coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पीडित पक्ष र अस्पतालबीच पाँच बुँदे सहमति

सर्लाही–स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको हरिवनको स्थिति सामान्य बनेको छ । मृतकका आफन्त, अस्पताल व्यवस्थापन एवं प्रहरी प्रशासनबीच पाँचबुँदे सहमति भएकाे छ।  मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालतर्फ लगिएको छ।

दिउँसो ईलाका प्रहरी कार्यालयमा मृतकका आफन्त, अस्पताल व्यवस्थापन समितिका संयोजक, ईलाका प्रशासन कार्यालयका प्रमुख, हरिवन नगरपालिकाकी उपमेयर, प्रहरी नेतृत्व सहितको छलफलमा ५ बुँदे सहमति भएको हो।

सहमतिअनुसार जिल्ला अस्पतालका डा. अविनाश कुमार सिंहको संयोजकत्वमा छानविन समिति गठन, उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने, सात दिनसम्म नमूना अस्पताल बन्द गर्ने, प्रतिवेदन पेश नहुञ्जेल उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई स्थानीय प्रहरी प्रशासनले निगरानीमा राख्ने र मृतकको कानूनी मुचुल्कासहित पोष्टमार्टम गर्नेलगायत सहमति भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

हरिवन नगरपालिका–४, पटौना निवासी अनकबहादुर थापाकी श्रीमति ३१ वर्षीय अप्सरा थापाको स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तसहितका प्रदर्शनकारीले शनिबार बिहानैदेखि प्रदर्शन गरेका थिए । उनीहरुले अस्पतालमा तोडफोड गरेका थिए भने औषधी पसलमा आगजनी गरेका थिए।

प्रदर्शनकारीले आधाघण्टा पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए। सुत्केरी व्यथा लागेपछि अप्सरालाई शुक्रबार राती ७ बजे नमूना अस्पतालमा ल्याईएको र ३ घण्टाजती राखेपछि नसकिने भन्दै रिफर गरेको आफन्तले बताएका छन् । वीरगंजतर्फ लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । बाटैमा मृत्यु भएपछि आफन्तले शव पुनः नमूना अस्पतालमै ल्याएर राखेका थिए । नसक्ने भए पहिला नै रेफर गर्नुपर्नेमा घण्टौं बिरामी राखेर अस्पतालले खेलबाड गरेको मृतकका आफन्तको आरोप छ।

 

प्रकाशित: १६ भाद्र २०७५ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App