coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

जीवित देवी कुमारी

नेपाल हिन्दु र बौद्ध धर्मको अनौठो संगमस्थल हो। भगवान विष्णुको अवतारका रूपमा बुद्धलाई लिइएको छ। त्यस्तै प्रकारले देवी तुलजा भवानीलाई बौद्ध रीतिअनुसार कुमारीका रूपमा प्रतिष्ठित गरिएको छ। यहाँको मन्दिर र बौद्ध बिहार हिन्दु एवम् बौद्ध दुवै सम्प्रदायका मानिसका लागि समानरूपमा पुज्य छ। दुवै धर्मावलम्बीका लागि समानरूपमा भक्ति एवम् आस्थाको केन्द्र बनेको छ।  जीवित कुमारी बौद्धहरुका लागि वज्रादेवी हो भने हिन्दुका लागि भवानी।  दुवैरूपमा शक्ति एवम् समृद्धिकी देवी। बौद्ध एवम् हिन्दु धर्मका अनुयायी समानरूपले यी जीवित देवीको श्रद्धा गर्छन्।  

मल्लकालदेखि शाहवंशीय राजाहरुबाट पनि कुमारीको स–सम्मान पूजा उपासना हुनु र राजकीय सम्मानका साथ देवीको जात्रा परम्परा अक्षुण्ण राखिनुलाई देशको मौलिक संस्कृतिको द्योतकका रूपमा मान्न सकिन्छ। राज्यस्तरदेखि जनस्तरसम्म राजा/प्रजा सबैले उत्तिकै भक्तिभाव दर्शाई पूजा उपासनाका साथ बर्सेनि कुमारी जात्रा र राष्ट्रिय महान चाड दशैंको उपलक्ष्यमा देवी कुमारीका हातबाट टीका प्रसाद ग्रहण गर्ने हाम्रो देशको जुन गरिमामय राजकीय परम्परा छ, त्यो विश्वमै एउटा दुर्लभ परम्परा हो। यसबाहेक कुमारीको सांस्कृतिक परम्परा बौद्ध एवं हिन्दु धर्मको मिलन विन्दुका रूपमा पनि छ। यसले नेपालको जातीय सहिष्णुताका रूपमा पनि काम गरिरहेको छ। यस कारण धार्मिक सहिष्णुता र सांस्कृतिक एकतामा विश्वास राख्ने हामी नेपालीका लागि जीवित देवी कुमारीको प्रतिष्ठा धेरै अर्थपूर्ण छ।

नेपालको इतिहासमा इन्द्रजात्रा महोत्सवकै बेलामा, कुमारी रथजात्राकै दिनमा ने.स. ८८८ (तद्नुसार वि.स.१८२५) मा गोरखा नरेश श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहले काठमाडौंभित्र प्रवेश गरी विजय प्राप्त गरेर आधुनिक विशाल नेपालको आधारशीला सुरु गरेको हुनाले इन्द्रजात्राको ऐतिहासिक महत्व अझ बढी छ। काठमाडौं राज्यलाई अधिनस्थ गरेकै दिन, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले कुमारीका हातबाट टीका थापे र प्रसाद ग्रहण गरे। श्री ५ पृथ्वीनारायण शाहले इन्द्रजात्राको परम्परालाई नेपाली संस्कृतिको मूल प्रवाह ठाने। सांस्कृतिक परम्परा र एकताको पृष्ठभूमिमा त्यसबेला टुक्रिरहेको नेपाल एकताबद्ध भयो। नेपाली जाति चार वर्ण छत्तीस जातको फूलबारी बन्यो।  कुमारी जात्रामा सम्पूर्ण उपत्यकाबासी उत्साहपूर्वक सहभागी हुन्छन् भने शिवमार्गी नेवार र बुद्धमार्गी नेवारको यस कार्यक्रममा उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। दुवै वर्गका उच्च जाति पूजाआजामा सम्मिलित हुन्छन् भने तल्लो जातद्वारा रथ तान्ने कार्य हुन्छ। विभिन्न जातिलाई विभिन्न कार्यमा विभाजन गरी एकजुट रही यो कार्य सम्पन्न गरिन्छ। बुद्धमार्गी नेवारको बालिकालाई देवीका रूपमा स्थापना गरी शिवमार्गी नेवारद्वारा पनि उत्तिकै दायित्व पूरा गर्न सहभागी हुनुले नेवारी समुदायमा जातीय एकताको शुद्धताको आभास पाइन्छ। जयप्रकाशले कुमारीको विशेष पूजा, रथ यात्रा र छुट्टै घर बनाएकाले उनको राज्यकाल १२ वर्ष लम्बिएको विश्वास गरिन्छ।

नेपाली संस्कृतिमा जीवित देवीका रूपमा जति मान सम्मान वसन्तपुरस्थित राजकुमारीले प्राप्त गरेको छ जबकि त्यति उच्च सम्मान भक्तपुर र पाटन कुमारीहरुको छैन। यसको पछाडि ऐतिहासिक कारण छ। जब पृथ्वीनारायण शाहले उपत्यका विजय गरेर काठमाडौ पसे, त्यतिबेला उनले कुमारी जात्राको दिन वसन्तपुर देवीबाट प्रसाद ग्रहण गरेका थिए। आफू प्रवेश गरेका दिन यस्तो उत्सव भएको कारण कुमारी जात्रालाई सधैँ सञ्चालन गरिरहने घोषणा पृथ्वीनारायण शाहले गरेका थिए। शाहवंशीय राजाहरुको कुमारीप्रतिको आस्था, विश्वास र सम्मान रहनुको पछाडि यो कारण पनि छ। यो घटनादेखि प्रत्येक वर्ष कुमारी जात्राको दिन वसन्तपुर गद्धी बैठकमा आई राजाले कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गरी आशीर्वाद लिने चलन रहिआएको थियो भने हाल राष्ट्र प्रमुख तथा उच्च सरकारी तह तथा राजनीतिक व्यक्तित्वहरुद्वारा पनि यसरी नै मान्ने भएकाले नेपाली देवीमध्ये बढी महत्व प्राप्त गर्ने सौभाग्य काठमाडौकी कुमारीले प्राप्त गरिन्। राज्यद्वारा पुजिने भएको हुनाले पनि वसन्तपुरकी कुमारीलाई 'राजकुमारी' को संज्ञा दिइएको हो।

प्रकाशित: ३१ भाद्र २०७३ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App