८ वैशाख २०८१ शनिबार
राजनीति

बिमस्टेक सुदृढ बनाउने अठाेट

काठमाडाैं बुधबार बिम्स्टेक विदेश मन्त्रीस्तरीय बैठकपछि सामूहिक तस्बिर खिचाउँदै सदस्य राष्ट्रका मन्त्रीहरू। तस्बिर : दिपेश/नागरिक

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदैछ। बिमस्टेकका सात सदस्य राष्ट्रमध्ये चार राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइसकेका छन् भने दुई देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख बिहीबार बिहान काठमाडौं आउने कार्यक्रम छ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन्। शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा बुधबार काठमाडौं आइपुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिना बिहीबार बिहान काठमाडौं आउँदैछन्।

यसैबीच बुधबार काठमाडौंमा बसेको बिम्स्टेकको १६औं मन्त्रीस्तरीय बैठक बिम्स्टेकलाई थप मजबुत र नतिजामुखी बनाउने प्रतिबद्धता गर्दै सम्पन्न भएको छ। बैठकमा बिमस्टेकको सबै पक्षको समीक्षा गरिएको थियो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेको बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरु बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहम्मद अली, भुटानका विदेश सचिव सोनाम छोङ, भारतका विदेश राज्यमन्त्री भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय विकासमन्त्री यु क्य थिन, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्त सेनानायके र थाइल्यान्डका विदेशमन्त्री डन प्रमुदभिनाई सहभागी थिए।

बैठकमा सबै देशका विदेशमन्त्रीले आफ्नो राष्ट्रको औपचारिक धारणा राखेका थिए। त्यसपछि मंगलबार बिमस्टेक सचिवस्तरीय बैठकले पारित गरेका मुद्दामाथि छलफल भएको थियो। ‘मन्त्रीस्तरीय बैठकले बिमस्टेकअन्तर्गत हुने सहयोगका सबै पक्षको समीक्षा गर्दै क्षेत्रीय सहयोग प्रक्रिया थप मजबुत बनाउने निर्णय गरेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा बिमस्टेकका महासचिव एम सहिदुल स्लामले प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा बिमस्टेकले हालसम्म प्राप्त गरेको उपलब्धि, नीतिगत रूपरेखा, सहयोगका परियोजनालगायतका विषय छन्। महासचिवले बैठकमा भन्सार, मोटर भेइकल, पानीजहाज र व्यापारसँग सम्बन्धित चारवटा सहमतिको अन्तिम मस्यौदा निर्माणमा भएका उपलब्धिबारे जानकारी गराएका थिए। बिमस्टेक सदस्य राष्ट्रले सन् २०१८ को सेप्टेम्बरसम्म यातायात कनेक्टिभिटीसम्बन्धी गुरुयोजना तयार पारिसक्ने जानकारी महासचिवले दिएका थिए।

बैठकले काठमाडौं घोषणापत्रको मस्यौदा अनुमोदन गर्दै स्वीकृतिका लागि बिमस्टेकको बिहीबार र शुक्रबार हुने चौथो शिखर सम्मेलनमा पठाउने निर्णय गरेको छ। बैठकमा बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरुले बिम्स्टेक ग्रिड इन्टरकनेक्सन समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता गरेका थिए।

परम्पराअनुसार बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रीलंकाका विदेश राज्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

नयाँ संविधान जारी भई तीनवटै चरणका निर्वाचन सम्पन्न भएपछि नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो र बृहत् अन्तर्राष्ट्रिय सम्मेलन हो। यसअघि नेपालमा सन् २०१४ को नोभेम्बरमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलन भएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक चौथो शिखर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। करिब दिउँसो २ बजे शिखर सम्मेलन सुरु हुने जनाइएको छ। उद्घाटनलगत्तै सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। बिहीबार नै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा होटल ह्यातमा रात्रिभोज आयोजना गर्नेछन्।

शुक्रबार राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुलाई ‘रिट्रिट’ दिइनेछ। रिट्रिट सोल्टी होटलमै दिइने तयारी छ। रिट्रिट सकिएपछि शुक्रबार बिम्स्टेक सम्मेलनमा सहमति जुट्ने समझदारीपत्रमा हस्ताक्षर हुनेछ। ‘ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति सचिव र मन्त्रीस्तरीय बैठकमा भइसकेको छ । यही सहमतिलाई शिखर सम्मेलनले अनुमोदन गर्नेछ। शुक्रबार नै शिखर सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गर्नेछ। समापन हुनुअघि प्रधानमन्त्री ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नेछन्।

शिखर सम्मेलन सकिएपछि राष्ट्रप्रमुख तथा सरकारप्रमुखबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। शुक्रबार नेपाल र श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यसपछि नेपाल र श्रीलंकाबीच एउटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। सोही दिन नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि रक्सौल–काठमाडौं रेलमार्ग र बल्क कार्गो गरी दुई समझदारीपत्रमा नेपाल र भारतका अधिकारीहरूले हस्ताक्षर गर्ने कार्यक्रम छ। बिम्स्टेकमा सहभागी हुन काठमाडौंमा आएका श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको पनि भ्रमण गर्नेछन्।

प्रकाशित: १४ भाद्र २०७५ ००:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App