७ वैशाख २०८१ शुक्रबार
राजनीति

किन आए राहुल?

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आए। बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका मोदीलाई पछ्याउँदै पशुपतिनाथ र मानसरोवर दर्शनका लागि राहुलबाट भएको यो यात्रा संयोगमात्र होइन। भारतमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा हिन्दु धर्मको पवित्र तीर्थस्थल दर्शनक्रममा राहुलको काठमाडौं यात्रा अर्थपूर्ण छ।

भारतमा सन् २०१९ मेभित्र हुने १७ औं लोकसभा चुनावको तयारी भइरहँदा त्यहाँ धर्मको विषयले निकै महत्व पाइरहेको छ । हिन्दुवादी नेताको परिचय बनाएका प्रधानमन्त्री मोदीले सन् २०१४ मा भएको १६औं लोकसभाको चुनावमा हिन्दु धर्मावलम्बीको मतले जित हासिल गरेको विश्लेषण भारतभित्र र बाहिर भइरहेको छ। भारतीय जनता पार्टीले लोकसभाका लागि भएको चुनावमा इतिहासमै नपाएको सफलतासहित बहुमत पाएको थियो। मोदीले धर्म संस्कृति रक्षाको मुद्दालाई प्राथमिकतामा राखेका थिए। धर्म निरपेक्षको विचार बोकेको विपक्षी कंग्रेस आईलाई धर्म विरोधीका रुपमा मोदीले चित्रण गर्दै आएका छन्। यसबाट मोदीलाई फाइदा पुगिरहेको छ। राहुल भाजपाको यही अस्त्रलाई निस्तेज पार्न चाहन्छन् । राहुललाई कंग्रेस आईका तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा हेरिएको छ।

पछिल्लो समय राहुलले भारतका हिन्दु धर्मावलम्बीको भीड लाग्ने मन्दिरहरूको दर्शन गरेका छन्। जसले व्यापक प्रचार पायो। कुनै बेला सुनको चम्चामा खाएर हुर्किएका ‘युवराजु को संज्ञा दिइएपछि राहुलले त्यसको प्रतिरोध गर्ने अभिव्यक्ति नदिएका होइनन्। बाल्यकालमा चिया बेचेको र युवावस्थामा भारतका अधिकांश भूभाग घुमेका मोदीका सामु राहुलको व्यक्तित्व पुड्को भएको तर्क पनि राजनीतिक वृतमा आइरहेका छन्। तल्लो तहका जनताको भावना बुझ्न नसक्ने आरोप लागेपछि राहुल त्यसलाई असत्य साबित गर्न सामान्य नागरिकले सरह रेलमा यात्रा गर्दै भारतको दुरदराजका गाउँसम्म पुगेका थिए। तर, राहुलले चालेको रणनीति गत चुनावका लागि लाभदायक भएन। सामान्य भारतीय मतदाताले राहुललाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरिहाल्ने माहोल देखिएन। त्यसमाथि उनको हिन्दु धर्मप्रतिको आस्थामाथि विपक्षीको प्रश्नले राजनीतिक शक्तिआर्जन प्रयासमा अवरोध पु-यायो। राहुलका हजुरबुबा फिरोज गान्धी मुसलमान, हजुरआमा इन्दिरा गान्धी हिन्दु धर्मावलम्बी हुनुका साथै बाबु राजीव गान्धी हिन्दु र इटालीमा जन्मिएकी आमा सोनिया गान्धी इसाई धर्मावलम्बी हुन्। उनको पारिवारिक पृष्ठभूमिका कारण पनि विपक्षीले धार्मिक आस्थाबारे अनेकन टीकाटिप्पणी गर्दै आएका छन्। जसलाई सामान्य भारतीयसम्म स्पष्ट पार्न नसक्दा राहुललाई राजनीतिक जीवनमा घाटा परिरहेको छ। यतिसम्मकी उनले भारतीयमाझ लोकप्रीयता हासिल गर्न नसक्दा कंग्रेस आईभित्र अर्को विकल्पको विषय उठ्यो। राहुलकी बहिनी प्रियंकालाई नेतृत्वका लागि अगाडि बढाउनुपर्ने आवाजसमेत उठ्यो। विपक्षीको रणनीतिक अस्त्रको कडा जवाफ दिन नसकेको आरोप राहुलले खेपिरहेका छन्। त्यसमाथि पनि धर्मको मुद्दाबारे राहुल प्रष्ट हुन नसकेको टिप्पणीहरू आइरहेका छन्।

राहुल पछिल्लो समय धर्मविरोधी भनी लागेको आरोपलाई गलत साबित गर्न नयाँ रणनीतिका साथ प्रस्तुत भएका छन्। पशुपतिनाथ र मानसरोवर यात्राको उद्देश्यमा यही रणनीतिले समेत भूमिका खेलेको छ। हिन्दु धर्मप्रति विशेष आस्था राख्ने भारतीय हुँ भनी सन्देश प्रवाह गर्न चाहन्छन् उनी। यसमा राजनीतिक स्वार्थ पनि लुकेको छ। किनकी भारतमा धर्मले चुनावमा निकै असर पार्छ । त्यसमाथि, ७९.८ प्रतिशत हिन्दु धर्मावलम्बी रहेको भारतमा हिन्दुत्वको मुद्दाले निकै महत्व राख्छ। हिन्दुत्वको मुद्दा राहुलले अवश्य बोक्दैनन् तर, उनी हिन्दु धर्मप्रति आस्थावान भएको सन्देश प्रवाह गर्नैपर्ने बाध्यात्मक अवस्थामा छन् । मोदी मुक्तिनाथसम्म पुग्दा राहुल त्यसभन्दा माथि चढेर कैलाश मानसरोवर पुग्दैछन्। हिन्दु धर्मशास्त्रमा मानसरोवर भगवान् शिवको बासस्थान भनिएको छ। पशुपतिनाथ हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्येको हो। चीनको स्वाशासित क्षेत्र तिब्बतस्थित धार्मिक तीर्थस्थल मानसरोवर भ्रमण गरेर राहुलले हिन्दु धर्ममा आस्था राख्ने भारतीयलाई धर्मप्रति आफ्नो श्रद्धा र विश्वास रहेको सन्देश दिन खोज्दैछन्।

प्रकाशित: १६ भाद्र २०७५ ००:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App