coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दसैँ छेक सरकारले वृद्धभत्ता वृद्धि गर्न सक्ने नेकपा नेता भट्टराईको संकेत

ताप्लेजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आउँदो दसैँ छेक पारेर मन्त्री परिषद् बैठकले वृद्धभत्ता वृद्धिको निर्णय लिन सक्ने संकेत गरेका छन्।

प्रेश संगठन नेपाल ताप्लेजुङले शनिबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सरकारबाट वृद्धभत्ता वृद्धिको निर्णय भइनसकेपनि सम्भावित निर्णयको रुपमा रहेको संकेत गरे। ‘आगामी पाँचभित्र वृद्धभत्ता ५ हजार नै पुर्याउने हो’ वृद्धभत्ता वृद्धिको पूर्व घोषित अवस्थाबाट वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी बिचलित नभएको दावी गर्दै नेता भट्टराईले भने।

सरकारले बजेट मार्फत व्यवस्था गर्न नसकेपनि मन्त्री परिषद् बैठकले विशेष व्यवस्था लागू गरेर कार्यान्वयन गर्न सक्ने उनको भनाई थियो। भट्टराईले ताप्लेजुङका केही ठूला आयोजना रातो किताबमा समावेश नभएको भन्ने भनाई सही नभएको बताए। ‘रातो किताबै मै हुँ, म आफैं भन्छु यहाँका ठूला तीन आयोजनामा फेरी एक थपिएर चार आयोजनाका लागि प्रशस्त्र मात्रामा बजेट र योजना पर्छ, यो निश्चित हो’ भट्टराईले भने। उनले वर्तमान समयमा सरकारको प्रारुप नै पहिलेभन्दा अलग रहेकोले प्रदेश सरकार मार्फत सञ्चालनको अवस्थामा रहेका योजनालाई प्रदेश सरकार आफैंले संघीय सरकार मार्फत सञ्चालन हुन सिफारीस गरेकोले अब ति आयोजना सञ्चालनका लागि बजेट तथा कार्यक्रमको खाँचो केन्द्र सरकार आफैंले महसूस गर्ने उल्लेख गरे।

हिजोजस्तो वजेट प्रणाली नहुँदा केन्द्रले योजना काटेको होकी भन्ने आशंका स्वभाविक भएपनि तमोर करिडोर, उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजना र मदन भण्डारी राजमार्गको वजेट रातो किताबभन्दा माथि हुने आश्वासन दिलाए। उनले यी तीन योजना जस्तै लिम्बूनी पुलदेखि सिनाम–याम्फुदिन हुँदै कञ्चनजंघा आधार शिविर पुग्ने काबेली करिडोरको पनि परिकल्पना गरी यीनलाई पनि ताप्लेजुङका लागि महत्वको योजनामा बजेट पार्ने तयारी भइरहेको जनाए। अबको २ वर्षभित्र बहान्देबाट दोभानसम्मको बाटो कालोपत्रे हुनेमा शंका नगर्न आग्रह गर्दै नेता भट्टराईले पाथीभरा जाने सडकका लागि सरकारी योजना भन्दा बेग्लै अरु योजनाको दृष्टीकोण पनि आफूले अघि सारेको बताए।

भारतको एक्जिभ बैंकसँग २५ करोड भन्दा माथिको रकम रहनेगरी सडक निमार्णका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए। यसो हुँदापनि सरकारी तहको योजना कायमै रहने उनको भनाई थियो। यसै वर्षबाट पाथीभरा क्षेत्रका जनताका लागि ८० देखि १०० वर्षसम्मलाई पर्याप्त मात्रामा पानी पुग्नेगरी ३० करोडसम्मको योजना अघि बढ्ने तयारीमा रहेको उनको भनाई थियो। उनले सुकेटार विमानस्थलकोे स्तरवृद्धि र स्तरोन्नतीका दुबैकार्य यही वर्षबाट सुरुगर्ने योजना पनि सुनाए।

दोभान पारी चाँगे र ढुङ्गेसाँघुकोबीच भागमा अर्को विमानस्थल बनाउनेसोच तत्काल कार्यान्वयन नहुने र त्यो प्राविधिक दृष्टीकोणले पनि अनुपयुक्त रहेको प्रतिवेदन आएकोले सुकेटारलाई बाह्रैकाल चल्न सक्नेगरीको बनाउन दुबैतर्फबाट जहाज बस्ने गरी स्तरोन्नती हुने जानकारी दिए। नेकपाका केन्द्रीय नेता समेत रहेका भट्टराईले सरकार सञ्चालनको ६ महिनाको अवधि जारी रहँदा धेरै सार्वजनिक प्रश्न उठेको भएपनि यस्ता प्रश्नले आफूहरूलाई सचेत र सन्तुलित बनाउन प्रयास गरेको बताए। यो सरकार कुनै दिनगन्ती नजिक नरहेकोले अबको ५ वर्षभित्र मुलुकलाई समृद्ध बनाउने योजना बनाइरहेको उनको भनाई थियो। 

 

प्रकाशित: १६ भाद्र २०७५ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App