coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सामाजिक विकास र समृद्धि यात्रामा सँगै बढौं

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनले सहभागी राष्ट्रहरूबीच आपसी सहयोग बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छिन्। बिहीबारबाट सुरु भएको चौथो बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएका सरकार तथा राष्ट्र प्रमुखलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको दिवाभोजमा राष्ट्रपति भण्डारीले सहभागी राष्ट्रबीच सम्बन्ध अझ सुमधुर बनाउन बल पुग्ने विश्वास व्यक्त गरेकी हुन्।

सम्मेलनका लागि आएका सातै देशका सरकार तथा राष्ट्रप्रमुखसँगको संयुक्त भेटमा राष्ट्रपति भण्डारीले भनिन्, ‘शिखर सम्मेलनले बिमस्टेक राष्ट्रहरूबीचको मित्रता, एकता, साझेदारी र आपसी सहयोगलाई थप मजबुत बनाउनेछ।’

शान्त, समृद्ध र दिगो बंगालको खाडी क्षेत्रतर्फको अवधारणाका साथ सम्पन्न हुन गइरहेको शिखर सम्मेलनले यस क्षेत्रलाई थप शान्तिपूर्ण, समृद्ध र दिगो बनाउन ठोस र ऐतिहासिक कदम चाल्ने उनको विश्वास छ। ‘बिम्स्टेकलाई अझ प्रभावकारी, गतिशील र परिणाममुखी बनाउन पनि यो शिखर सम्मेलन कोसे ढुंगा सावित हुनेछ,’ राष्ट्रपतिले भनिन्।

‘जसरी संसारकै उच्च हिमशिखर सगरमाथाको पानी बग्दैबग्दै संसारको सबैभन्दा ठूलो बंगालको खाडीसम्म पुग्छ, त्यसैगरी नेपालमा जन्मेका गौतम बुद्धको शान्ति र अहिंसाको दर्शन दक्षिण एसिया, दक्षिण–पूर्वी एसियाका म्यानमार, थाइल्यान्ड हुँदै अन्य एसियाली मुलुकसम्म फैलिएको छ।

बंगालको खाडी केवल भौगोलिक एकाइ मात्रै नभएर ऐतिहासिक, सामाजिक र सांस्कृतिक पहिचान र सभ्यताको एउटा मुहान भएको राष्ट्रपतिले उल्लेख गरिन्। ‘जसरी संसारकै उच्च हिमशिखर सगरमाथाको पानी बग्दैबग्दै संसारको सबैभन्दा ठूलो बंगालको खाडीसम्म पुग्छ, त्यसैगरी नेपालमा जन्मेका गौतम बुद्धको शान्ति र अहिंसाको दर्शन दक्षिण एसिया, दक्षिण–पूर्वी एसियाका म्यानमार, थाइल्यान्ड हुँदै अन्य एसियाली मुलुकसम्म फैलिएको छ,’ राष्ट्रपतिले सहभागी सरकार तथा राष्ट्रप्रमुखलाई सम्बोधनको क्रममा भनिन्।

बौद्ध दर्शन यस क्षेत्रको साझा सम्पदा भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘जसले हामी सबै सदस्य–राष्ट्रलाई गहनरूपमा आबद्ध गरेको छ । हाम्रा जनताबीचको सम्बन्ध पनि सदियौं पुरानो छ र यो आजपर्यन्त निकै घनिष्ठ र जीवन्त छ।’

बिम्स्टेक सदस्य राष्ट्रहरूले व्यापार, लगानी, ऊर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । ‘यस क्षेत्रलाई स्थल, हवाई, जल यातायातका साथै सूचना–प्रविधिको माध्यमबाट आपसमा घनीभूत रूपमा जोड्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘यस्तो घनीभूत सम्पर्कले जनतालाई भौगोलिकरूपमा मात्रै होइन भावनात्मकरूपमा पनि नजिक ल्याउन र सामाजिक विकास र समृद्धिको यात्रामा सँगसँगै अगाडि बढ्न सहयोग गर्नेछ।’

बिमस्टेक अपार प्राकृतिक सम्पदा र अनुपम मानवीय क्षमताले भरिपूर्ण एक उच्च सम्भावनायुक्त क्षेत्रको जनाउँदै राष्ट्रपतिले भनिन्, ‘अभूतपूर्व सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रका करोडौं जनता अझैसम्म गरिबी र पछौटेपनबाट पीडित छन्।’

भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्न आवश्यक रहेको सुनाउँदै उनले जलवायु परिवर्तनका असर साझा चुनौतिकारुपमा आइरहेको सुनाइन्। ‘जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र आउने पुस्तालाई सुरक्षित र हरियालीयुक्त पृथ्वी हस्तान्तरण गर्न यस क्षेत्रमा थुप्रै काम गर्नुपर्नेछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘इतिहासले संकेत गरेका भू–राजनीतिक बिभाजनलाई छिचोलेर प्रगतिको साझा बाटो पहिल्याउनुपर्नेछ।’

महिलाविरुद्ध हुने विभेद र हिंसा निराकरण गरी महिला अधिकार थप सुनिश्चित गर्नुपर्ने औल्याउँदै भनिन्, ‘हामीसँगै भएको बृहत् सम्भावनालाई सदुपयोग गरी आमजनताको जीवनमा गुणात्मक, स्पष्ट देखिने र प्रत्यक्ष अनुभूत हुने अग्रगतितर्फ केन्द्रित गर्नुपर्छ।’

राष्ट्रपति भण्डारीले पूर्वाधारको विकास, औद्योगीकरण र रोजगारी सिर्जनामार्फत सामूहिक तथा आम समृद्धि हासिल गर्नेतर्फ परिलक्षित हुनुपर्ने जनाएकीछिन्।

संविधानसभाबाट झन्डै तीन वर्षअघि निर्माण भएको नयाँ लोकतान्त्रिक संविधान लागू भएसँगै नेपालले प्रगतिको बाटो खोजिरहेको उल्लेख गरिन्। ‘यो संविधानले विविधतायुक्त नेपाली समाजलाई समावेशितामार्फत एकतातर्फ परिलक्षित गरेको छ,’ राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा भनिन्, ‘यो क्षेत्रकै नयाँ हाम्रो संविधानले लोकतन्त्र, बहुलता, सामाजिक न्याय एवम समानतालाई सुनिश्चित गर्दै आर्थिक उन्नतितर्फ हामीलाई प्रेरित गरेको छ।’

अपहन सम्मेलन सुरु हुनुअघि राष्ट्रपति भण्डारीले भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुखलाई शीतल निवासमा दिवाभोज दिइकी थिइन्। उक्त दिवाभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित सदस्य राष्ट्रका विदेश तथा परराष्ट्रमन्त्री पनि सहभागी थिए। नेपालसहित सात राष्ट्र सदस्य रहेको बिम्स्टेकको चौथो सम्मेलन शुक्रबार काठमाडौं घोषणापत्र जारी गर्दै सकिने छ।

प्रकाशित: १५ भाद्र २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App