७ वैशाख २०८१ शुक्रबार
विचार

बटुवा वृत्तान्त

गत साता मुलुक बिम्स्टेक जात्रामय रह्यो । यसै पनि हाम्रो मुलुक जात्रैजात्राको हो । त्यसैले हामीलाई समय कटाउन उति गाह्रो हुँदैन । प्रत्येक दिनजस्तो आउने चाडबाड, जात्रामात्रा र राजनीतिक रजगजले वर्षैभरि भरपुर मनोरञ्जन प्रदान गर्छ।

बिम्स्टेक जात्रा सम्पन्न गर्न सकेकामा सरकारलाई धन्यवाद भन्नुपर्छ । त्योभन्दा ठूलो धन्यवाद चाहिँ सर्वसाधारणलाई दिनुपर्छ । मुलुकको इज्जत धानिदिन सर्वसाधारणले बेहिसाब दुःख खेपेका छन् । कठै, सर्वसाधारणले बितेका सात दिन व्यहोरेका दुःख धेरै छन् । सञ्चार माध्यमले पनि यसलाई धेरै ठूलो विषय बनाएनन्।

जति धेरै समस्या भए पनि हामी रमाइरहन्छौँ । हामी नेपालीको विशेषता यही हो। जात्रा चलिरहनु पर्छ!

बुधबार, बिहिबार र शुक्रबार तीन दिनको बिजोर, जोर र बिजोर सवारी व्यवस्थापनका दृष्टिकोणबाट उपयुक्त भए पनि सर्वसाधारणले साह्रै हन्डर खाएका छन् । आफ्नो गन्तव्यमा पुग्न सबैलाई हम्मे प-यो । सडक किनाराका हजारौँ सर्वसाधारणले सरकारलाई पक्कै पनि मनमनै स्याबासी दिएनन्।

सडक खाली पारेर पाहुनालाई होटल तथा सम्मेलन स्थलमा पु-याउँदा पनि आकाशमा हेलिकोप्टर उडाएर गरिएको महाचटकलाई सर्वसाधारणले बुझेकै छन् । त्यति मात्र होइन, बिम्स्टेक जात्राका क्रममा कति पैसा उडाइयो भन्ने क्रमशः खुल्ने नै छ । पाहुना हिँड्ने सडकका खाल्डाखुल्डी रातारात सम्याउने गरी पिच गरिएको छ । त्यसको बिलभर्पाइ पनि राम्रैसँग बढ्नेछ । त्यसो त, सडक विभागका हाकिम साहेबहरूले यो काम आफ्नो नियमित बजेटबाटै भएको बताइरहेका छन् । हतारमा काम गर्ने र फुर्सदमा पैसा उडाउने राष्ट्रिय अभियान जारी छ!

आखिर चाहने हो भने काम हुने रहेछ । काम भयो । पाहुना हिँड्ने जति बाटा राम्रा पनि देखिए । हिलो लागेका पुलहरू पनि गुलाबी रंगले रातारात पोतिएका छन् । फोहोरका थुप्रा ढाकिने गरी ‘समृद्ध नेपाल सुखी नेपाली’का सुन्दर पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली मुस्कुराइरहेका देखिन्छन् । तर, त्यही छेउमा हिलो कुल्चिएर हिँडिरहेको सर्वसाधारणले के सोच्छ त्यसबारे अनुमान लाउने जिम्मा तपाईंकै।

पाहुना आउँदा सडकमा रातारात पिच गर्न सकिने रहेछ । तर, त्यही काम किन समयमा भएन ? पाहुना नहिँड्नेतिरका सर्वसाधारणले चाहिँ राम्रो बाटोमा हिँड्न कति कल्पिनुपर्ने हो ? यो प्रश्न पनि पंक्तिकारको होइन । सडकमा हिँडेका बेला सर्वसाधारणका मुखबाट फुत्त निस्किएका यी अभिव्यक्ति सहजै कानसम्म आइपुगेका हुन् । यी वाणीलाई तीतो सत्यकै रूपमा ग्रहण गर्नुपर्छ।

संसारभर लेखेका कारण देवानी मुद्दा लाग्छ। यहाँ त्यो फौजदारी भएको छ। लेखेबापत फौजदारी मुद्दा लाग्ने यो मुलुकमा प्रेसले नलेखेपछि चाँडै रामराज्य आइहाल्ला। सडकका खाल्डाको फोटो खिचेर अखबारमा छाप्दा समेत फौजदारी अभियोग लाग्ने छाँटकाँट देखिँदो छ।

एक हुल युवाहरू गोर्खा भर्तीमा जान गौरीघाटबाट अगाडिको सडकमा हालै दौडिरहेका थिए । दौडिँदा दौडिँदै पनि तिनका मुखबाट यो मुलुकका उच्च पदस्थहरूका निम्ति निःसृत भइरहेका कटु सत्यको पुनरावृत्तिले यो लेखकलाई मुलुकी ऐनको फौजदारी मुद्दामा पार्ने निश्चित छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा पोखिने यस्ता अभिव्यक्ति रोकिए भने पनि सर्वसाधारणले आपसमा व्यक्त गरिहाल्ने रहेछन् । त्यसैले जनताको मुख सिउन कठिन छ।

हायात होटलको पश्चिम हाताबाहिर ढल खनेर हिलाम्य बनाइएको सडकमा बिहिबार बिहान हिँडिरहेका एक अधबैँसेका मुखबाट निस्किएका कटु शब्दमा वरिपरि हिँडिरहेका अन्य व्यक्तिले समेत ताली पिटिरहेका थिए । ‘बन्यो नयाँ नेपाल’, तिनले थपे, ‘यस्तै बाटो हिँडाउन पु-याइएको रहेछ तिनलाई सत्तामा !’ यसको कुनै ओखती होला कि सरकार!

सडकमै हिँड्ने हुनाले नागरिकले कुन बेला के भन्छन् यो पंक्तिकारले सुन्छ । चुनावका बेलामा तिनमा देखिएको उत्साह, त्यसपछिको परिणाम र बनेको सरकारप्रति जनताको उत्साह हेर्न लायकको थियो । अब चाहिँ केही होला है ! यस्तै सुनिन्थ्यो जता जाँदा पनि । तर छ महिनामै स्थितिमा ठूलो अन्तर देखिएको छ । कहाँ हरायो त्यो उत्साह?

प्रधानमन्त्री ओलीको व्यक्तित्व अघिल्लो कार्यकालमा चुलिएको थियो । त्यही चुलिएको व्यक्तित्व र स्थिर सरकारको नाराले दुई तिहाइको बलियो सरकार बन्यो । स्थिर सरकारको काम कारबाहीमा कुनै अन्तर छैन । हिजो जसरी काम हुँदैनथे, आज पनि त्यसरी नै काम भइरहेका छैनन् । ‘समय कटनी मानो पचनी’ यसैलाई भन्छन् क्यारे!

बिग्रेको बाटो, बेथिति विकास, भ्रष्टाचारले सिर्जना गरेका भ्रान्ति आदिले सरकारप्रति वितृष्णाको स्थिति ल्याएको छ । प्रधानमन्त्री भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ भनिरहेका छन् । सम्पादकहरूसँगको सोमबारको भेटमा उनले भ्रष्टाचारविरुद्धको आफ्नो अडान दोहा¥याए । त्यति मात्र होइन प्रत्येक टेबुलमुनि ‘अन्डरपास’ रहेको सांकेतिक अभिव्यक्ति पनि दिए । जनताले टेबुलमुनिका ‘अन्डरपास’ बन्द भएको कहिले हेर्न पाउलान्?

समयमा काम नहुनु पनि भ्रष्टाचार हो । एउटा निश्चित समयमा सम्पन्न गर्नुपर्ने परियोजना पूरा नहुँदा तोकिएको बजेटले अर्को वर्ष त्यति नै काम गर्न सक्दैन । सरकार एउटा निरन्तरता हो । त्यसकारण प्रधानमन्त्रीले यो पहिलेको योजना हो भनेर उम्किने छुट हुँदैन । पुराना आयोजना किन समयमा सकिएनन् भनेर निर्मम अनुसन्धान हुनु आवश्यक छ । ‘सडकको खाल्डो अहिलेको सरकारले पारेको हो ?’ भन्ने जवाफले त्यसको समाधान निकाल्दैन।

प्रधानमन्त्री, मन्त्री र नेताको अहिले आलोचना भइरहेको छ । त्योभन्दा बढ्ता आलोचनाको पात्र हुनुपर्ने मुलुकको कर्मचारीतन्त्रले हो । सर्वसाधारणले समयमा काम नहुने, भ्रष्टाचार हुने र सरकारमा पुग्ने नेतालाई बिगार्ने काममा कर्मचारीको हात छ । कर्मचारीतन्त्रले काम नगरेको महसुस प्रधानमन्त्री ओलीलाई समेत भएको छ । उनको त्यो असन्तुष्टि सम्पादकहरूसँग पनि प्रकट भएको थियो।

वास्तवमा यो मुलुकमा काम नहुनुमा कर्मचारीतन्त्रको भूमिका भए पनि त्यसतर्फ ध्यान जान सकेको छैन । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न आदेश दिनुपर्ने विडम्बनापूर्ण अवस्था छ । निर्देशन दिए पनि त्यसको पालना हुँदैन । प्रधानमन्त्रीले दिएको पछिल्लो ५० दिने आदेश पूरा भएन । भौतिक पूर्वाधार, योजना तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नागढुंगा, बौद्ध–जोरपाटीलगायतका सडकको अनुगमन त गरे तर कामलाई निरन्तरता दिन सकेनन्।

मुलुकमा अहिले निर्देशन दिने चलन छ । माथिल्लो पदमा भएकाले तल्लो पदमा हुनेलाई निर्देशक दिन्छन् । ‘वरलाई अह्रायो पर, परलाई अह्रायो झन् पर’को स्थिति छ देशमा । निर्देशनले मात्र देश बनोइन!

ठूलो पद ठूलो बुद्धि ! सानो पद सानो बुद्धि ! त्यही भएर ठूलाको निर्देशन सुन्ने र सानाले कामै नगर्ने अवस्थामा मुलुक छ । मुलुकमा समस्या छन् । तिनको समाधान भने गजबैसँग निकाल्छन् यहाँ । गृह मन्त्रालयले एउटा गजबैको विचार छरेको छ अहिले फेरि– ‘इन्टरनेटका कारण अश्लीलता बढ्यो।’

अलि दिनमा गृहले अर्को अनुपम राय पनि अघि सार्न सक्छ– ‘पानीका कारण अपराध बढ्यो ।’ इन्टरनेटका कारण जसरी समाजमा अश्लीलता बढ्छ, त्यसै गरी अपराध कर्म गर्नेले पानी खाएर बाँचेका कारण अपराध हुन्छ । इन्टरनेटले अश्लीललता बढाउँदैन, त्यसलाई प्रयोग गर्न जान्नुप¥यो । घरघरमा खुकुरी हुन्छ तर त्यसले काट्दैन।

मुलुकमा इन्टरनेट र अनियन्त्रित मदिरा बिक्री वितरणका कारण महिला हिंसा तथा बलात्कार बढेको निष्कर्ष गृह मन्त्रालयको रहेछ । इन्टरनेटले शिक्षा पनि फैलाउँछ । खोइ युरोपका धेरै देशका पवमा बियर खाएर रातभरि युवायुवती बसेको देखिन्छ अपराध बढेको पाइएको छैन । समस्या हाम्रा सोच र काम गराइमा छन्।

हुन त यो मुलुकमा न्यायाधीश, वकिल र नेता मिलेर प्रेसलाई आपराधिक कर्मका रुपमा चित्रण गर्न सक्नेहरू छन् । संसारभर लेखेका कारण देवानी मुद्दा लाग्छ । यहाँ त्यो फौजदारी भएको छ । लेखेबापत फौजदारी मुद्दा लाग्ने यो मुलुकमा प्रेसले नलेखेपछि चाँडै रामराज्य आइहाल्ला । यति हो अलि पछि सडकका खाल्डाको फोटो खिचेर अखबारमा छाप्दा समेत फौजदारी अभियोग लाग्नेछ।

तर, यही मुलुकमा सात देशका सरकार प्रमुखको जमघट भएको बिम्स्टेक सम्मेलनका बेला पाहुनालाई लैजाने एउटा सडकसमेत भएन । गोकर्ण रिसोर्टमा लैजान बौद्धको सडक बाधक भयो । स्थानीय बासिन्दा पाहुना हिँड्ने बाटो बनिहाल्लाका कि भनेर प्रतीक्षारत थिए । तर, सडक असरल्ल रह्यो । सम्मेलन स्थल सोल्टी होटलमै पाहुनाका निम्ति ‘रिट्रिट’ आयोजना गर्न सरकार बाध्य भयो । यो असफलताका निम्ति कुनै सरकारी अधिकारीले जिम्मेवारी लिनु नपर्ने?

वास्तवमा यो मुलुकमा निम्ति अपुरणीय क्षति हो । राजधानीको कोलाहलबाट थोरै मात्र बाहिर जान पाएका भए पाहुनाहरूको मनमा नेपालको भिन्न चित्र पनि जाने थियो । उपत्यकाका दरबार स्क्वायर, मन्दिर आदिको भ्रमण गराउन पाएको भए त्यसको समेत अन्तर्राष्ट्रियरूपमा बजारीकरण हुन सक्थ्यो । यो अवसरबाट हामी चुक्यौँ।

यति धेरै समस्या भए पनि हामी रमाइरहन्छौँ । हामी नेपालीको विशेषता यही हो । जात्रा चलिरहनु पर्छ ! जय होस्!!

प्रकाशित: १७ भाद्र २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App