८ वैशाख २०८१ शनिबार
समाज

मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मान्छे इराक

काठमाडौं – सन् २००४ को जुलाई ३० तारिखमा ३५ नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम गर्न जोर्डन जाने अनुमति पाएका थिए । जोर्डनको लागि श्रम स्वीकृति पाएका तीमध्ये १२ नेपाली झन्डै एक महिनापछि हिंसाग्रस्त इराकमा मारिए। 

जोर्डनको लागि श्रम स्वीकृति पाए पनि कामदारको रुपमा इराक पुगेका १२ नेपालीको त्यहाँको इस्लामिक उग्रवादीबाट अपहरणमा परेलगत्तै हत्या भएको थियो । इराकमा मारिने १२ नेपालीसँगै त्यहाँ पुगेका गोरखाका विप्लव भट्टले १४ वर्षपछि त्यस घटनाबारे बोलेका छन्। 

‘आफूले पाएको दुःखबारे बुझ्दै गर्दा १२ जना साथी मरिसकेका थिए । संसार हल्लाएको त्यस घटनाले नेपालमा ठूलो असर परेको थियो,’ उनी स्मरण गर्दै थिए, ‘मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मानिस इराक पुगेको थिएँ।’

मुनलाइट म्यानपावरले जोर्डनमा ‘वैदेशिक रोजगारीको अवसर’ शीर्षकमा फाइभ स्टार होटलमा राम्रो पारिश्रमिक दिने कुक चाहियो भनेर सूचना छापेपछि उनी राम्रो अवसरको लागि बिदेसिने सोचसहित त्यहाँ पुगेका थिए । मुनलाइट म्यानपावरका प्रह्लाद गिरी भन्नेलाई भेटेर उनी जोर्डनको तयारीमा जुटे । सन् २००४ मा २२ वर्षीय उनी मुनलाइट म्यानपावरसँग सम्झौता गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

‘म्यानपावरका प्रह्लादले विमानस्थल पुगेपछि जोर्डन उड्न लागेका हामीहरुलाई एउटा चिठ्ठी दिँदै लिन आउने मानिसलाई दिनु भनेका थिए,’ उनले भने । कतारमा झन्डै १८ घन्टाको ट्रान्जिटपछि जोर्डनको एलिया अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । जोर्डन पुगेका उनीहरु काम गर्ने सपनाबाट हर्षित थिए । विमानस्थलमा लिन आएका मानिससँगै उनीहरुलाई अमान भन्ने स्थानको अवशेषमात्र बाँकी रहेको घरमा लगियो । जहाँ नेपालको तराईका विभिन्न जिल्लाबाट पुगेका ३० नेपाली १२ दिनदेखि बसिरहेका थिए। 

‘त्यो माहोल हेर्दा शंका गर्ने  धेरै कुरा थियो । तैपनि बाध्यता थियो कामको,’ उनले सम्झिए । उनीसँग कुनै विकल्प थिएन किनभने श्रीमती तीन महिनाकी गर्भवती थिइन् र परिवारसँग पैसा थिएन । परिवारको भविष्य सोचेर वैदेशिक रोजगारीमा हिँडेका उनले जीवन–मृत्युको संघार पार गर्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन्। 

रमेश, दिलबहादुर र जेष्ठबहादुर थापा लगायत इराकमा मारिएका १२ जना नेपाली पहिलेदेखि त्यहीँ बसिरहेका थिए । मारिने रमेश खड्का ज्वरोबाट थलिएका थिए । विप्लवले पानीपट्टि लगाइदिएपछि उनलाई केही आराम भएको थियो । ‘हामीले फेरि कुकको लागि अन्तर्वार्ता दिनुपर्ने रहेछ । धेरैजना कुकको लागि त्यहाँ पुगेका रहेछन्,’ उनी स्मरण गर्दै थिए, ‘खुल्ला आकाशमा सुत्नुपर्ने बाध्यता थियो । न खानको लागि केही थियो, न पानी नै थियो । उल्टो हल्ला गरे मारिदिने धम्की दिए।’

भोलिपल्ट राति इराकमा मारिएका १२ जना नेपालीलाई लिन तीनवटा जिप आएको थियो । खालिद र जमिम भन्ने दुई एजेन्टले बाँकी १२ नेपालीलाई भोलिपल्ट जिपमा राखेर करिब १० घन्टा उता लगेको थियो । ‘एउटा ठाउँमा पुगेपछि सबैको राहदानी जम्मा गरेर एजेन्टले लगे । ‘हामी कहाँ छौं केही आत्तोपत्तो थिएन,’ उनले भने । उनीहरू अर्को दिन इराक पुगे । त्यसपछि तातो हावाको अनुभव गर्दै गाडी ठूलो कारखाना जस्तो देखिने कम्पाउन्डभित्र छिरेको थियो । सबैजनालाई कन्टेनरजस्तोमा बस्ने व्यवस्था मिलाइएको थियो । अमेरिकीको क्याम्पको सुरक्षाको लागि खटिएका थिए उनीहरू । 
कुकको लागि लगिएका उनीहरुको त्यहाँ सरसफाइ गर्नुपर्ने काम थियो । हाल ललितपुरमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका उनी जोर्डन हिँडे पनि झुक्याएर इराक लगिएका थिए । ‘एक्कासि काम गरिरहँदा हलमा राखिएको टिभीमा हेर्दा १२ नेपाली मारिए भन्ने समाचार हेरेको थिएँ । त्यसपछि इराक पुगिएछ भन्ने थाहा भयो,’ उनले भने । बुलेटपुफ्र ज्याकेट लगाएर काम गर्नुपर्ने स्थिति थियो ।  त्यो समाचारले सबैलाई निराश बनाएको थियो । कारण, ती तिनै १२ नेपाली थिए, जो जोर्डनमा एकसाथ बसेका थिए। 

‘त्यहाँको माहोल भयानक थियो । हरेक क्षण बम बिस्फोटमात्र हुन्थ्यो,’ भट्टले सुनाए । करिब २० महिनापछि उनी इराकको अमेरिकी क्याम्पबाट नेपाल फर्कन पाएका थिए । ‘मलाई भाग्यले त्यहाँ पुराएको थियो । र, भाग्यले बाँचेर आएको थिए । मानव तस्करको जालोमा फसेको थिएँ । फर्कन राहदानी थिएन । भर्खरै छोरो जन्मिएको थियो । त्यो पीडामा एक्लै रुनुबाहेकको विकल्प थिएन।’

नेपाल सरकारले १२ जना नेपाली मारिँदासम्म पनि आफ्नो नागरिकको रक्षा गर्न नसक्दा भने उनी दुःखित थिए । इराकमा २०६१ साल भदौ १६ मा झापाका प्रकाश अधिकारी, धनकुटाका मंगलबहादुर लिम्बु, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका सञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोइरी, धनुषा महेन्द्रनगरका मनोजकुमार ठाकुर, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापा मारिएका थिए। 

 

प्रकाशित: १३ भाद्र २०७५ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App