८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढी नाका ठप्प हुँदा राजश्व सङ्कलन भएन, सडक खुल्न १५ दिन लाग्ने

नाका बन्द भएपछि राेकिएका ट्रक तथा कन्टेनर।

रसुवा – रसुवागढी भन्सार कार्यालयमा राजश्व सङ्कलन विगत २१ दिनदेखि रोकिएको छ। बाढीपहिरोले क्षति पुगेको सडक मर्मत हुन नसक्दा राजश्व सङ्कलन ठप्प भएको हो। २१ दिन यता राजश्व सङ्कलन हुन नसकेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए। दैनिक चार करोडसम्म राजश्व सङ्कलन गर्दै आएको कार्यालयले भदौ महिनामा ९० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। 

साउन महिनामा लक्ष्य भेटाउन नसकेको कार्यालयले यो महिना पनि लक्ष्य पूरा गर्ने सम्भावना टरेको छ। एक महिनादेखि नाकामा सवारी आवागमन ठप्प छ। साउन ११ गतेको बाढीले नाका नजिकै रहेको पुलमा क्षति पुर्‍याएपछि सवारी सञ्चालनमा रोक लगाइएको हो। 

एक महिना लगाएर पुल मर्मत गरिएपनि सडकमा समेत क्षती पुगेकाले मर्मतमा ढिलाई हुँदा नाका सञ्चालनमा ढिलाई भएको हो। नाका बन्द भएपछि व्यापारी तथा व्यावसायी मर्कामा परेका छन्। जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजनामा स्टक सामग्री समेत सकिँदै गएको छ। सवारी आवागमन ठप्प हुँदा बजार, नाका, भन्सार तथा अध्यागमन कार्यालयमा कुनै चहलपहल छैन्। चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा समेत कमि आएको छ। 

कुहिएका स्याउ सडकमा फालियो 
सानाठुला सवारी सञ्चालनमा रोक लगाइएपछि चीनबाट नेपाल ल्याइएका स्याउ, नास्पाती, लगाएतका फलफुल कुहिएर सडकमा फालिएको छ। कुहिएका वस्तुले सडकलाई समेत दुर्गन्धित बनाएको छ। 

होटल बुकिङ क्यान्सिल 
मानसरोबर जान होटल बुकिङ गरेका भारतीय पर्यटकले धमाधम बुकिङ समेत क्यान्सिल गर्न थालेका छन्। चिनियाँ, भारतीय तथा तेस्रो मुलुकमा पर्यटकको आगमन बढेपछि भरिभराउ हुँदै आएका होटल हिजोआज खाली देखिन्छन्। ‘पहिले हाम्रो होटलमा दैनिक २५ जना पर्यटक हुन्थे, होटल व्यावसायी छोटेन शेर्पाले भनिन्, 'अहिले त बुकिङ भइसकेको रुम पनि क्यान्सिल गर्न थालेका छन्।’ एक सातामा छ वटा समूहले बुकिङ क्यान्सिल गरेका उनले बताइन्। 

स्याफ्रु–रसुवागढी सडक खण्डको काम रोकिने
स्याफ्रु रसुवागढी सडकखण्डको आधा दर्जन स्थानमा पहिरो गएको छ। पहिरोका कारण यो सडक खण्ड दैनिक अवरुद्ध हुँदै आएको छ। सडक सुचारु गर्न जिल्लाको टिमुरेमा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाले पहिरो पन्छाउँदै आएको छ। तर आयोजनासँग स्टक राखिएको डिजेल दुई दिनका लागि मात्रै पुग्ने देखिएको छ। आयोजनासँग डिजेल सकिएपछि सडक सुचारु गर्न विकल्प नहुने आयोजनाले जनाएको छ। घट्टेखोलाको पुल मर्मतका लागि सामग्री उपलब्ध गराएको आयोजनाले वर्षाको समयमा दैनिक १६ किलोमिटर सडक सफा गर्ने कार्य गर्दै आएको छ।‘आयोजनाले वर्षाको समयमा स्याफ्रु रसुवागढी सडकमा झरेको पहिरो पन्छाउने कार्य गर्दै आएको छ,' आयोजना प्रमुख छबी गैरेले भने, 'तर अहिले हामीसँग आवश्यक पर्ने डिजेल छैन् ।’ डिजेल सकिएपछि आयोजनाको काम समेत पूर्ण प्रभावित हुने उनले बताए। 

अझै १५ दिन सडक खुल्दैन् : डिभिजन 
धुन्चे रसुवागढी सडक अझै १५ दिन नखुल्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। सडक सुचारु गर्न जनशक्ति र मेसिन थप गर्ने डिभिजन प्रमुख निरज शाक्यले बताए। ‘त्रिशुली खोलामा झरेको ढुङ्गा व्लाष्टिङ गर्ने कार्य भइरहेको छ,' डिभिजन प्रमुख शाक्यले भने, खोपाङ भीरमा वाल उठाउन कार्य सुरु गर्छौँ ।’ व्लाष्टिङ गरेर खोपाङ भीरतर्फको सडक सुचारु गर्न ढिलाई हुने उनको भनाई छ। 

त्रिशुली खोलाको पहिरो हटाउन नेपाली सेना र डिभिजन कार्यालयले कार्य गरिरहेका छन्। रसुवागढी नजिकै झरेको पहिरो पन्छाउनका लागि रसुवागढी जलविद्युत आयोजनाले कम्प्रेसर उपलब्ध गराउनेछ। अन्य सामग्री डिभिजन आफैँले जुटाउने कार्य गरिरहेको छ। घट्टेखोलाको पुलमा बिहिबारदेखि सवारी सञ्चालन गर्न अनुमति दिने डिभिजनले जनाएको छ।

 

प्रकाशित: १३ भाद्र २०७५ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App