८ वैशाख २०८१ शनिबार
अन्य

गुफाडाँडा

सिन्धुपाल्चोकको गुफाडाँडामा प्रशस्तै पर्यटकीय संभावना देखिन्छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित डाँडा आकर्षक छ । त्यहाँबाट हिमाली सृङ्खला, मेलम्ची खानेपानी आयोजना, धुलिखेल, नगरकोट लगायत अवलोकन गर्न सकिन्छ।

सधैं चिसो भइराख्ने डाँडालाई गर्मी छल्ने गन्तव्यका रुपमा विकास गर्ने कि!

स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडिबुटीका हिसाबले पनि गुफाडाँडा भुःस्वर्ग मानिन्छ । तर, भौगोलिक विकटता र पूर्वाधारको कमिले डाँडा चम्कन सकेको छैन।

गर्मी छल्ने शितल गन्तव्यका रुपमा सिन्धुपाल्चोकको गुफाडाँडाको विकास गर्न सकिन्छ ।

स्थानीय निकायमा जनप्रतिनिधि आइसकेपछि भने यसलाई पर्यटनधाम बनाउने अभियान सुरु भएको छ । उनीहरुले गुरुयोजना बनाउनेदेखि पूर्वाधार निर्माणका लागि बजेट समेत छुट्टयाइसकेका छन्।

‘गुफा ज्यामिरेको सौन्दर्य हो’, वडाध्यक्ष कमलबहादुर खड्का भन्छन्, ‘भौगोलिक विकटता र विकास पनि नपुगेको अवस्थामा हराभरा र पर्यटकीयस्थल बनाउन अभियान सुरु गरेका हौं । गुरूयोजना बनाएर ८ लाख रुपैयाँ बजेट समेत छुट्टयाएका छौं।’

गुरुयोजनामा चिया बगान, पिकनिक स्पट, स्तुप, गुम्बा, धर्मढोका, भ्यु टावर, रिसोर्ट, कृषि विश्वविद्यालय र खेल मैदान निर्माण गर्ने भनिएको छ । त्यसैगरी शेर्पा, मगर, गुरुङ र तामाङ समुदायको संस्कृति झल्किने संग्रहालय स्थापना गर्ने उद्देश्य छ।

परापूर्वकालमा लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको रहेछ।

डाँडामा दुई दर्जन पटक भन्दा बढी हेलिकोप्टर अवतरण भैसकेको छ । त्यहाँ ३ वटा हेलिप्याड छन् । हेलीमा काठमाडौंबाट डाँडासम्म यात्रा गर्न जम्मा ७ मिनेट लाग्छ।

यो ठाउँ पुरातात्विक हिसाबले समेत महत्वपूर्ण छ । डाँडाको फेदमा अवस्थित केउलेठाना आधारभुत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद ओलीका अनुसार यहाँ सेता  र राता  ढुंगा भेटिएको छ । ‘धेरैले सुन खानी हुनसक्ने अनुमान गरेका छन्’, उनले भने, ‘पुरातत्व विभागबाट अनुसन्धान भैसकेको छैन।’

पर्यटक पखाईमा बसेको डाँडामा पुग्न सकस छ । कच्ची सडक, मेलम्चीबाट उकालो लाग्ने बाटोमा पानी परेपछि यातायातका साधन चल्न सक्दैनन् । डाँडामा होटल पनि छैन । मेलम्चीदेखि डाँडासम्म वर्षैभरी यातायात सञ्चालन गर्न सडक स्तरोन्नती गर्ने योजना सुनाए, वडा सदस्य जितबहादुर तामाङले।

‘बाटो स्तरोन्नती हाम्रो प्राथमिकतामा छ, उनले भने– ‘वडाले कालोपत्रे गर्नसक्ने स्थिति छैन । नगर र केन्द्रमा प्रस्ताव गर्छाैं।’

डाँडामा होटल र अन्य पूर्वाधार विकास गर्नु आवश्यक देखिन्छ । केही महिना अघि त्यहाँ  पुगेकी नायिका सुकुमाया मोक्तानले शारीरिक र मानसिक पीडा बिर्साउने ठाउँका रुपमा गुफाडाँडालाई सम्झिइन् । ‘आउँदा सकस भएपनि डाँडामा पुगेपछि स्वर्गीय आनन्द महसुस गरें’, उनले भनिन्।

त्यहाँ जो पुग्छ, ऊ रमाउँछ । डाँडामा पुगेर पर्यटन व्यवसायी कर्ण लामाले मौलिक कला संस्कृतिका माध्यमबाट पर्यटन गतिविधी बढाउन स्थानीयलाई सुझाब दिए । गुफा डाँडाको विकासले मेलम्चीको मात्र नभई सिंगो देशकै अर्थतन्त्रमा टेवा पुग्न सक्छ।

कुनै पनि ठाउँको पर्यटन विकास गर्न पहिला स्थानीय जागरुक हुनु पर्छ । गुफाडाँडामा सहज पहुँच, खाना र बास अहिलेका मुख्य समस्या हुन् । नगरपालिकासँग समन्वय गरेर यात्रामा निस्किएमा खाना र बासको सुविधा मिलाइने वडाध्यक्ष खड्काले जानकारी दिएका छन्।

दीगो पर्यटन विकासका लागि भने होटल खोल्नुको विकल्प छैन।

कसरी पुग्ने : काठमाडौं–गुफाडाँडा ४९ किमि गाडिमा । काठमाडौं–मेलम्ची ३६ किमि, मेलम्ची–गुफाडाँडा १३ किमि।  

प्रकाशित: १६ भाद्र २०७५ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App