८ वैशाख २०८१ शनिबार
अन्य

म त अझैँ तपार्इँजस्तै छु

आजभोलि तपाई
मलाई फेरियो भन्नुहुन्छ
मेरो विचार फेरियो भन्नुहुन्छ
तर होइन
हुँदै होइन
यो मिथ्या भ्रम हो
मेरो विचार फेरिएको होइन हजुर
भान्सा फेरिँदा
अलिकति अचार फेरिएको हो
काम त उस्तै गर्दै आएको छु,
दुरुस्तै हिजोजस्तै,
अस्तिजस्तै
तर, पत्रकार फेरिँदा
अलिकति समाचार फेरिएको हो ।

संघर्षको दौरानमा
कति उकालो चढियो,
कति ओरालो झरियो,
साथीहरू पनि
कति छुटे
कति मिसिए
दुःख लाग्छ
तपाईहरू
टनेलको उही पुरानो अँध्यारो छेउमा छुट्नुभो
उतै अन्धकारमै अल्झिनुभो
म यता उज्यालोतिर आइपुगेँ
यता उज्यालोतिर आएपछि
अलिकति सरोकार फेरिएको हो
धरोधर्म,
जनताकसम
अँध्यारो र उज्यालोको सरोकार मिल्दैन
र, मात्र सरोकार फेरिएको हो
मेरो विचार फेरिएको होइन ।

भनिहालेँ नि
मौसम खराब छ यतिबेला
क्षणमै घाम लाग्छ
क्षणमै पानी पर्छ
क्षणमै हुरी चल्छ
टाउको जोगाउनै प-यो
सेल्टरको खोजीमा
बारम्बार फेरिएको हो
तर विश्वास गर्नुस्
म फेरिएको होइन
मेरो विचार फेरिएको होइन
केवल
भान्सा फेरिँदा
अलिकति अचार फेरिएको हो,
ठाउँ फेरिँदा अलिकति सरोकार फेरिएको हो,
सुनेका सबै कुरा हल्ला हुन्
पत्रकार फेरिँदा
समाचार फेरिएको हो
म त उस्तै छु
हिजोजस्तै छु
अस्तिजस्तै छु
सत्य भनुँ
म त अझै तपाईजस्तै छु ।

प्रकाशित: १६ भाद्र २०७५ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App