coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदीय समितिमा कांग्रेसले तोक्यो संयोजक

काठमाडौं– नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा रहेका समितिको काम प्रभावकारी बनाउन पार्टीका तर्फबाट संयोजक चयन गरेको छ।

संसदीय दल कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले १२ वटा विषयगत समितिलाई  सक्रिय बनाई संसद र समितिमा थप भूमिका खेल्ने निर्णयसमेत गरेको छ । कांग्रेसले समितिहरूमा आफ्नोतर्फबाट सदस्य रहेकामध्येबाट एकजनालाई संयोजक तोकेको हो । उसले विधायन समितिमा तारिणीदत्त चटौत, अर्थमा मोक्ष बराल, अन्तर्राष्ट्रिय तथा श्रममा बलबहादुर केसी, उद्योग तथा वाणिज्यमा अम्बिका बस्नेत, सामाजिक न्यायमा मोहम्मद अहमद, विकासमा जीवनबहादुर शाही र कृषि तथा जलस्रोतमा सन्दीप शिवाकोटीलाई तोकेको छ । त्यस्तै महिला तथा बालबालिकामा जीवन परियार, राज्यव्यवस्थामा नवीन्द्रराज जोशी, वातावरण संरक्षणमा मानबहादुर विक, सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी र सार्वजनिक लेखा समितिमा भरत साहलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने र बैंकमार्फत दिइने कर्जा सहजरूपमा लिनसक्ने वातावरण निर्माण गर्नुपर्ने ठहर गरेको छ । त्यस्तै भोकमरी भोगिरहेको कर्णाली क्षेत्र र बाढीपीडितलाई उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए ।
सरकारले भूकम्पपीडितको तथ्यांक संकलन पक्षपातपूर्ण तरिकाले गरेको आरोप पनि उनले लगाए । ‘पीडित भएर बसेका नागरिकको नाम छुटाइएको छ,’ श्रेष्ठले भने, ‘तर पीडित नै नभएकाको नाम समावेश भएको छ, त्यसको सुधार हुनुपर्छ ।’ बैंकमार्फत भूकम्पपीडितलाई पैसा दिने काम सकारात्मक भए पनि पटक–पटक गरी दिइनु सास्ती हुने उनले बताए । ‘अधिकांश प्रभावित जिल्ला दुरदराजमा छन्,’ उनले भने, ‘एक दिन लगाएर बैंकसम्म आइपुग्नुपर्ने जिल्लाका प्रभावितलाई यो व्यवस्थाले सास्ती मात्र दिन्छ ।’

 

प्रकाशित: १० असार २०७३ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App