काठमाडौं- भदौ ३० गतेदेखि लागू हुने गरी मलेसियन दूतावासले गरेको निर्णय अनुसार कामदारको राहदानी 'वन स्टप सेन्टर' नपठाउने वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। 'वन स्टप सेन्टर'का नाममा कामदारसँग ६ हजार ७ सय रुपैयाँ भिसा प्रक्रिया शुल्क उठाउने तयारी गरिएपछि उक्त निर्णय कार्यान्वयन नभएसम्म राहदानी त्यहाँ नपठाउन सबै मेनपावरलाई निर्देशन दिइएको संघका महासचिव रोहन गुरुङले बताए।
मलेसिया जाने कामदारका लगि त्यहाँको सरकारले माइग्राम्स, बायोमेटि्रक, वन स्टप सेन्टरको नाममा १५ हजार रुपैयाँभन्दा बढी उठाइरहेको व्यवसायीको गुनासो। गुरुङले नेपाल सरकारले 'वन स्टप सेन्टर' खारेज गर्नुपर्ने माग गरे। मलेसिया जाने कामदारले यसअघि राहदानी काठमाडौंस्थित मलेसियन दूतावासमा बुझाउनु पर्थ्यो भने अब 'वन स्टप सेन्टर' मा बुझाउनु पर्ने नियम लगाइएको हो। मलेसियन दूतावासमा कामदारले भिसा प्रक्रियाका लागि ३ हजार ९ सय रुपैयाँ बुझाउनु पर्थ्यो। अब सोही कामका लागि 'वन स्टप सेन्टर'लाई ६ हजार सात सय रुपैयाँ बुझाउनु पर्छ।
प्रकाशित: ३१ भाद्र २०७३ ०२:५० शुक्रबार