ सुत्केरीको सफल अप्रेशन गरेको अस्पतालमा अघिल्लो दिन अपे्रशन गरेका अरु दुई जना थिए। अस्पताललाई उनीहरूको ब्यवस्थापनमा चिन्ता थपियो। ‘१५ शैंयाको अस्पतालको स्तर त ठिकै छ तर अब त्यसले नधान्ने भयो। बिरामीलाई कहाँ राख्ने भन्ने सकस हुन्छ। अरु बिरामी पनि भर्ना हुन्छन्। एउटा घरमा अप्रेशन गरेकालाई स्टेचरबाट लिएर अर्को घरमा राख्नु पर्छ। के गर्नु ठाउँ पनि छैन नर्सिङ स्टाफ पनि कम छन्।’ आचार्यले भने, ‘अप्रेशनका लागि ३ सेट उपकरणहरू मात्र छ। यदी त्यो भन्दा बढिको अपे्रशन गर्नु पर्यो भने त झनै ठुलो समस्या पर्नेवाला छ।’

दशकौदेखि रोल्पालीहरू निरन्तर सत्तामा बसेपनि रोल्पाको स्वास्थ्यले मुहार फेर्न सकेको छैन्। जिल्ला अस्पताललाई १५ शैयाबाट स्तरवृद्धि गराउने प्रयास पनि भएको पाइदैन। २०७३ फागुनमा प्रधानमन्त्री हुँदा महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर रोल्पा आएका पुष्पकमल दाहलले ‘जिल्ला अस्पताललाई एक सय शैयाको बनाउने छु’ भनेर ताली खाएपनि त्यसको प्रगति के भयो भन्ने बारेमा कसैलाई जानकारी छैन्।

‘प्रशस्त ठाउँ नभएर डाक्टरलाई काम गर्न कठिन छ। हुन त नयाँ भवन बन्दै छ। कति वर्षमा सकिने हो। कम्तीमा अस्पतालको स्तरवृद्धि भएमा स्वत जनशक्ति थपिन्थ्यो। सेवा अली सहज हुन्थ्यो।’ अस्पताल विकाश समितिका सदस्य आकाश वलीले भने।  वि.स २०६१ चैत्रमा मात्र यो अस्पतालले जिल्ला अस्पतालको स्वीकृती पाएको थियो। 

खण्डहर भवनमा अस्पताल
अहिलेको रोल्पा अस्पताल पुरानो र खण्डहर जस्तै भवनमा छ । २०३७–०३८ मा टेण्डर आह्वानपछि पम्फा कन्ट्रक्सनले जिल्ला अस्पताल भवन निर्माण सुरु गरेको थियो। त्यो बेलाको ३६ लाखमा सुरु गरिएको भवन निर्माण तत्कालिन पञ्चायतका हस्तीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको प्यानलको आन्तरिक विवादका कारण ठेकेदार डिल्लीबहादुर सुवेदी चेपुवामा परे। उनले थापा पक्षको पेलानको निहु बनाएर भवन निर्माण केही समय अलपत्रै छाडे। 

२०४२ सालमा प्रजिअ भएर आएका सानुबाबु खत्रीले यो योजनालाई सकाउन पहल गरे। थापा पक्ष प्रजिअको दबाबमा परेका ठेकेदारले नाम मात्रको काम सकाएर भवन हस्तान्तरण नै नगरी गुमनाम भए। नेदरल्याण्ड सरकारले अस्पतालका लागि दिएका भौतिक सामाग्री समेत रहेको नव–निर्मित भवन अलपत्र परेपछि सबै चोरिएर सकिए। झ्याल ढोका सबै हराए। २०३७–०३८ बाट सुरु गरिएर २०४१–०४२ तिर सम्पन्न भएको यो भवन करिब २० वर्ष जति एक्लियो। सामान्य हेल्थसेन्टरका लागि बनाएको भवन हस्तान्तरण नभएका कारण स्वास्थ्य संस्था भाडाको सानो घरमा सदरमुकाम बजारमै बस्यो। 

अहिलेसम्म यहाँ मर्मतका लागि मात्रै करोडौ रुपैयाँ सकिएको छ। तरपनि सेवा दिन सक्ने अवस्थामा छैन। भित्ताहरू चर्किएका छन्। झ्याल ढोका खस्ने अवस्थामा छन्। टिनको छाना खिया लागेर चुहिन्छ। आफ्नो स्थापना कालदेखि ३ वटा शासन व्यवस्था देखेको यो भवनले धेरै मन्त्री, नेता र मन्त्रालयका सचिवको अनुहार देख्यो तर आफू भने उस्तै छ। 
नयाँ भबन बन्दै
अब भने जिल्लामा ५० शंैयाको अस्पताल भवन निर्माण हुने छ। अघिल्लो आर्थिक वर्षदेखि सदरमुकाम लिबाङको रेउघामा साढे २ तलाको भवन निर्माण थालिएको हो। भ्याटबाहेक २९ करोडमा भवन निर्माण सुरु गरिएपनि उक्त भवन सम्पन्न हुँदासम्म सेवा प्रवाहमा कठिनाइ भइरहने देखिएको छ।

निजी कन्सल्टेन्सीमार्फत डिजाइन गरिएको उक्त भवन आशिष, श्री जयन्ती र ड्रागन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण थालेका हुन। रोल्पा अस्पताल प्रमुख डा. सुशील आचार्यका अनुसार नयाँ भवन निर्माणपछि बिरामीलाई दिइने सेवा थप प्रभावकारी हुनेछ। सुत्केरी सेवालगायत विशेषज्ञ सेवा प्रवाह गर्न नयाँ भवन निर्माण भएमा सजिलो हुने उनले बताए।

प्रकाशित: १७ भाद्र २०७५ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App