६ वैशाख २०८१ बिहीबार
समाज

बेपत्ता भनिएका १२ जना घर फर्के

काठमाडौं - सशस्त्र द्वन्द्वका क्रममा बेपत्ताको सूचीमा नाम लेखिएका १२ जना घर फर्केका छन्। द्वन्द्वका क्रममा विभिन्न कारणले घर छोडी बेपत्ताको सूचीमा रहेका ९ जिल्लाका १२ जना परिवारको सम्पर्कमा आएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतका विभिन्न संघसंस्थामा उनीहरू बेपत्ता भएको उजुरी निवेदन परेको थियो। आयोगले उजुरीहरूको छानबिन गर्ने क्रममा १२ जना परिवारकै सम्पर्कमा रहेको भेटिएको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बताए।

परिवारले बेपत्ता भएका भनिएका नुवाकोटका लछुमनप्रसाद भट्ट र सन्तकुमारी तामाङ, कन्चनपुरका कृष्णप्रसाद दुलाल, धनबहादुर दाहाल, देवेन्द्रसिंह कुँवर घर फर्केका छन् । त्यसैगरी महोत्तरीका गंगा मण्डल, बर्दियाका धनबहादुर खड्का, चितवनका गंगाधर तिमल्सिना, ओखलढुंगाका गोपी भट्टराई, इलामका कुमार विश्वकर्मा, झापाका सोमनाथ खनाल, धनुषाका हरिदेव कुसियैत परिवारको सम्पर्कमा आएको आयोगका अध्यक्ष मल्लिकले बताए।

कतिपयले राहत लिन राज्यलाई ठगेर बेपत्ताको सूचीमा नाम लेखाएको भेटिएको हो। ‘हामी फिल्डमा जाँदा छरछिमेकले समेत भनेका कारण थाहा पाएका हौं,’ आयोगका अध्यक्ष मल्लिकले भने, ‘उनीहरूका परिवारले बेपत्ता भएकोमा सुविधा लिइसकेका छन् । भेटिएमध्येका परिवारले ५ लाख, कतिले १० लाख रुपैयाँ राहत बुझिसकेका छन्। दिएको पैसा फिर्ता लिने नलिने सरकारको काम हो । हाम्रो काम बेपत्ता भएकाको अवस्था पत्ता लगाउने हो,’ अध्यक्ष मल्लिकले भने।

बुझेको राहत फिर्ता दिनुपर्छ भन्ने डरले समेत अन्य घर सम्पर्कमा रहेका व्यक्तिको नाम दिन डराएको उनले बताए। अनुसन्धानको क्रममा कतिपयले राहत लिने नाममा ढाँटेर बेपत्ता भएको निवेदन दिएको भेटिने क्रममा रहेको उनले बताए । यदि सरकारले चाहेमा ठगीमा कारबाही गर्न सक्छ । अझै अनुसन्धानको क्रममा छन् । अरु पनि सम्भावना छ । द्वन्द्वका समयमा भारतमा गएर बसेपछि घर फर्के तर, परिवारले बेपत्ताको नाममा पैसा बुझेको समेत भेटिएको छ। अनुसन्धानमा पत्ता लाग्ने भएकाले आफूहरू लागिपरेको उनले बताए।

राज्यबाट राहत लिइसकेकाले फिर्ता गर्नुपर्ने हो कि भन्ने डरमा कतिपय भेटिएकाले सत्य भन्न डराएको छन् । २०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ सम्मको अवधिमा घरबाट हराएकाहरुको आयोगमा ३ हजार १९७ थान उजुरी निवेदन परेका थिए । आयोगले प्रारम्भिक छानबिन सकेर विस्तृत छानबिनमा लागेको बताएको छ । दोहोरो निवेदन परेका ११९, मापदण्डभित्र नपरेका कारण तामेलीमा राखिएका २८७, आयोगको क्षेत्राधिकार बाहिर पर्ने ४१४ उजुरी र १३७ थान निवेदन निवेदकले नै फिर्ता गरेका छन्।

आयोगका अनुसार विस्तृत छानबिनको प्रक्रियामा २ हजार ३६९ निवेदन उजुरी छन्। त्यसमध्ये १२ जना अनुसन्धानको क्रममा भेटिएका हुन्। आयोगले खोजी गर्ने क्रममा काठमाडौंमै ड्राइभिङ पेशामा रहेको समेत आफैले आयोगमै पुगेर जानकारी गराएका थिए। द्वन्द्वका क्रममा बलपूर्वक व्यक्ति बेपत्ता पारिएको थियो। बेपत्ता पारिएका व्यक्तिहरुको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन आयोगको गठन गरिएको थियो।

प्रकाशित: १५ भाद्र २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App