coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सरकारले नचिनेको खेलबाट पदक

एसियाली खेलकुदमा रजत पदक प्राप्त गर्ने प्याराग्लाइडिङका खेलाडी । तस्बिर साैजन्यः पिजे क्लब

पोखरा – ‘खेलकुद’ भन्नासाथ राजधानीको त्रिपुरेश्वर र सातदोबाटो परिसर मात्र हो भन्ने अहिलेसम्म सरकारी निकाय र पदाधिकारीमा मान्यता छ । त्यसले गर्दा राजधानीबाहिरका खेलगतिविधि र पूर्वाधारलाई सरकारले खासै महत्व नै दिएको थिएन। 

अझ साहसिक खेलका गतिविधिमा त सरकारी नजर शून्य नै थियो । बरु, उल्टो सरकारले साहसिक खेलप्रति कर्के नजर लगाउँदै आएको थियो । त्यही महत्व नपाएको र सरकारको निकै नै कम प्राथमिकतामा परेको प्याराग्लाइडिङले यस  पटक नेपाललाई पदक दिलाएर इन्डोनेसियामा चलिरहेको एसियाली खेलकुदमा नेपालको सहभागितालाई अर्थपूर्ण बनाउन सफल भएको छ । 

पोखरामा झन्डै २० वर्षअघि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले नै २० वर्षको अन्तरालमा एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएको छ । सरकारले २० वर्षपछि मात्र प्याराग्लाइडिङलाई खेलगतिविधिको मान्यता दिएर यो पटक एसियाली खेलकुदमा सहभागी गराएको थियो । पुरुष टिम क्रसकन्ट्री विधामा नेपालले पाँच राउण्डको समाप्ति सकेर ऐतिहासिक पदक जितेको हो । एसियाली खेलकुदमा एक मात्र पदक (रजत) जिताएर अहिलेसम्म पोखरामा मात्र सीमित रहेको प्याराग्लाइडिङले अब बल्ल सरकारी प्राथमिकतामा पार्ने गरी खेल पदाधिकारीको आँखा खोलिदिएको छ।

सरकारले ठूलो लगानी गर्दै आएका खेलका अन्य विधा एसियाली खेलकुदमा रित्तो हात घर फर्किंदा पोखराको सराङकोट आसपासका डाँडामा मात्र सीमित रहेको प्याराग्लाइडिङको टिम भने उपाधि लिएर फर्किनेछ। 

‘सरकारी लगानी रहेका खेलका अरू विधा रित्तो हात घर फर्किंदा पोखराको आकाशमा सीमित रहेको प्याराग्लाइडिङ रजत पदकसहित फर्किंदै छ,’ इन्डोनेसिया पुगेको प्याराग्लाइडिङ टिमलाई प्रशिक्षण दिलाएका सानोबाबु सुनुवार भन्छन्, ‘नेपालको नाम उँचो बनाउन प्याराग्लाइडिङ मात्र काफी बनेको छ । पोखरामा प्याराग्लाइडिङ उडान सुरु नहुँदो हो त अहिले पनि नेपाल रित्तो हात फर्किने रहेछ ।’ दुई दशकअघि सुरु भएको प्याराग्लाइडिङ नै दुई दशकपछि उपाधि जित्न काफी भएको उनले बताए।

सहभागी पाइलटले खेलसामग्रीका लागि मात्र १५ लाख रुपैयाँजति व्यक्ति खर्च गरेका छन् । सहभागीले क्रसकन्ट्री र एक्युरेसीका लागि भिन्दाभिन्दै सेट किनेका थिए । एउटा सेटमा ग्लाइडर, हार्नेस, अल्टामिटर, ब्यारोमिटर, जिपिस सिस्टम, फ्लाई मास्टर, थप प्यारासुटसहितका सामग्री हुन्छन्।

सरकारले अहिलेसम्म प्याराग्लाइडिङलाई खेल नभनी ‘व्यवसाय’ मात्र भन्दै आएको थियो । त्यसले गर्दा प्याराग्लाइडिङले उचित सहयोग पाएको थिएन । व्यवसायको मात्र पहिचान पाउँदा सरकारले प्याराग्लाइडिङलाई पेलाहा नीति मात्र अवलम्बन गर्दै आएकोमा यो उपाधिले साहसिक खेलको पहिचान दिलाउन सकेको उनले बताए । ‘बाहिरबाट हेर्दा हामी सराङकोट डाँडामा मात्र सीमित थियाैं, तर, अब सराङकोटमा मात्र हामी रहेनाैं, मुलुकले एक मात्र उपाधि ल्याउने खेलका रूपमा यसको पहिचान बदलिएको छ,’ उनले भने, ‘अब बल्ल सरकार र राजधानीमा मात्र केन्द्रित खेलपदाधिकारीले प्याराग्लाइडिङलाई चिन्नेछन्।’ 

झन्डै दुई दशक अघिदेखि सुरु भएर यहाँको आकाशमा वर्षाैजसो प्याराग्लाइडिङ प्रतियोगिता हुँदै आएको थियो । त्यसमा विदेशी र स्वदेशी पाइलटले प्रतिस्पर्धा गर्दै आएका थिए । तर, सरकारले त्यसलाई आधिकारिक रूपमा खेलको मान्यता दिएको थिएन । ‘सरकारले पहिलो पटक प्याराग्लाइडिङलाई खेलको मान्यता दिएर एसियाली खेलकुदमा सहभागी गरायो । त्यसैले नै उपाधि जितायो,’ उनले भने, ‘यो पटक प्याराग्लाइडिङ सहभागी नहुँदो हो त नेपाल रित्तो हात फर्किनुपर्ने रहेछ । पहिलो सहभागितामा हामीले प्याराग्लाइडिङको खुबी कत्ति रहेछ भन्ने सरकारलाई देखाउन सक्याैं।’

सरकारले साहसिक खेलका गतिविधिलाई कम प्राथमिकता दिँदा उपाधिबाट वञ्चित हुँदै आएको रहेछ भन्ने यसले पुष्टि गरेको उनले बताए । ‘नेपालले अब अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधिमा कुनै उपाधि हात पार्छ भने त्यो साहसिक विधामा मात्र सम्भव छ,’ सुनुवारले नागरिकसँग भने, ‘नियमित र सबैतिर हुने खेलकुद गतिविधिले पदक जिताउन सहज छैन । तर, साहसिक गतिविधिमा अरू मुलुकले चुनौती खेप्नेछन् ।’ सरकारले प्याराग्लाइडिङलाई खेलको मान्यता दिएर एसियाली खेलकुदमा सहभागिता गराउनका लागि गत वैशाख २३ देखि बन्द प्रशिक्षणमा राखेको थियो। 

‘हामी यो पटक स्वर्ण पदक नै हत्याउने तयारीमा थियाैं । तर, हामीले सरकारी तहबाट उचित सहयोग पाएनाैं,’ उनले भने, ‘ठूलो लगानीमा उडानका सामान किनेर तयारी गर्याैं । हामीलाई तयारी सामान किन्ने कि व्यासायिक उडान गरेर घरखर्च जोहो गर्ने भन्ने चिन्ता थियो । त्यही समस्याका बावजुद पनि यो उपाधि जित्याैं।’

एसियालीपछि अब ओलम्पिक र दक्षिण एसियाली खेल (साग) मा स्वर्ण जितेर देखाउने चुनौती प्याराग्लाइडिङलाई रहेको सुनुवारको भनाइ छ । ‘अब प्याराग्लाडिङ पोखराको आकाशमा मात्र होइन, अन्तका अग्ला चुचुरामा पनि उडान सुरु गर्नुपर्छ,’ उनले भने, ‘अनि मात्र प्याराग्लाइडिङको विकास हुनेछ । साहसिक गतिविधिलाई सरकारले नहेर्ने हो भने यस्ता अन्तर्राष्ट्रिय खेलगतिविधिमा नेपालको सहभागिता सहभागितामा मात्र सीमित हुनेछ ।’ अहिले उपाधि जितेको यो टिम स्याङ्जाको स्वरेकमा पहिलो चरणमा छानिएको थियो । त्यसपछिको अन्तिम छनोट पोखराको सराङकोटमा भएको थियो। 

नेपाली टिम अफिसियल शैलन्द्र रावतले दुई दशक अवधिमा बल्ल सरकारी मान्यता पाएको अनुभव दिलाएको बताए । ‘सरकारले प्याराग्लाइडिङलाई पहिचान दिलाउन झन्डै दुई दशक लाग्दा उपाधि भित्र्याउन पनि उत्तिकै समय लाग्यो,’ रावतले भने, ‘अफिसियल गेम बनेको पहिलो पटक नै उपाधि जितेर नेपालको प्याराग्लाइडिङको क्षमता कत्ति रहेछ भन्ने सरकारलाई नै देखाउन सफल पनि बन्यौं।’

एसियाली खेलकुदको इतिहासमा प्याराग्लाइडिङले पहिलो सहभागिता पाएको हो । नेपालले पनि २० वर्षदेखि चलिरहेको प्याराग्लाइडिङलाई यो पटक नै आधिकारिक खेल गतिविधिको मान्यता दिएको छ । ‘नेपालमा खेलक्षेत्रको महत्व बुझाउन दुई दशक लाग्दो रहेछ भन्ने अहिलेको सहभागिताले पुष्टि गरेको छ,’ रावतले भने, ‘अहिलेसम्म प्याराग्लाइडिङलाई व्यवसाय मात्र भनियो । अब सरकारले यो साहसिक खेलक्षेत्र रहेछ भन्ने बुझनेछ।’

एसियाली खेलमा सहभागी हुने पाइलटलाई सरकारले बन्द प्रशिक्षणमा राखे पनि त्यसको तयारीको उपकरण सहभागी पाइलट आफैंले व्यवस्थापन गरेका थिए । दिनको १४ सय रुपैयाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप)  ले खर्च दिएको थियो । त्यसबाहेकको खर्च सहभागी आफैंले खर्च बेहोरेका थिए । ‘सरकारले बस्ने–खाने खर्च दियो । तर उपकरण दिएन । उपकरण किन्न निकै नै महँगो छ,’ उनले भने, ‘उपकरणका लागि व्यक्तिगत रूपमा खेलाडी नै खर्च गरेका छन्।’ 

उनका अनुसार सहभागी पाइलटले खेलसामग्रीका लागि मात्र १५ लाख रुपैयाँजति व्यक्ति खर्च गरेका छन् । सहभागीले क्रसकन्ट्री र एक्युरेसीका लागि भिन्दाभिन्दै सेट किनेका थिए । एउटा सेटमा ग्लाइडर, हार्नेस, अल्टामिटर, ब्यारोमिटर, जिपिएस सिस्टम, फ्लाई मास्टर, थप प्यारासुटसहितका सामग्री हुन्छन् । एक सेटका लागि मात्र कम्तीमा ७ लाख रुपैयाँ पर्छ । ग्लाइडरकै आयु डेढ सय घण्टा हो। 

‘निकै नै महँगो प्रतिस्पर्धा हामीले गरेका हौं । सरकारले प्याराग्लाइडिङलाई चिनोस् भनेर यो साहस बटुलेका हाैं,’ रावतले भने, ‘आफंै लगानी गरेर हामीले सहभागिता जनाउनुको  महत्व सरकारले बुझोस् भनेर नै हो ।’ प्रतियोगितामा सहभागिताका लागि ५ जना पुरुष, ३ जना महिला, २ जना प्रशिक्षण र एक  जना व्यवस्थापक गएका थिए। 

पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । बेलायती प्याराग्लाइडिङ पाइलट एडम चाल्र्स हिल्ससँग मिलेर यहाँका विरु बमजनले पोखरामा सन् १९९६ मा पहिलो  पटक सनराइज प्याराग्लाइडिङ कम्पनी खोल्ने प्रक्रिया सुरु गरेका थिए । तर त्यो कम्पनी खोल्न तीन वर्ष लागेको थियो । सन् १९९९ मा पहिलो पहिलो  पटक सनराइज प्याराग्लाइडिङ कम्पनी खुलेसँगै विदेशीलाई ल्याएर प्याराग्लाइडिङ गराउने चलन बढ्न थालेको हो । अहिले पोखरामा करिब ६० वटा कम्पनी छन् । ती कम्पनीले सिजनमा दैनिक ५ सय जनासम्म पर्यटकलाई सराङकोटका आकाशमा प्याराग्लाइडिङ उडाउँदै आएका छन्। 

प्रकाशित: १४ भाद्र २०७५ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App