coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आयोजककै तयारी छैन

बाँके – पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

पूर्वाधार निर्माण समयमै सम्पन्न नहुने सम्भावना बढिरहेको बेला आयोजक मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमाथि अर्को चुनौती थपिएको छ, आफ्ना खेलाडीको फितलो प्रशिक्षण । प्रतियोगिता गर्ने जिम्मेवारी पाएको दुई वर्ष बित्दा मध्य पश्चिमाञ्चलले खेलाडीको प्रशिक्षणमा चासो दिएको छैन । कमजोर तयारीकै बीच आयोजकले घरेलु भुमिमा प्रतिस्पर्धा गर्ने निश्चित देखिएको छ। 

प्रतियोगिता आउन तिन महिना बाँकी रहँदा समेत मध्य पश्चिमाञ्चलले खेलाडी छनोट तथा बन्द प्रशिक्षणका कार्यक्रम गर्न सकेको छैन । दुई वर्ष अघि आयोजना जिम्मेवारी पाएलगत्तै क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले प्रतियोगिताभन्दा एक वर्ष अघि देखी खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राख्ने बताएका थिए । तर प्रशिक्षण भने अझै सुरु हुन सकेको छैन।

आठौं वृहत राष्ट्रिय खेलकुदमा आयोजकको पदक संख्या बढाउने उद्देश्यले मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीको नेतृत्वमा तयारी तथा प्रशिक्षण समिति गठन भएको थियो । समितिमा क्षेत्रीय खेलकुद विकास समितिको तालिम तथा प्रशिक्षण विभाग प्रमूख जयन्तकुमार शर्मा, प्रशासन प्राविधिक उपनिर्देशक विक्रम थापा, क्षेत्रीय खेलकुदका कार्यालय प्रमूख विष्णु शर्मा र लेखा अधिकृत मीन जिसी सदस्य छन । तर समिति प्रशिक्षण गराउन भने उदासिन देखिएको छ । प्रशिक्षण समितिका एक सदस्यका अनुसार दुई वर्षमा समितिले दुई पटक औपचारिक रुपमा वैठक बस्नु बाहेक अन्य केहि काम गर्न सकेको छैन। 

जुन गतिमा पुर्वाधार निर्माण र प्रशिक्षण सुरु गर्छौ भनेर सोचेको थियौं, त्यो पूरा भएन । तयारीबाट हामी सन्तुष्ट छैनौं । क्षेत्रले गर्ने काम गरेको छ । मन्त्रालयले समयमै बजेट निकास नगरिदिदा सबै कुरा प्रभावित भएको हो।

नेपालगन्जका कराते खेलाडी तिरथ ठाकुर आठौं राष्ट्रिय खेलकुदमा कमजोर तयारीमा खेल्ने निश्चित भएको बताउँछन । उनले भने, ‘विगतमा २ हप्ता तयारी गरेर राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता थियो । यस पटक घरेलु मैदानमा हुँदा प्रशिक्षण राम्रो हुन्छ भन्ने सोचेका थियौं । तर प्रशासनको उदासिनताका कारण यसपाली पनि कमजोर तयारीकै भरमा हामी मैदान उत्रिनुपर्ने भएको छ।’

मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले वर्षाका कारण तयारी प्रभावित भएको बताउँदै आएको छ । तर खेलकुद नेतृत्वको कुरासँग ठाकुर सहमत छैनन । उनले थपे, ‘सबै खेलको प्रशिक्षण खुला मैदानमा हुदैन । तयारी गर्नको लागी नेपालगन्ज रंगशाला नै चाहिन्छ भन्ने होइन । नेपालगन्जमा अन्य मैदान र इन्डोर हल छन।’

नेपालगन्जले २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद पछि दोस्रो पटक राष्ट्रिय खेलकुद आयोजना गर्दैछ । पूर्वाञ्चलमा दुई वर्ष अघि भएको सातौं राष्ट्रिय खेलकुदमा मध्य पश्चिमले ९ स्वर्ण १५ रजत र ४३ कांस्य पदक जितेको थियो । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उप निर्देशक एवं एथलेटिक्स प्रशिक्ष विक्रम थापा तयारी सन्तोषजनक नभएको स्विकार्छन । ‘हामीले जुन गतिमा पूर्वाधार निर्माण र प्रशिक्षण सुरु गर्छौ भनेर सोचेका थियौं । त्यो पूरा भएन । तयारीबाट हामी सन्तुष्ट छैनौं । क्षेत्रले गर्ने काम गरेको छ । तर मन्त्रालयले समयमै बजेट निकास नगरिदिदा सबै कुरा प्रभावित भएको हो,’ उनले भने।

राष्ट्रिय खेलकुद अघि जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिता गर्नु पर्ने हुन्छ । पदक जित्ने सम्भावना भएका खेलाडीलाई क्षेत्रले छुट्टै बन्द प्रशिक्षण व्यवस्था गर्ने योजना बनाएको थियो । बजेट नआएका कारण बन्द प्रशिक्षणमा खेलाडी राख्न नसकेको थापाले बताए । आठौं राष्ट्रिय खेलकुद उद्घाटन गर्ने भनिएको नेपालगन्ज रंगशाला निर्माण पनि सुस्त गतिमा भैरहेको छ। 

जसले आठौं राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने सम्भावना बढदै गएको छ । आठाैं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २९ गते सम्म हुने तय भैसकेको छ । नेपालगन्ज रंगशाला निर्माणको लागी सरकारले २५ करोड रुपैयाँ छुटयाएको छ । त्यसमा साढे ६ करोड ट्रयाक एन्ड फिल्ड र १९ करोड रंगशाला निर्माणमा खर्च गर्ने राष्ट्रिय खेलकुद परिषद(राखेप)ले बताएको छ । वृहत राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दा प्रशिक्षण अवधिले पदक जित्ने सम्भावना निर्धारण गर्छ । कमजोर तयारीको मारमा आयोजक टिम परेको बताउँछन ठाकुर। 

 

प्रकाशित: १६ भाद्र २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App