coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमा बाढी पस्ने डरले जागा

रौतहट - गाउँमा बाढी पस्ने त्रासका कारण जिल्लाको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा गाउँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन्। बागमतीको पूर्वी तटमा रहेको यो गाउँका तीन सय घरधुरीका सदस्य बर्खायाममा बाढी पस्ने भयले अनिदो बस्ने गरेका हुन्। गाउँवासी कैयौं वर्षदेखि बाँधमै रातिको समय बिताउने गरेको स्थानीय वृद्ध भोला साहले बताए । उनका अनुसार बागमती नदीमा जलस्तर बढेपछि स्थानीय पीरमा परेका छन्।

पश्चिमबाट पूर्वतर्फ नदीको प्रवाह मोडिँदै गएको र बाँधका स्परमा पानी ठोकिँदा आउने आवाजबाट डराएर गाउँलेहरूमा चिन्ता थपिएको साहको भनाइ छ। ‘खोलामा बाढी आउँदा बाँध भत्किने, पानी घट्दा जग्गा कटान हुने समस्याबाट यहाँका बासिन्दा पीडित रहँदै आएका छन्,’ उनले भने, ‘बाँध भत्किँदा र जग्गा कटान हुँदा बडहर्वामा निकै ठूलो क्षति पु-याएको छ तर यसप्रति सरकारको उदासीनता उदेकलाग्दो छ।’

यो गाउँका बासिन्दालाई जिल्ला सदरमुकाम गौर जान डुंगाको साहारा लिनुपरेको छ। उनीहरू पूर्वी तटबाट डुंगा चढेर पश्चिमी तट पुगेर सदरमुकाम गौर पुग्ने गर्छन् । गौर पुग्नका लागि २२ किलोमिटरको अर्को घुमाउरो बाटो भारतीय भूमि भएर जान्छ । गौरबाट ७ किलोमिटर उत्तरपूर्वमा रहेको यो गाउँका बासिन्दा २० वर्षअघि बागमती नदीको कटानका कारण खोलावारि आई बसोबास गरेका थिए। तर, जग्गाजमिन भएका तथा गरिब गाउँले त्यस बेलादेखि नै खोला किनारमा बस्न बाध्य रहँदै आएका छन्। गाउँका बासिन्दालाई दैनिक उपभोगका सामग्री ल्याउन तथा सरकारी कामकाजका गौर आउन डुंगा चढेर खोलावारि आउनुपर्ने या भारतीय भूमि भएर आवागमन गर्नुपर्ने विवशता रहेको बडहर्वाकै इन्द्रजित दासले बताए।

यति बेला बागमती नदीको पूर्वी तटमा रहेको बाँध जोगाउन बनाइएका स्पर कटान भइरहँदा बाँध नै बगाउने खतरा बढेको छ । सुरक्षा तथा बचाउका लागि गाउँलेहरूले सदरमुकाम गौर आएर स्थानीय प्रशासन गुहारेका छन्। त्यसपछि सरकारी अधिकारीहरूको टोली भारतीय क्षेत्र भएर बिहीबार बडहर्वा पुगेको थियो। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नेपाल प्रहरीका एसपी केदार ढकाल, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धानका एसपी अभिनव सिंहसहितको टोलीसँग स्थानीय बासिन्दाले नदी नियन्त्रणका लागि ठोस पहल गरिदिन आग्रह गरेका छन्।

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले बर्खायाममा डुंगाको यात्रा गर्नुपर्ने बाध्यता यो गाउँको सबैभन्दा ठूलो समस्या रहेको बताए। उनका अनुसार लामो समयदेखि निर्माणाधीन पक्की पुलको पिलरमात्रै खडा भएको र अन्य संरचना निर्माण नगरी पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रक्सनले साइट अफिस नै बन्द गरेको छ । पुल निर्माण नहुँदा स्थानीय पीडित बनेका छन् । अहिले नदीमा अस्थायी स्पर बनाउनका लागि गाउँपालिकाबाटै बजेट व्यवस्थापन गरिने अध्यक्ष साहले बताए ।

बागमती नदी नियन्त्रण परियोजनाका चिफ डिभिजनल इन्जिनियर (सिडिई) राजकुमार श्रीवास्तवले वडहर्वा गाउँलाई जोगाउन हालै पाँचवटा साना स्पर निर्माण गरिए पनि पानीको बहाव बाँधसँगै रहेकाले बाँध जोगाउन बास पाइलिंगदेखि लिएर एक लाख बोराबाट अस्थायी स्पर निर्माण भइरहेको जानकारी दिए। हुलाकी सडकअन्तर्गत कछुवा गतिमा निर्माणाधीन पुलकै कारणले बागमती र बकैया नदीका अधिकांश ठाउँमा बाँध कटान भइरहेको उनले दाबी गरे।

प्रमुख जिल्ला अधिकारी रिजालले बडहर्वामा भइरहेको कटानलाई तात्कालिक रूपमा भए पनि नियन्त्रण गर्न सम्बन्धित गाउँपालिका र बागमती नदी नियन्त्रणका कर्मचारीलाई निर्देशन दिएको बताए।

प्रकाशित: १७ भाद्र २०७५ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App