८ वैशाख २०८१ शनिबार
अर्थ

विद्यार्थी पढाउन विद्यालयमा मौरीपालन

रावलडाँडा आधारभूत विद्यालयको छतमा पालिएका मौरीका घार देखाउँदै विद्यार्थी। तस्बिर : सरिता/नागरिक

धादिङ - विद्यालयमा कक्षाकोठा हुन्छ, डेक्स–बेन्च हुन्छन्, खेल्ने मैदान हुन्छ, पुस्तक हुन्छ तर दक्षिणी धादिङका विद्यालयमा कक्षाकोठासँगै मौरी समेत देख्न पाइन्छ। विद्यालय सञ्चालनका लागि केही विद्यालयले विद्यालयकै बरन्डा र छतमा मौरी पालेका छन्।

शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि विद्यालयमै मौरीपालन गरेको रावलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक सञ्जिव रावलले बताए। ‘विद्यालय सञ्चालनका लागि आर्थिक अभाव हुन थालेपपछि कृषि प्रणाली अवलम्बन गर्न थालेका हौं,’ रावलले भने, ‘यसले विद्यालय र विद्यार्थीलाई फाइदा पुगेको छ।’

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालय पढार्ईसँगै मौरीपालनमा अहिले नमुना विद्यालय बनेको छ। विद्यालयमा सीमित शिक्षक दरबन्दी हुँदा निजी स्रोतबाट शिक्षक राखी कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको रावलले बताए। पहाडी क्षेत्र भएका गाउँमा टाढा–टाढाको दूरीमा विद्यालय हुने गर्छ।

एउटा तह पार गरेपछि अर्को तह पढ्नका लागि विद्यार्थीले विद्यालय नै परिवर्तन गर्नुपर्ने समस्याका कारण आजकाल निजी स्रोतमा तलब खुवाउने गरी विद्यालयको तह बढाउन थालिएको छ। तह बढाएसँगै शिक्षक पनि थप्नुपर्ने र तलब खुवाउन समुदायले नै आर्थिक संकलन गर्ने तथा आयआर्जनको उपायस्वरुप मौरीपालन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयको छतमा मौरीका २० घार राखिएका छन्। अहिले परीक्षणको रुपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो भए थप बढाउने प्रधानाध्यापक रावलले बताए। ‘उत्पादन लिनका लागि खासै परिश्रम पनि गर्नु नपर्ने तथा विद्यार्थीको पाठ्यक्रम अनुसारको सीपमूलक विषय ‘पेसा व्यवसाय’का लागि प्रयोगात्मक कक्षा पनि सञ्चालन गर्न सहयोग पुग्ने भएकाले विद्यालय प्रांगणमा मौरी पालेका हौं,’ रावलले भने, ‘त्यसको आम्दानीबाट विद्यालयको स्रोत बढाउन पनि सहयोग पुगेको छ।’ विद्यार्थीले पनि पाठ्यक्रममा पढेका विषयमा प्रयोगात्मक तरिकाबाट देख्न र हेर्न पाएका छन्।

कक्षा ८ सम्म पढाई हुने विद्यालयमा जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार दुई सय २४ जना विद्यार्थी पढ्ने गर्छन् । दुई सय २४ विद्यार्थीलाई पढाउन जिल्ला शिक्षाबाट एकजना बालविकास केन्द्र र प्रावि तहको अर्को एक गरी जम्मा दुई शिक्षकको मात्रै दरबन्दी रहेको छ। दरबन्दी नहुँदा एउटै शिक्षकले सबै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । त्यही बाध्यता हटाउनका लागि विद्यालयले मौरीपालन गरी शिक्षक राखेका हुन्।

पहिले कक्षा ५ सम्म मात्र पढार्ई हुने यस विद्यालयमा स्थानीयको पहलमा कक्षा ८ सम्म पढार्ई हुने गर्दछ। नजिक विद्यालय नहुँदा घन्टौंसम्म हिँडेर पढ्न जानुपर्ने बाँध्यता थियो। नजिक विद्यालय नहुने विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्नका लागि टाढा जान नसक्ने भएकाले विद्यार्थी विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिका लागि आयआर्जनको बाटो खोजेको स्थानीयको भनाइ छ।

सीमित दरबन्दीमा सञ्चालन भइरहेका जिल्लाका केही विद्यालयले समुदायकै पहलमा विद्यालयको तह वृद्धि गरी सामूहिक तरकारी खेती, अन्न संकलन तथा खसीबाख्रा पालेर पनि शिक्षकलाई तलब खुवाउँदै आएका छन् । विद्यालयको आर्थिक सुधार र आफ्ना बालबच्चालाई घरनजिकको विद्यालयमा पढाउन पाउँदा खुसी लागेको अभिभावक रामबहादुर रावलले बताए । नजिक विद्यालय नहुँदा बालबच्चाले पढाई नै छाडेका थिए,’ रावलले भने, ‘समुदायले नै तलब खुवाउने गरी निजी स्रोतमा शिक्षक राखेकाले आयआर्जनको बाटोस्वरुप विद्यालय प्रांगणमै मौरीपालन थालिएको हो।’ नजिक विद्यालय नहुँदा कतिपय विद्यार्थी पढार्ई नै छाडेर त्यतिकै बसेका छन्।

यता जिल्लाको नमुना विद्यालयको रुपमा मानिएको गजुरी गाउँपालिका–५ च्याङलीमा रहेको डोलभन्ज्याङ माविको छतभरी मौरीका घार देख्न पाइन्छ। शिक्षकलाई निजी स्रोतमा तलब खुवाउन विद्यालयमै मौरीपालन सुरु गरिएको हो। सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न र तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउन विद्यालयमै कृषि प्रणाली अपनाउन थालेका हुन्। विद्यालयलाई विभिन्न गैरसरकारी संस्थाले निःशुल्क रुपमा आधुनिक मौरीको घार उपलब्ध गराएको छ।

विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीको पढार्ई छाड्ने संख्या बढेपछि आम्दानीको स्रोत खोजिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीले बताए। ‘अभिभावक र विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयमा मौरीपालन सुरु गरेका हौं,’ रुपाखेतीले भने, ‘आम्दानीका साथै विद्यार्थीको प्रयोगात्मक सिकाइका लागि पनि उपयोगी बनेको छ।’ ग्रामीण क्षेत्रका प्राथमिक तहका धेरैजसो विद्यालयमा शिक्षक दरबन्दी नहुने र निजी स्रोतमा राखिएको शिक्षकलाई तलब खुवाउन अन्न संकलन तथा नगद संकलन गर्ने गरिन्छ।

प्रकाशित: १७ भाद्र २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App