१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

पूर्व हेर्दा पश्चिम नबिर्स

बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रपति र प्रधानमन्त्रीहरूको नेपाल आगमन आफैंमा महत्वपूर्ण छ। विशिष्ट अतिथि आगमनबाट नेपालले अन्तर्राष्ट्रिय जगत्मा पाउने प्रचार पनि सामान्य होइन । आयोजक राष्ट्रका रूपमा नेपालका लागि यो महत्वपूर्ण अवसर पनि हो, नेपालको विशेषता र प्राकृतिक सुन्दरता विश्वलाई चिनाउने। सडकछेउमा ‘बुद्धको देशमा स्वागत छ’ भनी टाँगिएका तुलले नेपालले संसारका विभिन्न ठाउँहरूमा फैलाइएको भ्रम निवारण गर्न खोजेको देखिन्छ । सम्मेलन गर्ने र सहभागी हुनेका आआफ्ना राष्ट्रिय स्वार्थ होलान् तर सबैको सामूहिक स्वार्थ र उद्देश्यअनुसार काम भयो/भएन समीक्षा जरुरी छ। बिम्स्टेक गठन भएको २१ वर्ष पुगिसक्दा उद्देश्यअनुसार काम भइरहेको छ वा छैन? लक्ष्य हासिल भएको छ वा छैन? भारत र थाइल्यान्डजस्ता मुलुकले बिम्स्टेकलाई आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने फोरमका रूपमा मात्र सीमित बनाएका त छैनन्? यो विषयको उत्तर खोज्नुपर्छ।

६ जुन १९९७ मा बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्डले आर्थिक सहयोगको उद्देश्यसहित ‘बिस्टेक’ स्थापना गर्दा सार्कको विकल्प खोजिएको विषय उठेको थियो । सोही वर्षको अन्तमा म्यानमार जोडियो र सन् २००४ मा नेपाल र भुटानले सदस्यता पाए । ३१ जुलाई २००४ मा बिस्टेकबाट बिम्स्टेक भयो। ‘बिस्टेक’ गठन गर्दा जारी बैंकक घोषणापत्रमा द्रुत आर्थिक विकास र सामाजिक प्रगतिका लागि सदस्य राष्ट्रहरूबीच परस्पर सहयोगलाई प्राथमिकतामा राखिएको थियो । यसलाई दक्षिण र दक्षिणपूर्वी एसियालाई जोड्ने माध्यमका रूपमा लिइयो । दक्षिण एसियालाई दक्षिण पूर्वी एसियासम्म जोड्ने सशक्त माध्यम बन्छ भने बिम्स्टेकको सान्दर्भिकता प्रमाणित हुन्छ । बिम्स्टेकका माध्यमले भारतले पूर्वतर्फ र थाइल्यान्डले पश्चिमतर्फ नीतिलाई जोड दिने रणनीति अवलम्बन गरेको प्रस्ट छ । यसबाट दक्षिणपूर्वी एसियाको शक्तिशाली राष्ट्र थाइल्यान्ड र दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतको मुख्य स्वार्थ जोडिएको प्रस्ट बुझ्न सकिन्छ। थाइल्यान्डले जसरी म्यानमार हुँदै दक्षिण एसियाबाट आर्थिक लाभ लिन खोजिरहेछ, भारतले पनि म्यानमार हुँदै थाइल्यान्डतर्फ आर्थिक लाभका विषयमा चासो बढाउँदै लगेको छ।

क्षेत्रीय शक्तिहरूले आफ्ना प्रतिद्वन्द्वी देखेका राष्ट्रहरूलाई रणनीतिक ढंगले साइजमा ल्याउने नीतिका रूपमा बिम्स्टेक बन्नुहुन्न। बिम्स्टेकको प्रभावकारिता अपरिहार्य छ, यसका साथै सार्कको प्रभावकारिता झन् महत्वपूर्ण छ। पूर्व हेर्दा पश्चिम बिर्सनु दक्षिण एसियाका लागि हितकर छैन।

संसारको कुल जनसंख्याको २० प्रतिशत अर्थात् डेढ अर्ब जनसंख्यालाई जोड्ने सूत्रका रूपमा बिम्स्टेक रहन सक्छ । यसलाई प्रभावकारी बनाउन सके आर्थिक मामिलामा मात्र नभई जनता–जनताबीचको सम्बन्ध र आवतजावत सहज बनाउन सकिन्छ । लगानी आदानप्रदान, ऊर्जा उत्पादन र आदानप्रदान र सुरक्षा मामिलामा सहयोग आदानप्रदानले सबैको हित हुन्छ । भारत र थाइल्यान्डजस्ता आर्थिक रूपमा बलिया देशहरूबाट अन्य सदस्य राष्ट्रहरूले लाभ लिन सक्ने वातावरण बन्न सक्छ। भारत र थाइल्यान्डजस्ता बलिया देशहरूको भूमिका सकारात्मक भएमात्र बिम्स्टेक दक्षिण र दक्षिण पूर्वी एसियाका देशहरूको समृद्धिका लागि ऊर्जा साबित हुन सक्छ । तर, भारत र थाइल्यान्डजस्ता बलिया देशहरूले बिम्स्टेकलाई आफ्नो राष्ट्रिय स्वार्थमा सीमित राख्न सक्छन् । बिम्स्टेकलाई रणनीतिक स्वार्थका लागि मात्र सीमित राख्न सक्छन् । बर्मासँग जोडिएको भारतका भूभागहरू निकै संवेदनशील मानिन्छन् । त्यस्तै थाइल्यान्डका लागि बर्मासँग जोडिएका भूभाग संवेदनशील छन् । दुवै देशहरूले भूराजनीतिक दृष्टिले संवेदनशील क्षेत्रहरूको सुरक्षा स्वार्थसमेत हेरेका छन् । सन् २०१४ मा बर्मामा भएको तेस्रो बिम्स्टेक सम्मेलनमा लगानी र ऊर्जाको सहयोग आदानप्रदानलगायत १४ प्राथमिक क्षेत्रमध्ये अन्तर्राष्ट्रिय संगठित अपराधको मिलेर सामना गर्ने विषय पनि समेटेको थियो । सुरक्षा मामिलासँगै भारतले पूर्वतर्फ हेर्ने नीतिलाई प्रभावकारी बनाउन बिम्स्टेकको फोरम प्रयोग गरिरहेको छ।

पूर्वतर्फ बढ्दै गर्दा भारतले दक्षिण एसियाको पश्चिमतर्फलाई बेवास्ता गर्न थालेको छ । पाकिस्तान, अफगानिस्तान र टापु राष्ट्र मालदिभ्स बिम्स्टेक सदस्य राष्ट्र होइनन् । यी राष्ट्रहरू सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‐सार्क) निष्क्रिय मात्र नभई औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । भारत र पाकिस्तानबीचको द्वन्द्वले सार्क शिखर सम्मेलन अन्योलमा छ । पाकिस्तानमा हुनुपर्ने सम्मेलन कहिले हुने टुंगो लागेको छैन । बिम्स्टेक सम्मेलन भइरहँदा सार्कको औचित्यमाथि प्रश्न उठ्ने आशंका हुनु नेपालमात्र नभई दक्षिण एसियाका लागि सुखद होइन । दक्षिण एसियाका सदस्य राष्ट्रहरूबीच परम्पर सहयोग, मित्रता र संगठित भई बढ्ने वातावरण नबनेसम्म यो क्षेत्रले समृद्धिको गति लिन सक्दैन । भारत र पाकिस्तानबीच जतिसुकै कटुता भए पनि आर्थिक मुद्दामा सहमतिमा आउने वातावरण बन्नु हितकर हुन्छ । भारतसँग दक्ष जनशक्ति, जनसंख्या र उत्पादन क्षमता छ भने पाकिस्तानसँग प्राकृतिक स्रोतहरू छन् । दुवै मिलेमा यो क्षेत्रकै कायापलट हुन्छ । जसको लाभ नेपालसहित दक्षिण एसियाका अन्य राष्ट्रहरूले लिन सक्छन् । इरान र पश्चिम एसियाका कतिपय मुलुकहरूबाट भारतले ल्याउन खोजेको पाइपलाइन पाकिस्तानको बाटो भएर मात्र सम्भव छ । भारतको उत्पादन सहज रूपमा त्यस क्षेत्रमा जान पनि पाकिस्तानी मार्ग सहज हुन्छ । दुवै देशबीचको मनमुटावले दुवैले गुमाउँदै गएका छन् । जसको असर भारतको चीनसँगको सम्बन्धमा गएर जोडिन्छ । यस्तै राजनीतिक तिक्तताले नेपाललाई पनि कुनै न कुनै रूपमा असर पारिरहेछ । सबको साथ सबको विकासको नारा लिएर भारतलाई विश्वकै समृद्ध देश बनाउने महŒवाकांक्षा बोकेका नरेन्द्र मोदीले विकास यात्रामा छिमेकीहरूसँग पनि साथसाथ बढ्ने नीति बताइरहेका छन् । तर, उनी केही छिमेकलाई दूर राख्दै अन्य क्षेत्रतर्फ बढ्न खोज्दैछन् । मोदीले ‘कनेक्टिभिटी’ का विषय अगाडि सारेका थिए जसमा पाकिस्तान र माल्दिभ्सजस्ता मुलुक परेनन् । पाकिस्तानसँगको भारतको परम्परागत वैरभाव मोदी युगमा पनि देखाप-यो।

प्रधानमन्त्री भएपछि मोदीले पाकिस्तानसँग सम्बन्ध सुधारका लागि पहल गर्दा दक्षिण एसियाको शान्ति, समृद्धि र ‘कनेक्टिभिटी’ का लागि नयाँ आशाको किरण झुल्किएको थियो । सोही क्रममा उनले अकस्मात् पाकिस्तान भ्रमण गरी तत्कालीन प्रधानमन्त्री नवाज सरिफको घरमा पुगेका थिए । केही घन्टाको पाकिस्तान बसाइले भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले गरेको लाहोरसम्मको बसयात्रालाई सम्झाएको थियो । तर, दुवै देशबीच पुनः सम्बन्ध चिसियो । असर सार्कसम्म प-यो । दक्षिण एसियाभित्र तिक्तता र अविश्वासको वातावरण कायम रहँदा दक्षिणपूर्वी एसियासम्मको ‘कनेक्टिभिटी’ कति प्रभावकारी होला ? क्षेत्रीय शक्तिहरूले आफ्ना प्रतिद्वन्द्वी देखेका राष्ट्रहरूलाई रणनीतिक ढंगले ‘ठिक पार्ने’ नीतिका रूपमा बिम्स्टेक बन्नुहुन्न । बिम्स्टेकको प्रभावकारिता अपरिहार्य छ, यसका साथै सार्कको प्रभावकारिता झन् महत्वपूर्ण छ । पूर्व हेर्दा पश्चिम बिर्सनु दक्षिण एसियाका लागि हितकर छैन । यस क्षेत्रका मुलुकले एकअर्कालाई नकारेर होइन सहयात्रा गरेर अपेक्षित उद्देश्य हासिल गर्न सक्छन् । तिनले दक्षिण पूर्वी एसियाली राष्ट्र (आसियान), युरोपेली संघ (इयू) लगायतका क्षेत्रीय संगठनको सहकार्य र विश्वासबाट पाठक सिक्नु उचित हुन्छ । क्षेत्रीय र उपक्षेत्रीय संगठनको सशक्त उपस्थिति यस क्षेत्रको जीवन उठाउने उद्देश्य प्रेरित हुनुपर्छ न कि कसैलाई खुम्च्याउने । बुद्धभूमि नेपालमा सम्पन्न हुन लागेको बिम्स्टेकको यो शिखर सम्मेलन यसको विकास र विस्तारका निम्ति कोसेढुंगा साबित हुनुपर्छ।

प्रकाशित: १४ भाद्र २०७५ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App