७ वैशाख २०८१ शुक्रबार
विचार

सुरक्षा समस्या

केही समययता गम्भीर सुरक्षा संवेदनशीलताका घटना सार्वजनिक भइरहेका छन् । तर, त्यस्ता अपराध रोकथाम तथा अनुसन्धानमा तत्परता देखिन सकेको छैन । एकै प्रकृतिका आपराधिक घटना दोहोरिरहन्छन् भने त्यसमा रोकथामका उपायसमेत अवलम्बन गर्नुपर्ने हुन्छ । विशेषगरी बालिका र किशोरीमाथि भइरहेका जघन्य बलात्कार र हत्याका घटनाले हाम्रो मुलुकलाई गम्भीर मोडमा उभ्याएको छ।

कञ्चनपुरकी निर्मला पन्तको घटना सेलाउन नपाउँदै देशका विभिन्न भागमा त्यस्तै प्रकृतिका घटना समाचारका विषय बनेका छन् । राजविराजमा भएको सामूहिक बलात्कार वा कास्कीमा भइरहेका घटना ती सबैले चिन्ताको स्थिति पैदा गरेका छन् । हाम्रो समाजमा विकृति बढ्दै जानु पछाडिका कारणको अध्ययन पनि हुनु आवश्यक छ । पहिले पनि घटना हुन्थे, तर अहिलेजस्तो निरन्तर यस्ता घटना भएको अनुभव हामीलाई छैन । छिमेकी भारतमै पनि यस्ता घटना हुँदा नेपाललाई भने अन्तर्राष्ट्रिय जगत्मै सुरक्षित गन्तव्य मान्ने गरिएको हो।

हाम्रो मुलुकमा फैलिएका अहिलेका अपराधले अन्तर्राष्ट्रिय जगत्मा समेत नकारात्मक असर जाने अवस्था छ । यतिबेला गृहमन्त्रीको जिम्मेवारीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामबहादुर थापा रहेका छन् । गृह प्रशासन सञ्चालनमा उनको विशेष खुबी देखिन सकेको छैन। 

गृह मन्त्रालय सीधै नागरिकको दैनिक जीवनसँग जोडिन्छ । शान्तिसुरक्षाको अवस्था कमजोर हुँदा सर्वसाधारणमा निराशाको अवस्था पैदा हुन्छ । गृह मन्त्रालयले राम्ररी काम गरेन भने त्यसको सीधा प्रभाव प्रधानमन्त्रीमा पर्छ र उनको कार्यक्षमतामै यसले प्रश्न उठाउने अवस्था आउँछ।

सामान्यतः गृहमन्त्री भएको व्यक्तिलाई भविष्यमा प्रधानमन्त्रीका रुपमा समेत योग्य मानिन्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री हुँदा धेरै नाम कमाएका थिए । तत्कालीन नेकपा (एमाले)को तर्फबाट मनमोहन अधिकारी मन्त्रिपरिषद्मा उनी गृहमन्त्री हुँदा राम्रै प्रशंसा हासिल गरेका पनि हुन् । गृह प्रशासन सञ्चालनमा थापालाई अहिले निकै कठिनाइ भएको महसुस गर्न सकिन्छ । एक, उनी माओवादी पृष्ठभूमिबाट आएका र धेरैजसो त्यो दलले भूमिगत राजनीति गर्दा नियम कानुनभन्दा आदेशलाई नै सर्वोपरि मानेर गतिविधि गरेको हो।

दुई, गृहमन्त्री थापाभन्दा पनि उनका सहयोगी बढ्ता हाबी हुँदा पनि उनलाई समस्या परेको देखिन्छ । नेपाल प्रहरीको भूमिकाले सरकारको अनुहार कति राम्रो छ भन्ने प्रदर्शन गर्न सक्छ । तर, अति राजनीतिकरणले यसको व्यावसायिक क्षमता नै नाश भएको जस्तो देखिन्छ । नागरिकसँग दैनिक सम्पर्कमा प्रहरी नै हुने गर्छ । यसकारण पनि उसको भूमिकाले सरकारको लोकप्रियता–अलोकप्रियतामा भूमिका खेल्छ । तर, पछिल्ला घटनाक्रममा प्रहरीको भूमिका आफैँमा शंकाको घेरामा परेको छ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले खेलेको भूमिकाबाट सरकारप्रति नकारात्मक भावना बढाएको छ।

प्रधानमन्त्री ओलीले समेत त्यस प्रकरणमा प्रहरीको उचित भूमिका नभएको महसुस गरेका छन् । जुनसुकै घटनामा प्रहरीले सुरुमा काम गर्ने हुँदा त्यसले ठीकै गरिरहेको हुनुपर्छ भन्ने लाग्ने गरेकामा अब त्यसको भूमिकामै शंकाको अवस्था सिर्जना भएको छ । अझ घटनालाई ढाकछोप गर्न नक्कली व्यक्ति खडा गरी जबर्जस्ती अपराध कबुल गर्न लगाउने भूमिकाले प्रहरीलाई गम्भीर धक्का लाग्छ । घटनाको सुरु छानबिन, जानकारी प्राप्त हुनासाथ तदारुकताका साथ परिचालन र अनुसन्धान गर्न प्रहरी चुकेको अनुभव यसपटक भएको छ । प्रहरीले आफूप्रति गुम्दै गएको विश्वास आर्जनमा लाग्नुपर्छ।  

गृहमन्त्री थापाको तर्फबाट आफ्नो संयन्त्रलाई राम्ररी परिचालन हुन नसकेको देखिएको छ । हुँदाहुँदा उनका सहयोगीले भूमिका खेली पूर्व बालसेना लेनिन विष्टलाई त्रिभुवन विमानस्थलबाट थाइल्यान्ड उड्न नदिएको घटनाले समेत पुष्टि गरिसकेको छ । उनका सहयोगीकै आधारमा यो घटना भएको हो भने यसै पनि थापाले यसको जिम्मेवारी लिनुपर्छ । त्यो घटनामा के कसो भएको हो भन्ने तथ्य पनि उनले सार्वजनिक गर्नुपर्छ।

प्रधानमन्त्री ओली स्वयंले त्यो घटनाबारे आफूलाई थाहा नभएको जानकारी सोमबार सम्पादकहरूसँगको भेटका क्रममा दिएका छन् । यस घटनामा २४ घन्टे लिखित स्पष्टीकरण सोधिएको छ । वास्तवमा प्रधानमन्त्री ओलीलाई गृह मन्त्रालय सञ्चालनमा ढंग नपुग्दा अप्ठ्यारो भएको देखिन्छ । गृह मन्त्रालय सीधै नागरिकको दैनिक जीवनसँग जोडिन्छ।

शान्तिसुरक्षाको अवस्था कमजोर हुँदा सर्वसाधारणमा निराशाको अवस्था पैदा हुन्छ । गृह मन्त्रालयले राम्ररी काम गरेन भने त्यसको सीधा प्रभाव प्रधानमन्त्रीमा पर्छ र उनको कार्यक्षमतामै यसले प्रश्न उठाउने अवस्था आउँछ । मुलुकको वर्तमान शान्तिसुरक्षा स्थितिलाई ख्याल गर्दै नेपाल प्रहरीको व्यवसायिकता निम्ति सरकारको ध्यान जानुपर्ने अवस्था छ। 

 

प्रकाशित: १३ भाद्र २०७५ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App