coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित ५ जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५.६ ग्राम लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सुब्बाकुना चेकपोष्टबाट उक्त परिणामको लागूऔषध ब्राउनसुगर बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार सुब्बाकुनामा चेकजाँचका क्रममा तीन घण्टाको अवधीमा पाँच जनालाई पक्राउ गरिएको बताए। प्रहरीका अनुसार वीरेन्द्रनगर–३ तातापानीका २९ वर्षीय रमेशकुमार मल्लको साथबाट दुई ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो। मल्लले भे४प ३४२१ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर ल्याएका थिए।

यस्तै वीरेन्द्रनगर–३ का २४ वर्षीय समिर थापा र २३ वर्षीय यज्ञ सुनारलाई तीन ग्राम १३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले पनि भे८प ३७०६ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा ब्राउनसुगर लुकाएर ल्याएका थिए। 

यस्तै वीरेन्द्रनगर–४ का २३ वर्षीय सन्तोष बस्याल, २८ वर्षीय डम्वरबहादुर भण्डारीलाई नौ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले नेपालगञ्जबाट स्ल्याक्स (कट्टु) मा लागूऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै लागूऔषध कारोवारी हुन्। ‘नेपालगञ्जबाट लागूऔषध ल्याएर सुर्खेतमा विक्री–वितरण गर्ने कार्यमा उनीहरुको संलग्नता रहेको पाइएको छ’ एसपी रजौरेले भने, ‘थप कारोवारीहरुको खोजी भइरहेको छ।’ उनले सुर्खेतमा अहिलेसम्मकै ठूलो परिणाममा ब्राउनसुगर बरामद गर्न आफूहरु सफल भएको बताए। ‘एकै दिन ठूलो परिणाममा लागूऔषध ब्राउनसुगर बरामद गरिएको यो पहिलो घटना हो’ एसपी रजौरेले भने, ‘सुर्खेतलाई लागूऔषधमुक्त बनाउने अभियानमा प्रहरी सक्रियताका साथ अगाडि बढेको छ।’ 

जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ४३ ग्राम लागूऔषध बरामद गरिएको थियो। रजौरे जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर आएको १५ दिन भएको छ। यो अवधिमा १८ ग्राम लागूऔषध ब्राउनसुगर र १४ जना कारोवारी र सेवनकर्ता पक्राउ परेका छन्। यस्तै १५ दिनमा सुर्खेत जिल्लामा छ वटा बलात्कारका घटना भएका छन् भने दुई वटा अपहरण तथा शरिर बन्धकका घटना भएका छन्। 

उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिने

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई मासिक रुपमा पुरस्कृत गर्ने भएको छ। ‘सुर्खेत जिल्लालाई लागूऔषधमुक्त बनाउनका लागि मासिक रुपमा एक जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय भएको छ’ उनले भने, ‘यो अभियानबाट प्रहरीको मनोवल उच्च हुनुका साथै समाजमा राम्रो सन्देश पनि जान्छ।’ 

प्रहरीले असोजबाट हरेक महिना एक जनालाई पुरस्कृत गर्ने जनाएको छ। ‘विभागीय पुरस्कारका साथै लागूऔषधमा उत्कृष्ट कार्यगर्नेलाई मासिक १५ हजार रुपियाँद्वारा पुरस्कार गर्छौं।’ प्रहरीले लागूऔषध, कारोवारी र सेवनकर्ता पक्राउ गर्दा मानव अधिकारको उल्लंघन गर्न नहुने, कुटपिट गर्न नहुनेलगायतका शर्तहरु राखेको छ।

प्रकाशित: १३ भाद्र २०७५ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App