coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नीलबाराही नाच सुरु

भक्तपुर – थिमि बोडेको नीलबाराही नाच मंगलबार रातिदेखि सुरु भएको छ । मुख्य देवता नीलबाराही हुने नाच पाँच दिनसम्म चल्नेछ । स्थानीय प्रेमचन्द्र अदुवा श्रेष्ठका अनुसार नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ।

सात वर्षको उमेरदेखि हालसम्म निरन्तर नीलबाराही देवता बनेर नाच प्रदर्शन गर्दै आएका अदुवा श्रेष्ठका अनुसार नाचमा १९ देवताको सहभागिता रहने गरेको छ । उनका अनुसार नाचमा भैरव एक, बाराही चार, कुमारी चारज, सिंह चार, द्वारपाल दुई, गणेश चारको सहभागिता रहने गर्दछ । नाच अवधिभर देवता बन्नका लागि एक जना सहयोगी हुनुपर्दछ।

एक जना सहयोगी सागर अदुवा श्रेष्ठका अनुसार नाचका बालिने सुकुन्दा निभ्न दिनुहुँदैन । निभेमा देवता बन्नेको पेट दुख्ने, बान्ता हुने विश्वास गरिन्छ । देवता बन्नेले नाच अवधिभर मौन रहनु पर्छ । केही भन्नु परे इशारामार्फत भन्नु पर्दछ । देवता बन्ने व्यक्ति थाकेमा सहयोगीले आफ्नो काखमा बसाल्नु पर्दछ, भुइँमा बसाउन नहुने चलन छ।

यो वर्ष अन्य वर्षभन्दा एक नाच थपिने उनले जनाए । उनका अनुसार यो वर्ष १२ वर्षको नाच पनि नाचिनेछ । नाचमा सहभागी हुने सदस्यले कडा रुपमा नियमको पालना गर्नुपर्ने चलन रहेको छ । नीलबाराही देवता बनेर नाचमा सहभागी जनाउने व्यक्ति र उनको घरपरिवारका सदस्यले समेत नाच नसकिएसम्म निराहार बस्नुपर्ने चलन छ।

बोडेमा नचाइने नीलबाराही नाच तान्त्रिक विधिमा आधारित रहेको विश्वास गरिन्छ । किम्बदन्तीअनुसार नीलबाराही नाचको किम्बदन्तीअनुसार बोडेको खेतमा काम गरिरहेको एकजना धों थरका व्यक्ति अपहरण गरेर लगियो । उनलाई हाल नीलबाराही रहेको बोडे नजिकैको जंगलमा लगेर राखियो।

नीलबाराही मन्दिरसँगैको गंख्वचा भन्ने स्थानमा काम गरिरहेको उनलाई अपहरण गर्ने स्वयं नीलबाराही देवता थिए । पछि उनलाई जंगलमा नीलबाराहीको मन्दिर बनाउन र विशेष तान्त्रिक विधिअनुसार नीलबाराही गण नाच स्थापना गरी गण नाच सिकाएर पठाए।

नीलबाराही देवताको आज्ञा पालना गर्दै उनले नीलबाराही गण नाचको स्थापना गरी हरेक वर्ष नाच नचाउने प्रचलन सुरु गरेका स्थानीय बताउँछन् । त्यसकारण आजसम्म पनि देवगण नाचको लागि आवश्यक समान धों थरको घरबाट नै लिन जाने परम्परा चलिरहेको छ । साथै नाच सकिएको भोलिपल्टै पुन धों थर हुनेहरुलाई नै फिर्ता गर्नुपर्ने चलन यद्यापि चलिआएको छ।

प्रकाशित: १३ भाद्र २०७५ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App