बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने राष्ट्र प्रमुखको सवारीले बिहीबार उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भयो। फरक–फरक समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका राष्ट्र प्रमुखको सवारीले बिहीबार बिहानदेखि बेलुकासम्म नै उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भिभिआइपीको सवारीभन्दा एक घण्टाअगावै सडक खाली गराउँदा सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रा गरेका यात्रुले सकस बेहोरेका थिए। सरकारले बिमस्टेक सम्मेलनलाई लक्षित गरेर बिहीबार जोर नम्बर प्लेटका सवारी साधन मात्रै सञ्चालनमा ल्याउँदा यात्रु घण्टौ हिँडेरै गन्तव्यमा गइरहेका देखिन्थे।
‘चाबहिलदेखि रत्नपार्क आउन ठयाक्कै चार घण्टा लाग्यो,’ जोरपाटी–रत्नपार्क रुटमा माइक्रोबस चालक श्याम कार्कीले भने, ‘भिभिआइपी सवारीले साह्रै हैरान पा-यो।’
सरकारले बिमस्टेक सम्मेलनलाई लक्षित गरेर बिहीबार जोर नम्बर प्लेटका सवारी साधन मात्रै सञ्चालनमा ल्याउँदा यात्रु घण्टौ हिँडेरै गन्तव्यमा गइरहेका देखिन्थे।
उनका अनुसार भिभिआइपी सवारीका कारण लामो समय सवारी साधन रोकिँदा रोजीरोटीमा नै समस्या परेको छ । भिभिआइपी सवारीको कारणले बिहीबार आफ्नो गन्तव्यमा जाने यात्रु घण्टौ समय पर्खिएर बसेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ८ बजे आएका थिए । मोदी आउनु डेढ घण्टाअघि सडक खाली गरिएको थियो । बंगलादेशका प्रधानमन्त्री शेख हसिना साढे ९ बजेर ३४ मिनेटमा त्रिभुवन विमानस्थल ओर्लिएकी थिइन् । त्यस्तै गरी थाइल्याण्डका प्रधानमन्त्री १० बजेर ३७ मिनेटमा विमानस्थलमा ओर्लिएका थिए।
महानगरीय ट्राफिक महाशाखाका अनुसार विशिष्ट पाहुनाको आवातजावत हुने सोल्टी होटेल, सोल्टी मोड, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महाँकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, ग्याङजोङ होटल, पानिपोखरी, शितल निवास हुँदै चल्ने सवारी साधनहरू दुईतर्फी रूपमै प्रभावित हुनेछन् । महाशाखाले वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ । बिहानको समयमा एयरपोर्ट, सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतिघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टी मोड, सोल्टी होटेल हुँदै चल्ने सवारी साधनहरू दुईतर्फी रुपमै प्रभावित भएका थिए।
‘विदेशी पाहुँना आउँदा उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल देखियो,’ विनित पौडेलले भने, ‘विदेशी राष्ट्र प्रमुखको सवारीलाई व्यवस्थित नगराउँदा सर्वसाधारणले सास्ती भोगिरहेका छन्।’
‘विदेशी पाहुँना आउँदा उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल देखियो, विदेशी राष्ट्र प्रमुखको सवारीलाई व्यवस्थित नगराउँदा सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।’
भिभिआइपीको सवारीले विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडक प्रभावित पारेको थियो । उक्त क्षेत्रमा गुड्ने सडकसँग लिंक भएका अन्य सडकमा समेत भिभिआइपी सवारीले असर पारेको थियो । भिभिआइपी सवारीकै कारणले उपत्यकामा सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले निकै सास्ती भोगेको तीनकुनेकी शर्मिला शर्माले बताइन्।
‘भक्तपुर जानलाई बस कुरेको एक घण्टा भइसक्यो । अझै पाएकी छैन,’ उनले भनिन्, ‘अफिसबाट कतिबेला आउने भनेर तारन्तार फोन आइसक्यो । तर, यहाँ बस पाइएको छैन ।’ उनले विदेशी राष्ट्र प्रमुख आउँदा सडक नै खाली गर्नुपर्ने परम्पराको अन्त्य गर्नुपर्ने सुझाव दिइन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेश दाहाल विशिष्ट व्यक्तिको राजकीय तथा औपचारिक सवारीका बेला सडक खाली गर्नुपर्ने नियम रहेको बताउँछन् । सुरक्षा समितिको निर्णयअनुसार नै सडक खाली गरिन्छ । उनले भने, ‘भिभिआइपीको सवारी हुँदा सुरक्षा संवेदनशीलता अपनाउनुपर्ने भएकाले बाटो खाली गर्नुपर्ने हुन्छ ।’ उनले भिभिआइपी सवारीका बेला सकेसम्म जाम कम गर्नेमा ध्यान दिएको पनि बताए।
‘ट्राफिक प्रहरीले जतिसक्दो छिटो सवारी गराएर जाम कम गर्नेमा केन्द्रित छ,’ उनले भने, ‘विमानस्थलदेखि सम्मेलनस्थल सोल्टी होटेलसम्म सवारी हुँदा कम्तिमा २० देखि ३० मिनेट लाग्ने गर्छ । भिभिआइपीको सवारी सकिने बित्तिकै सर्वसाधारणको लागि सडक खुला गर्ने गरेका छौं।’
प्रकाशित: १५ भाद्र २०७५ ०२:०२ शुक्रबार