७ वैशाख २०८१ शुक्रबार
खेल

युएईद्वारा नेपालसामु २ सय ५५ रनको लक्ष्य प्रस्तुत, सन्दिपको उत्कृष्ट बलिङ

(फाइल फाेटाे)

काठमाडौं – मलेसियामा जारी एसिया कप छनोटको दोस्रो खेलमा युएईले नेपालसामु जितका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाइ २ सय ५४ रन बनाएको छ। युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ९१ बलमा ७ चौंका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै एडनान मुफ्तीले नटअाउट ५७ रन बनाए। उनले ४६ बलमा ८ चाैंका प्रहार गरे।

यता ओपनिङ ब्याट्सम्यान अस्फाक अहमेदले ४५, रमीज सहजादले ३५, र मुहमेद उस्मनले १३ रनको योगदान दिँदा अन्यको प्रदर्शन सम्झनलायक भएन्। नेपालका लागि युवा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै २ मेडन राख्दै २४ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिन सफल भए।

बुधबार भएको पहिलो खेलमा ओमानविरुद्ध विकेट लिन नसकेका सन्दिपले आज भने उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले ४५ ओभरको चौथो र पाँचौ बलमा लगातार दुई विकेट लिए। सन्दिपको बलमा युइईका चिराग सुरी रन आउट भएका थिए। त्यस्तै नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए। अबको केही समयपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ। 

बुधबार भएको पहिलो खेलमा ओमानसँग ७ विकेटले हारेको नेपालका लागि आजको खेलमा जित्नैपर्ने दबाब छ। पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्। 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ भाद्र २०७५ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App