काठमाडौं- सुनसरी र पर्साबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमध्ये ४ जना सुनसरी र ३ जना पर्साबाट पक्राउ परेका हुन्।
सुनसरी कोशी गाउँपालिका-४ कटानस्थित बा.११ च ४३४६ नम्बरको कारमा सवार धरान-१५ बस्ने ३० वर्षीय सुजन राई लगायत ४ जनालाई प्रहरीले ११.३ ग्राम खैरो हेरोइन सहित मंगलबार पक्राउ गरेको हो। कारको तेल हाल्ने ट्याङकीभित्र प्लाष्टिकमा लुकाइ ल्याएको अवस्थामा उक्त लागूऔषध प्रहरीले फेला पारेको हो। यसैगरी पर्साबाट भारत मोतियारी बस्ने २८ बर्षीय संजय सहनी करीब ६० केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ परेका हुन्। बीरगंज महानगरपालिका-२१ परवानिपुर चोकस्थित त्रिभुवन राजपथमा हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको बि एल ९ सि कि्यु एस ४३०९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक संजय उक्त परिमाणको लागूऔषध सहित पक्राउ परेका हुन्।
यसैगरी पर्सा बीरगंज महानगरपालिका-१६ बैष्ण्वी हल आगाडी मकवानपुर हेटौडा उपमहानगरपालिका-९ बस्ने १९ बर्षीय जिवनबहादुर खड्का र सोही ठाउँ बस्ने २१ बर्षीय विशाल बिकलाई नियन्त्रित लागूऔषध ६१ एम्पुल फेनारगन, ६२ एम्पुल डाईजेपाम, र ६२ एम्पुल नुर्फिन सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी ईनर्वाबाट खटीएको टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १३ भाद्र २०७५ ११:०४ बुधबार