coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महिला संघमा प्यानल प्रतिस्पर्धा

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलनिकट नेत्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। देउवा पक्षबाट उमा रेग्मी र पौडेल पक्षबाट मीना पाण्डेबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो। रेग्मी र पाण्डे दुवै संघका पूर्वअध्यक्ष हुन्। राष्ट्रिय सभागृहमा शुक्रबार बिहान साढे ९ बजेबाट सुरु हुने निर्वाचनमा दुवैपक्षले पदाधिकारीका साथै केन्द्रीय सदस्यसम्मै प्यानल बनाएका छन्।

महासचिवमा देउवा पक्षले कृष्णप्रसाद सिटौलानिकट धना खतिवडालाई अघि सारेका छन् भने पौडेलतिरबाट गोमा केसी खडा भएकी छन्। किरणकुमारी सरकारले पनि महासचिव दाबी गरेकी छन्। कोषाध्यक्षमा जानुकादेवी सिंह र कुसुमदेवी थापा मगरबीच प्रतिस्पर्धा हुनेछ। सिंह देउवा र मगर पौडेलनिकट हुन्।  

त्यस्तै, ५३ जना केन्द्रीय सदस्यका लागि १ सय २९ जनाको उम्मेदवारी परेको प्रचार समिति संयोजक र्निमला क्षत्रीले जानकारी दिइन्। उनका अनुसार खुलातर्फ २२ मा ४६, दलित तीनमा सात, जनजाति तीनमा चौध, मधेसी तीनमा आठ र मुस्लिम एकमा तीनको उम्मेदवारी परेको छ। प्रदेशबाट निर्वाचित हुने तीन/तीन सदस्यमा प्रदेश नम्बर १ बाट ६, प्रदेश २ बाट ६, प्रदेश ३ बाट ८, प्रदेश ४ बाट ७, प्रदेश ५ बाट ९, प्रदेश ६ बाट ६ र प्रदेश ७ बाट ९ जनाले उम्मेदवारी दिएका छन्।

दुवै पक्षका नेता प्यानलबाहिरबाट उम्मेदवारी दर्ता गराएकाको मनोनयन फिर्ता लिन सक्रिय भएपछि निर्वाचन समितिले अबेरसम्म अन्तिम सूची प्रकाशित गरेको छैन।

संघको संशोधित विधानअनुसार ६५ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनबाट अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित ५६ जना चयन हुनेछन्। २ हजार १ सय ६५ प्रतिनिधि सहभागी महाधिवेशनमा नयाँ नेतृत्वका लागि विद्युतीय मतदान हुनेछ।

दुवै पक्षका नेता आफ्ना उम्मेदवार जिताउन सक्रिय छन्। सभापति देउवाले महिला संघको सम्मानमा भन्दै महाधिवेशनको बन्दसत्र भएको स्थान भृकुटीमण्डपमै दिउँसो चियापना आयोजना गरे भने पौडेलनिकट कोषाध्यक्ष सीतादेवी यादवले बिहान लैनचौरमा त्यस्तै कार्यक्रम गरिन्।

बुधबारबाट सुरु महिला संघको तेस्रो महाधिवेशनअर्न्तगत बिहीबार भएको बन्दसत्रले राजनीतिक, आर्थिक, सांगठनिकसहित सात प्रतिवेदन पारित गरेको छ। त्यस्तै जिल्ला अध्यक्षले बन्दसत्रमा भाग लिएका थिए।

२००४ साउन २४ गते स्थापना भएको महिला संघको २०५८ मा विराटनगरमा पहिलो र २०६४ मा काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो।

यसैबीच, कांग्रेसको अर्को भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन कात्तिकका लागि सरेको छ। धेरै जिल्लाको अधिवेशन बाँकी रहेको भन्दै निर्देशक समितिले कात्तिक २७–२९ मा गर्ने गरी महाधिवेशन सारेको हो।   

प्रकाशित: ३१ भाद्र २०७३ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App