८ वैशाख २०८१ शनिबार
समाज

सात वर्षमा ३५ प्रतिशत काम

तस्बिर : गिरिराज बाँस्कोटा/नागरिक

पाँचथर – पाँचथर र तेह्रथुमलाई जोड्ने गरी तमोरको लुमुघाटमा मोटरेबल पुल बनाउन ठेक्का लागेको ७ वर्ष पुग्दापनि काम सकिएको छैन्। निर्माण कम्पनीले लामो समयदेखि पुलको काम राम्रोसँग नसक्दा स्थानीयले हिँडेरै वारीपारी गर्नुपर्ने बाध्यता रहेको छ। 

दुबैतीर सडक भएपनि तमोर नदीमा बन्नुपर्ने पुल नबन्दा समस्या भएको छ।  पाँचथरको कुम्मायक गाँउपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने पुलको काम नभएको भन्दै स्थानीयले लामो समयदेखि असन्तुष्टि व्यक्त गरिरहेका छन्। सदरमुकाम फिदिम तथा अन्य गाउँबाट म्यालुङ जाने छिटोबाटो रुपमा यो सडक पर्दछ। दुवै तीर सडक भएपनि पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सेकेका छैनन्। पारिवारीक साइनो, व्यापार व्यवसाय तथा अन्य कामका कारणले यो बाटो भएर दैनिक यात्रा गर्नेको संख्या ठुलो रहेको छ। यात्रा गर्नुपर्ने झोलुङ्गेपुल पनि जीर्ण बन्दा सामान ओसार प्रसार गर्नका लागि समेत समस्या छ। 

आर्थिक वर्ष २०६८–०६९ मा ठेक्का लागेपनि ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाले काम नगर्दा पुल बनेको छैन्। यो पुल निर्माणको काम सडक डिभिजन कार्यालय धनकुटाले हेर्छ। कार्यालयका सूचना अधिकृत अनुप साउदेनका अनुसार हालसम्म ३५ प्रतिशतमात्र काम सकिएको छ। काममा ढिलाई भएको साउदेन स्वीर्काछन्। ठेकेदार कम्पनीले थपेको म्याद समेत २०७३ चैतमा सकिसकेको छ। ठेकेदार कम्पनीको लापरबाहीले स्थानीय ठूलो सास्ती व्यहोर्न बाध्य छन्। 

मुख्य ठेकेदार नआउने र किन काम भएन भनेर सोध्ने कोही नभएका कारण पुल निर्माणमा ढिला भएको स्थानीयको गुनासो छ। ‘दुबैतीर बाटो छ तर हिँडेर वारीपारी गर्नुपर्छ, बोकेर समान ल्याउनु पर्छ। ठेकेदारले काम गर्दैन। नेता, कर्मचारीलाई देखायो पहल गर्छाँै भन्छन्। काम खासै अघि बढ्दैन। अवत आजित भयौँ,’ स्थानीय याम बुढाथोकिले भने, ‘अबत कुरा गर्नपनि मन लाग्दैन। अस्ति केही काम गरेजस्तो गरे। खाँदा, बस्ताको तथा कामदारलाई दिनुपर्ने पैसा ठेकेदारले तिर्नै बाँकि छ।’ कोसी करिडोरको सडक समेत बनिहरेकाले यो पुलको महत्व बढ्दै गएको छ। 

बनेको संरचना पनि गुणस्तर नभएको स्थानीयको भनाई छ। २०७२ असार २६ गतेभित्र सक्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो। निर्धारीत समयमा काम नसकेर २०७३ चैतसम्मलाई थपिएको म्यादमा पनि  ठेकेदार कम्पनीले खासै काम गरेको देखिदैन। 

पछिल्लो हिउँदम केही महिना काम गरेकाले ३५ प्रतिशत पुगेको हो। समयमा काम नगर्ने ठेकेदारलाई कारबाही हुनपर्ने स्थानीयको माग छ। लामो समयदेखि पुल बनाउन स्थानीय तहबाट दवाव सृजना भएपनि निर्माण कम्पनी र सम्बन्धित कार्यालय कानमा तेल लगाएर बसेको स्थानीय बिरबहादुर निरौलाको भनाई छ। 

पुललाई समयमा सम्पन्न गर्न ठेकेदार कम्पनी र सरकारी तवरबाट राम्रो प्रयास भएको छैन्। १३ करोडमा पुलको ठेक्का लागेको थियो। ६ मिटर चौडाई भएको १ सय ५७ मिटर लामो पुलको काममा ढिलाई भएको हो। ट्रस्ट र आरसीसी सहितको पुलमा ६ वटा पिलर बनाउनुपर्ने स्टिमेट छ। 

प्रकाशित: १४ भाद्र २०७५ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App