काठमाडौं – म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन रहिम स्ट्रलिङले खेलको ८ र केली वाल्करले ५२ मिनेटमा एक–एक गोलको योगदान दिए। न्युकासलका लागि ३० औं मिनेटमा डीआन्द्रे एडलिनले गोल गरे। जितसंगै साविक विजेता सिटी ४ खेलबाट १० अंक जोडदै लिगको तेस्रो स्थानमा छ।
त्यस्तै चेल्सीले पनि एएफसी बर्नमाउथलाई २–० ले हरायो। चेल्सीका लागि ७२ औं मिनेटमा पेड्रो र ७५ औं मिनेटमा इडेन हाजार्डले गोल गरे। जितसँगै ४ खेलबाट १२ अंक जोडेको चेल्सी लिगको दोस्रो स्थानमा छ।
राति नै भएका अन्य खेलमा साउथह्याम्टनले क्रिष्टल प्यालेसलाई २–०, वुल्भ्सले वेष्टह्यामलाई १–० ले हराउदा ब्राइटन र फुलह्यामले २–२ तथा एभर्टन र हडल्सफिल्डले एक–एकको बराबरी खेल्दै अंक बाडेका छन्।
प्रकाशित: १७ भाद्र २०७५ ०६:२२ आइतबार