८ वैशाख २०८१ शनिबार
अन्य

अनपेड एम्बेसडर

ज्ञानबहादुर ठकुरी मंगलबार खुसीले फुरुङ देखिन्थे । नगरकोटमा भेटिएका उनको करिअरमा एउटा कोर्स पूरा भएको दिन थियो त्यो । टुर गाइड पेसाका लागि तयार भएका थिए उनी।

अझ, उनलाई खुसीचाहिँ ‘अनपेड एम्बेसडर’ बन्न पाएकामा लागेको थियो । टुर गाइडले देशको भाषा, कला, धर्म, संस्कृति, इतिहास, सम्पदा, राजनीतिक अवस्था जस्ता पर्यटकलाई चाख हुने सबै विषयमा बोल्नुपर्छ । देशको बारेमा बताएर देश चिनाउने भएकाले टुर गाइडलाई अनपेड एम्बेसडर उपमा दिइएको छ । बोलीचालीकै भाषामा भए पनि अनपेड एम्बेसडर बन्न पाएकामा खुसी देखिन्थे ठकुरी।

वर्षेनी नेपालमा पर्यटक संख्या बढ्दो छ । यसैले गर्दा दक्ष जनशक्ति पर्यटन क्षेत्रमा अभाव छ । सिजनका बेला टुर गाइडको झन् अभाव हुन्छ । दक्ष व्यक्तिलाई काम पाउन सजिलो छ । यसैले गर्दा टुर गाइड पेसामा आकर्षण बढ्दो छ ।

‘विदेशीलाई आफ्नो देशबारे बताउन पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘अनपेड एम्बेसडर भन्दा झनै खुसी लाग्छ ।’ उनका अनुसार गाइडले नेपालको इतिहासदेखि कला, संस्कृति, धर्म, भाषा, सम्पदा, भौगोलिक अवस्था जस्ता विषयमा जानकारी दिनुपर्छ । यसैका लागि पोख्त पार्न नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)ले वर्षेनी तालिम आयोजना गर्छ।

त्यही तालिमको अन्तिम दिन ठकुरी नगरकोट पुगेका थिए । तालिम  समापनसँगै ठकुरी मात्रै होइन, उनीसँगै तालिम लिने दुई सय ३० जनाकै अनुहारमा खुसी छल्किएको थियो । ‘अब चाहिँ पक्का टुर गाइड भइयो,’ तालिम सकेपछि हरि आङ्दम्वे भन्दै थिए, ‘विदेशीलाई नेपाल चिनाउन लागिन्छ अब।’

आङदम्बे पेसाले लेक्चरर हुन् । कलेज पढाउन छाडेर पर्यटन क्षेत्रमा लाग्न टुर गाइड तालिम लिएका । उनी मात्रै होइन, यसरी विभिन्न पेसामा आवद्ध भएर पर्यटन क्षेत्रमा प्रवेश गर्न तालिम लिनेहरु धेरै थिए । ‘टुर गाइड गर्व गर्न लायक पेसा हो,’ तालिम लिइरहका पत्रकार अनुप ओझाले भने, ‘विदेशीसँग संगत गरेर धेरै कुरा सिक्न पाइने, नेपाल चिनाएर आम्दानी गर्न पाइने।’

सामान्यतयाः टुर गाइडले दिनमा दुई हजाररूपैयाँ भन्दा बढी पारिश्रमिक पाउँछन् । त्यसबाहेक पर्यटकलाई खुसी बनाएस्वरुप टिप्स रकम समेत मिल्छ ।

नेपाल पर्यटनको सम्भावना बोकेको देश हो । सरकारले पनि समृद्ध देशको आधार पर्यटनलाई मानेको छ । बर्षेनी नेपालमा पर्यटक संख्या बढ्दो छ । यसैले गर्दा दक्ष जनशक्ति पर्यटन क्षेत्रमा अभावै छ । सिजनका बेला टुर गाइडको समेत अभाव हुन्छ । अर्कातिर टुर गाइड पेसा पार्ट टाइम पनि गर्न मिल्छ । दक्ष व्यक्तिका लागि काम पाउन पनि सहज नै छ । त्यसैले यसमा आकर्षण क्रमशः बढ्दो देखिन्छ।

टुर गाइड तालिम गराउने नाथम कलेज नेपाल सरकारको आधिकारिक संस्था हो । नाथमले वर्षको एकपटक टुर गाइड तालिम चलाउँछ । अघिल्ला वर्षहरूमा कलेजले एक सय २० जनालाई मात्रै तालिम दिन्थ्यो । कुनै वर्ष त त्यही कोटा पनि पूरा हुँदैनथियो । यसपटक भने कोटाभन्दा तीन गुणा बढीको आवेदन प¥यो । कलेजले पनि भिजिट इयर २०२० लाई लक्षित गरेर कोटा बढाएर दुई सय ३० पु-यायो।

‘तीन सयभन्दा बढीको आवेदन परेको थियो,’ नाथम कलेजका प्रिन्सिपल कृष्ण खरेलले भने, ‘सबै विद्यार्थीलाई पढाउन असमर्थ भएपछि प्रवेश परीक्षा लिएर छनोट ग-यौं ।’ उनका अनुसार अत्यधिक आवेदन परेपछि पहिलो पटक प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गर्नुपरेको हो।

टुर गाइड पढ्न जुनै विषयमा पनि स्नातक अनिवार्य छ । खरेलका अनुसार तीन महिना तालिम हुन्छ । थ्योरी कक्षा कलेजमै हुन्छ । प्राक्टिकल कक्षा भने फिल्डमै हुन्छ । यसरी तालिम गराउँदा कलेजले २५ हजार दस्तुर लिने गरेको छ । फिल्ड खर्च भने विद्यार्थीले व्यवस्था गर्नुपर्छ।

थ्योरी कक्षामा इतिहास, मानवशास्त्र, धर्म, संस्कृति, पर्यटन नीति, वास्तुकला, पुरातत्व, फोलोर एण्ड फाउन, प्राथमिक उपचार, वाइल्ड लाइफ, मूर्तिकला, भूगोललगायत विषयमा अध्ययन गराइन्छ । प्राक्टिक्लका लागि भने पयर्टकीय आर्कषण मानिने सम्पदा क्षेत्र वसन्तपुर, पाटन, भक्तपुर, चागुँनारायण, स्वयम्भू, बौद्धनाथ, पशुपति, पनौती, धुलिखेल, बुढानिलकण्ठ, शिवपुरी र नगरकोट लगिन्छ । त्यसैगरी प्राक्टिकलका लागि हप्ता दिन उपत्यका बाहिरका पर्यटकीय ठाउँमा लगेर अध्ययन गराइन्छ । उपत्यका बाहिर चितवन, लुम्बिनी, पाल्पा र पोखरामा त्यहाँका महत्वपूर्ण ठाउँ तथा वस्तुका बारेमा अध्ययन गराइन्छ।

‘टुर गाइडले धेरै विषयमा ज्ञान राख्नुपर्छ,’ खरेलले भने, ‘हामीले व्यावहारिक कुरा अध्ययन गरेर सोही अनुसार पाठ्यक्रम विकास गरेका छौं ।’ पर्यटक नेपाल आउँदा जुनै विषयमा पनि सोध्न सक्ने हुँदा सबै विषयको सामान्य जानकारी राख्ने गरी कलेजले अध्ययन गराउँदै आएको उनी बताउँछन् । कलेजले हालसम्म करिब चार हजार जनालाई टुर गाइड तालिम दिइसकेको छ।

तालिम समापनका दिन नगरकोटमा भेटिएका मिलन राईले भने, ‘तालिमपछि पर्यटक घुमाउन दक्ष भएको अनुभूत गरेका छौं ।’ उनका अनुसार तालिमअघि केही जानकारी नभए पनि तालिमपछि धेरै कुराको ज्ञान भएको छ । त्यसैलाई व्यवहारमा उतारेर पर्यटनमा करिअर विकास गर्ने धुनमा छन् उनी।  

उनी मात्रै होइन्, मछिन्द्र आर्चायले पनि जागिर छाडेर पर्यटनमा करिअर खोज्न टुर गाइड तालिम लिएका थिए । नाथमले तालिम समापनपछि परीक्षा समेत लिन्छ । परीक्षामा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड राखेको छ । परीक्षामा जुन ग्रेड प्राप्त गरे पनि विदेशीलाई खोजेको सूचना दिन सकेमा सफल हुने विश्वास तालिमे नरबहादुर तामाङ (क्षितिज)को छ।

‘टुर गाइडमा सम्भावना राम्रो छ,’ पर्यटन व्यवसायी दीपक महत भन्छन्,  ‘यो क्षेत्र भनेको कामदारलाई मालिक बनाउने क्षेत्र पनि हो ।’ तर, टुर गाइड बन्न इमान्दारीता अत्यन्तै आवश्यक हुन्छ । ‘इमान्दारिता, समयपालक, अध्ययनशील, सेवा गर्न तयार नहुने हो भने पर्यटन उद्योगमा प्रवेश नगरे हुन्छ,’ उनले भने, ‘मेहनती मान्छेका लागि भने सुनको अन्डा पार्ने कुखुरी नै हो पर्यटन उद्योग।’

सामान्यतया टुर गाइडको पारिश्रमिक दैनिक दुई हजार रूपैयाँभन्दा माथि हुन्छ । अंग्रेजी भाषाबाहेक अन्य भाषा जान्ने, धेरै पर्यटकलाई एकैपटक घुमाउन सक्ने गाइडको त्यही अनुसार पारिश्रमिक हुन्छ । साथै राम्रो काम गरेर पर्यटक खुसी बनाएमा टिप्स समेत पाउँछन् । तसर्थ, मेहनतीका लागि पर्यटनमा उज्वल भविष्य रहेको प्रिन्सिपल खरेल बताउँछन्।

नाथमले ट्रेकिङ गाइड तालिम पनि गराउँछ । वर्षको दुई पटक हुने यस्तो तालिमका लागि कम्तीमा एसइई उत्तीर्ण गरेको हुनुपर्छ।

प्रकाशित: १६ भाद्र २०७५ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App