coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यौन दुर्व्यवहारकाे आरोपमा प्रिन्सिपल पक्राउ

सांकेतिक तस्विर ।

रुपन्देही - बुटवल स्थित एक निजी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। बुटवल ११ स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूलका प्रिन्सिपल तोयाराम पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो। कक्षा १० मा अध्ययनरत १५ बर्षीय छात्राले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै प्रिन्सिपल विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

छात्रामाथि दुर्व्यवहार भएको अभिभावकलाई जानकारी भएपछि बुधबार विहानदेखि विद्यार्थी तथा अभिभावकले विद्यालय परिसरमा घेराउ गरेका थिए। अभिभावकहरुले शिक्षाको ज्योति छर्ने ठाउँमै छोरी असुरक्षित भएको भन्दै साँझसम्म विद्यालय घेराउ गरेका हुन्। आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अभिभावकहरुले प्रिन्सिपल पौडेलले पटक पटक विद्यार्थी माथि यौन दुर्व्यवहार गर्ने गरेको बताएका छन्। विगतमा मिलापत्रमा घटना मिलाइएको र अहिले विद्यार्थीले अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको स्थानीयले बताएका छन्।

प्रिन्सिपल पौडेलले छात्राहरुका गोप्य अंग छुने, सुम्सुम्याउने, छात्राहरूलाई राति एक्लै बोलाउने गरेको आरोप छात्राहरुले लगाएका छन्। प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन षडयन्त्र गरिएको बताएका छन्।

 

प्रकाशित: १३ भाद्र २०७५ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App