coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आठ वर्षदेखि मधेसको 'लाईफलाईन' अलपत्र, ठेकेदारलाई कारबाहीको माग

हुलाकी राजमार्ग अन्तर्गत बलान नदीमा निर्मानाधिन पुल। तस्बिर : मिथिलेश यादव

सिरहा- सिरहा र धनुषाबीच द्रुत सम्पर्कको सेतु हो – कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होईन, मधेसकै जीवनपद्धती जोडिएको छ। २०६८ सालमा ठेक्का लागेर निर्माण सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए। तर, आज आठ वर्ष भइसक्दा पनि पुल नबन्दा उनीहरुको आशा निराशामा परिणत भएको छ। सम्झौता अनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल निर्माण पछि धकेलिँदै गएको छ। दुईपटक म्याद थपिए पनि पुल अझै पूरा हुन सकेको छैन।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको छ। तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो। तर ठेकेदारको लापर्वाहीका कारण पुल पूरा हुन अझै ५० प्रतिशत काम बाँकी रहेको इन्जिनियर मण्डल बताउँछन्।

यस्तै सप्तरीसँग सिरहाको द्रुत सम्पर्क स्थापित गर्ने बलान नदीको पुल निर्माण पनि अलपत्र छ। हुलाकी सडकखण्डको सिरहा र सप्तरी जोड्ने ४ सय ७० मिटर लम्बाइको बलान पुल ०६८ फागुन १५ गते शर्मा पप्पु जेभीले ०७२ भदौ १४ सम्म बनाइ सक्ने गरी सम्झौता गरेको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार उक्त कम्पनीले ४२ महिनामा पुल निर्माण सक्न २४ करोड ६२ लाख रुपैयाँमा ठेक्का लिएको थियो। यो पुल निर्माणमा पनि दुईपटक म्याद थप भइसकेको इन्जिनियर मण्डलले बताए। दश वर्ष अघिको डिजाइनमा निर्माण सुरु भएको पुल समयमै नसकिँदा नदीहरूले धार परिवर्तन गरेर अझ फराकिला बनेका छन्। जसले गर्दा पुल प्रयोगमा ल्याउनसमेत चुनौती थपिएको छ।

मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माण हुनुपर्ने पुलहरु वर्षौंसम्म ‘होल्ड’ हुँदा यसको प्रत्यक्ष मार यहाँको विकासमा परेको छ। धनुषाको लक्कडमा निर्माण भएको कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमला पूर्वी बाँधबीच भएर बग्ने कमला नदीमा पुल निर्माण भइरहेको छ। दुई बाँधबीच १२ सय मिटर दूरीमा ४ सय ७० मिटरको पुल बन्दै छ।

साउन २८ गत्ते नयाँ शक्ति पार्टी नेपालले सिरहामा जुलुस निकालेर कमला र बलान पुलका ठेक्केदार शर्मा पप्पु कन्सट्रकसनको ठेक्का खारेज गरी जरिवान भराउन माग गरेको छ। पार्टीका नेता रामरिझन यादवले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाएर वर्षौदेखि जनतालाई मारमा पारेर पुल निर्माण कार्य अलपत्र पारेकोले ठेक्केदार कम्पनीउपर कारबाहीको माग गरिएको छ।

सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा सिरहाको मैनाबत्ती नदीमा पुल शिलान्यास भयो। पुल बन्ने भएपछि सीमावर्ती गाउँदेखी राजमार्गको सहरसम्मका जनतामा खुसीको लहर चल्यो।

०६७ सालमा तत्कालीन भैतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको जिल्लाका आधा दर्जन पुलमध्ये करिब सबै पुलको निर्माण सम्पन्न भएपछि मैनावत्ती नदीको पुल अलपत्र छ।

‘पुलमाथिबाट नदी तर्ने सपना सजाएका बलकावाका अवधी उराउ संसार छाडेर गए,’ स्थानीय शुभनारायण सदाय उराउले सपना सम्झँदै भने, ‘बिहान बेलुका पुल निर्माणस्थल पुगेर पुलमाथिबाट नदी तरेरमात्र मर्छु भन्थे तर, उनको सपना पनि पूरा भएन।’

०७० सालसम्म पुल निर्माण कार्य सक्ने गरी सडक डिभिजन नम्बर ५ लहानसँग चार करोड सात लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको नेपाल प्रगती रायमाझी लोकबिरबेताली जेभीले काम छाडेपछि सहरसँग ग्रामीण पहुँचको योजना अलपत्र पर्यो । पुलको पिलर (वेल) निर्माण कार्य पनि अधुरै छ । रकम निकासा पाउँदै गएपछि कामको गति सुस्त हुँदै गएको सडक कार्यालयले जनाएको छ। बिस्तारै ठेकेदार काम अलपत्र छाडेर सम्पर्कबिहिन भएपछि पुल निर्माण अल्झेको कार्यालयको भनाइ छ।

सडक कार्यालयका अनुसार उक्त पुल निर्माणका लागि विभिन्न समयमा ठेकेदारले एक करोड ३० लाख रकम भुक्तानी पाइसकेको छ। पुलका लागि निर्माण गरिएका चारवटा वेलको काम पूरा भएको छैन। फलामे डन्डीमा खिया लागिसकेको छ।

ठेकेदारको मनपरीलाई समयमै सडक डिभिजन कार्यालयले नियन्त्रण गर्न सकेको भए आज यस्तो अवस्था आउने थिएन,’ बलकावाका रहमतुला हुसैन भन्छन्, ‘ठेकेदार र सडकको लापरबाहीले हामी दुःख खेप्न बाध्य छौं।’

झन्डै तीन दशकपछि मैनाबत्ती पुल शिलान्यास भई निर्माण काम सुरु भएपछि खोलामा खुट्टा चोपल्दै गाउँ छिर्नुपर्ने नियती अन्त्य हुने आशा बलकावाबासीले गरेका थिए। ‘यो पुल निर्माणले बलकावासहित छिमेकका एक दर्जन गाउँ र राजमार्गबीच सेतुको काम गर्छ,’ हुसैन भन्छन्, ‘पुरानो र ऐतिहासिक बजार भएपनि बलकावाको समृद्धिलाई मैनाबत्ती पुलले रोकेको छ।’ यहाँको उत्पादन सहरसम्म पुर्याउन मैनाबत्ती नदी तगारो रहेको उनले बताए। पुल  निर्माण सम्पन्न भए यो बाटो जिल्लाकै सबैभन्दा चल्तीको ग्रामीण सडक बन्ने बलकावाबासीको भनाइ छ। वर्षायाममा नदीमा बाढी आएर सवारी आउजाउ ठप्पै हुन्छ। कोही बिरामी भए एम्बुलेन्स ल्याउनसमेत नसकिने अवस्था हुन्छ । ‘नुनदेखि सुनसम्म किन्न बलकावा आउनेहरु अब गोलबजारममै रोकिन्छन्,’ स्थानीय कमालुदिन खाँ भन्छन्, ‘नदीले पुरानो यो बजारको रौनकता नै खोस्यो ।’ पुल बने अहिले पनि यहाँ समृद्धि र विकासका प्रचुर सम्भावना रहेको उनको भनाइ छ।

 

 

प्रकाशित: १६ भाद्र २०७५ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App