५ वैशाख २०८१ बुधबार
कला

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए । ‘तर मलाई नजिकबाटै हेर्नुस्,’ उनले भने, ‘दाग धब्बा देख्नु भयो भने मलाई प्रहार गर्नुस्।’ 

पछिल्लो समय सरकारको तीब्र आलोचना भइरहँदा उनले सही आलोचना गरेर सरकारलाई सही बाटो देखाउन आग्रह गरे । ओलीले प्रतिष्ठानहरूको संरक्षणका लागि नमुना वा थपना संरक्षणभन्दा सजीव संरक्षण गर्न चाहेको बताए । ‘कसरी गर्ने प्रस्ताव गर्नुस,’ तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपतिका सामु ओलीले भने, ‘भैपरी आएको हिसाबले जति गर्नुपर्छ त्योभन्दा बढी गर्छु।’

पछिल्लो समय तीनवटा प्रतिष्ठान एउटै बनाउने कुराले कलाकर्मीमा असन्तोष छाइरहेका बेला उनले सजीव संरक्षणमार्फत कला, साहित्य र संस्कृतिको संरक्षणका लागि आफू प्रतिवद्ध रहेको जनाए । उनले साहित्यको विकाससँगै सिर्जनामार्फत राष्ट्रलाई एकताबद्ध बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानले भूमिका खेलेको भन्दै प्रशंसा गरे । ओलीले साहित्यिक, काव्यिक र कलात्मक योगदानले समाजलाई परोक्ष प्रभाव पार्ने भएकाले चिन्तन, आचरणजस्ता मनोवृत्तिमा सुधार ल्याउने काम प्राज्ञहरूकै भएको औंल्याए । ‘प्रकृतिलाई सुन्दर ढंगले वर्णन गर्ने काम मात्र गर्छौ,’ उनले सुझाए, ‘लेखन, चिन्तन र अभिव्यक्तिको धार त्यो स्रोतको उपयोग र प्रयोगका लागि पनि हुनुपर्छ।’ 

पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले प्राज्ञहरूले सरकार र देश कस्तो हुनुपर्छ भन्ने आलोचनात्मक सिर्जना गरेर सघाउनुपर्नेमा जोड दिए । ‘समाजमा प्रभाव पार्ने र प्रभावित हुने प्राज्ञ नै हुन्,’ अधिकारीले थपे, ‘देशको अवस्था खत्तम मात्र भनिरहने कि समयअनुसार सकारात्मक रुपमा बदलेर परिवर्तन ल्याउने सोच्ने पनि प्राज्ञले नै हो।’ 

प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाली साहित्य, कला संस्कृति मौलिक परम्परामा आधारित रहेको बताए । ‘नेपाल हिमालमा शिव पार्वती, तराईमा राजा जनक र अष्टावक्र, पश्चिममा गौतम बुद्ध पूर्वमा मुन्धुम अनि सुदुरपश्चिममा मस्टोको संस्कार र संस्कृतिले देश धनी छ,’काइँलाले भने, ‘इन्द्रेणीको सात रंग जस्तै यी संस्कारले नै नेपाली समाज  सहिष्णु बन्यो । त्यस्तै अनेक कलमजीविको शक्तिले नै मुलुकलाई अघि बढाउने हो।’ 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले कलाकार, साहित्यकार देशकै मुटु भएको उल्लेख गरिन् । कला, संस्कृति र भाषाले नै देश चिनाइरहेको भन्दै उनले यसका लागि प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण काम गरिरहेको बताइन् । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठान अन्तर्गतको पुनर्निर्माणको काम ८० प्रतिशत सकिएको जनाए । उनले बाँकी काम दसैं अघि सकिने भन्दै भूकम्पले क्षतिग्रस्त भवन अब कार्यक्रम गर्न सक्षम रहेको जानकारी दिए । आफ्नो कार्यकालमा सकेजति राम्रो गर्ने प्रयास गरेको भन्दै उनले नेपालसँग विविध राष्ट्रको साहित्य र कलालाई जोड्न खोजेको औंल्याए। 

कुलपति उप्रेतीले प्रतिष्ठानले विभिन्न विधामा १ सय २५ भन्दा बढी ग्रन्थहरु प्रकाशित गरिसकेको बताए । भदौ २० गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसँगै तीनवटै प्रतिष्ठानका पदाधिकारीको म्याद सकिदैछ । सहज नेतृतवको व्यवस्था गरी कार्यसञ्चालनमा सघाउन उनले सरकारसँग माग गरे। 

दोस्रो सत्रका रुपमा बन्दसत्रमा प्रतिष्ठानको आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवेदन, आयव्ययको प्रतिवेदन तथा २०७५–०७६ को बजेट र कार्यक्रममाथि समेत छलफल भएको थियो। 

बन्दसत्रमा ३५ प्राज्ञसभा सदस्य र पदेन सदस्यका रुपमा संस्कृति मन्त्रालयका सचिवसहित ३६ जना सहभागी हुने प्रावधान छ । तथापि अस्वस्थताका कारण प्राज्ञ झमक घिमिरे अनुपस्थित रहिन् । बाँकी सदस्यबीच साँझ अबेरसम्म छलफल चलेको थियो। 

 

प्रकाशित: १४ भाद्र २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App