५ वैशाख २०८१ बुधबार
राजनीति

केन्द्र सरकारले संविधान मिच्यो : जमकट्टेल

मकवानपुर - प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले संविधान मिचेको आरोप लगाएका छन्। संघीय सरकारले संविधान उल्लंघन गरिरहेको दाबी गर्दै उनले प्रदेश र संघबीच द्वन्द्व बढोस् भन्ने पक्ष सक्रियरहेको बताए।

३ नम्बर प्रदेशसभाको प्रदेश मामिला समितिले शुक्रबार हेटौंडामा आयोजना गरेको संघीयतामा प्रदेशका शान्ति, सुरक्षा र प्रदेश प्रहरी विषयक अन्तत्र्रिmयामा उनले प्रश्न गरे, ‘संविधानमा उल्लेख अधिकारसमेत केन्द्र सरकारले प्रदेशलाई अझै किन दिँदैन ?’ उनले संघीय सरकारलाई प्रदेश सरकारले दबाब भने नदिने बरु समन्वय गरेर अघि बढ्ने बताए। ‘अहिले सबैतिरबाट संघीय सरकारमाथि प्रहार भइरहेको छ,’ उनले भने, ‘त्यसैले केन्द्र सरकारसँग विवाद नगरी समन्वय गरी जाने भन्नेमा हामी छौं ।’ संघीयता कार्यान्वयनबारे आत्तिनुपर्ने अवस्था नआएको बताउँदै उनले ८ देखि १० वर्षभित्र संघीयता कार्यान्वयनलाई पूर्णता दिनुपर्ने धारणा व्यक्त गरे।

प्रदेशको प्रहरी ऐन र संरचना कस्तो बनाउने भनेर सुरक्षा निकायका प्रमुखहरुले प्रदेश सरकारलाई सुझाव दिनुपर्नेमा उनले जोड दिए। कानुन बनाइरहँदा प्रदेशका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका प्रमुखले सुझाव दिनुपर्ने उनको भनाइ थियो। ‘लोकतन्त्र छ, तपाईंहरु बोल्नुपर्छ,’ उनले भने, ‘पदमा हुँदा सबै बोल्न डराउँछन्, बोल्नुहोस्, बर्दीको असुरक्षा हुँदैन।’

प्रहरीलगायत सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गरेको भन्ने आरोप अस्वीकार गर्दै उनले कानुन बनाउँदा जिम्मेवार सुरक्षा अधिकारी नबोलेर पछि राजनीतिक हस्तक्षेप भयो भनी गुनासो नगर्न उनले आग्रह गरे। प्रदेश प्रहरी ऐनको मस्यौदा प्राप्त भएको बताउँदै उनले हतारमा कानुन बनाउने पक्षमा नरहेको स्पष्ट पारे। संघीय र प्रदेशका सरकार र प्रहरीबीच द्वन्द्व बढ्ने भएकाले धैर्य, छलफल र सुझबुझबाटै प्रदेश प्रहरी ऐन जारी गरिने उनले बताए। देश र प्रदेशले नयाँ ट्र्याक समातेको बताउँदै उनले राजनीतिक अस्थिरतालाई दोष दिएर उन्मुक्ति दिने समय अन्त्य भएको स्पष्ट पारे।

कार्यक्रममा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशमा शान्तिसुरक्षा कायम राख्दै सुधार गर्न आवश्यक भूमिका खेलिरहेको बताए। प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन चाँडै ल्याउने बताउँदै प्रदेशले अधिकार माग्ने नभई लिनुपर्नेमा जोड दिए। देश अर्ध संघीयतामा रहेको उनको भनाइ थियो।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षकद्वय केदार साउद र सुरेन्द्रबहादुर शाहले प्रदेश प्रहरी ऐन ल्याउन ढिलो भएको बताए। नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले प्रस्तुतीकरण गर्दै आन्तरिक सुरक्षाका लागि संघ र प्रदेशबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै प्रहरीमा भइरहेको राजनीतिकरण अन्त्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामी, राजेन्द्रमान श्रेष्ठ, रिना गुरुङ र केशवप्रसाद पाण्डेले देश नयाँ शासन व्यवस्थामा गइसकेकाले जनताले अनुभूत हुनेगरी शान्तिसुरक्षा कायम गर्नुपर्ने बताए। कार्यक्रममा नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरका पृतनापति सुवर्णबहादुर शाह, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी बलको ३ नम्बर बाहिनीका वरिष्ठ उपरीक्षक रामप्रकाश श्रेष्ठलगायत सहभागी थिए।

प्रकाशित: १६ भाद्र २०७५ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App