coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्बन्ध बिच्छेद माग्नेमा पुरुष बढी

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका १ का युवराज कुवँरले २०७० मसिंर १९ गते परिवारको सहमतिमा लिला कुवँरसँग धुमधामका साथ मागी विवाह गरे। 

विवाहा गरेको केही समयपछि वैदेशिक रोजगारीका लागि कुवँर मलेसिया पुगे। ठूलो महल बनाउने, परिवालाई सुखसँग राख्ने मिठो सपनाका साथ मलेसियाको पुगेको केही समयसम्म श्रीमतिसगँ फोनमा राम्रै कुराकानी हुन्थ्यो। राम्रै कमाई गर्ने बताउने उनले श्रीमतिलाई पैसा समेत पठाउँदै आएका थिए। परिवारको खुसीका लागि श्रम बेच्न मलेसिया पुगेको १ वर्षमै कुवँरको सबै सपना चकनाचुर भयो।

केही समयपछि श्रीमान श्रीमतिबीच फोनमै खटपटी चल्यो। फोनमा सामान्य झगडाकाबीच श्रीमति माइत गइन। कुवँर २ वर्षपछि घर आए। घरमा आएर श्रीमति लिन ससुराल पुगे तर श्रीमति नआएपछि उनी रित्तै हात घर फर्के। श्रीमान श्रीमतिसँगै बस्न उनले धेरै प्रयास गरे तर उनको प्रयास सफल भएन अन्तत उनीहरूको सम्बन्ध बिच्छेद वाहेक कुनै उपाय भएन। कुवँरले भदौ, १२ गते जिल्ला अदालतमा श्रीमतिसगँ सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका छन्। कुवँर त एक उदाहरण पात्र मात्रै हुन।

नयाँ मुलुकी संहिता लागू भएसँगै गुल्मीमा सम्बन्ध विच्छेद माग्नेमा महिलाभन्दा पुरुष धेरै रहेका छन्। नयाँ मुलुकी संहिता लागु भएको २ साता मै गुल्मीमा महिलाभन्दा धेरै पुरुषले सम्बन्ध बिच्छेद मागेका छन्। जिल्ला अदालत गुल्मीको तथ्याङ्क अनुसार २ सातामा १९ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको कार्यालयकी नायब सुब्बा सीता घिमिरेले बताइन्। १९ सम्बन्ध बिच्छेदका मुद्धा दर्तामध्ये ११ जना पुरुषले मागेका छन भने ८ जना महिलाले मागेको जिल्ला अदालत गुल्मीले जनाएको छ। नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने थाहा पाएपछि अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्धा दर्ता गरेका छन्।

ऐन लागु भएपछि ७ भदौमा पहिलो पटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेनपा ४ का राजेन्द्र बहादुर खत्रीले एकै दिन पत्नी विरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका छन्। त्यस्तै १३ भदौंमा एकै दिन धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरीबहादुर खत्रीले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे। श्रीमतिसँग जिल्ला अदालत गुल्मीमा भदौ १२ गते सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएका युवराज कुवँरका अनुसार आफू रोजगारीका लागि मलेसिया जानु नै श्रीमतिसगँ सम्बन्ध बिच्छेद हुनुको कारण रहेको बताए। पहिले थाहा थिएन उनले भने, ‘म विदेश गएपछि उनको अन्तै माया प्रेम बसेछ, म बीचमा लिन आएको बेला घरमा आएको भए सम्बन्ध राम्रै हुन्थ्यो।’

रेसुङ्गा नगरपालिका १३ का हरीबहादुर खत्रीले बुधबार श्रीमतिसँग सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गदै आफू श्रीमतिबाट ठूलो मारमा परेकाले सम्बन्ध बिच्छेद गर्न परेको बताए। जन्म दिने बुवा आमालाई भन्दा श्रीमतिलाई धेरै माया दिएर राखेको थिए उनले भने,‘मेरो मायाभन्दा उसलाई अरुको अझै धेरै माया भयो के गर्ने।’ उनका अनुसार श्रीमतिकै कारण आफूले कमाइ गरेको धन सम्पत्तीको कुनै टुङ्गो नलागेको बताए। १ वर्ष अगाडि नै  सम्बन्ध बिच्छेद गर्न खोजेको भएपनि कानुन नभएकाले अप्ठारो भएको उनको भनाई छ।

जिल्ला अदालतमा आएका सम्बन्ध बिच्छेदका मुद्धाको प्रकृति हेर्दा प्रमुख कारण वैदेशिक रोजगारपछिको पारिवारीक बिचलन रहेको छ। महिलाले दर्ता गरेका मुद्धामा कारण खान लगाउन नदिएको, गाली गलौज गर्ने र कुटपीट गरेको, पारिवारीक संरक्षण नभएको लगायतका आरोप छन् भने अहिले अधिकांश पुरुषले श्रीमतिले घर ब्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफूलाई अनावश्यक मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए। अहिलेकै अवस्था रहे आउने ६ महिनामा सम्बन्ध बिच्छेदको संख्या धेरै माथि पुग्ने कानुन ब्यवसायी बताउँछन्। 

प्रकाशित: १४ भाद्र २०७५ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App