८ वैशाख २०८१ शनिबार
समाज

पाहुनाका लागि तीनवटा रुट

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने (भिभिआइपी ) राष्ट्रप्रमुखको सवारी रुट निर्धारण गरेको छ।

महाशाखाले सम्मेलनमा आउने अतिविशिष्ट पाहुनाको सवारीलाई लक्षित गरेर उपत्यकामा तीनवटा रुट तयार पारेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल सोल्टी होटलसम्म तीनवटा सवारी रुट तय गरिएको छ।

ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरेको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ।

त्यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ । महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले विशिष्ट व्यक्तिको सवारीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा विभिन्न रुट निर्धारण गरिएको बताए । ‘विशिष्ट पाहुनाको सवारीलाई लक्षित गरेर मुख्य र वैकल्पिक रुट निर्धारण गरेका छौं । विशिष्ट व्यक्तिको सवारी कुन रुट हुन्छ भन्ने अहिल्यै भन्न सकिँदैन,’ उनले भने, ‘सुरक्षा परिषद्को बैठकले जुन रुटको प्रयोग गर्ने निर्देशन दिन्छ त्यसअनुसार नै सवारी हुनेछ ।’ दाहालका अनुसार विशिष्ट व्यक्तिलाई तीमध्ये जुनसुकै रुटबाट पनि सम्मेलनस्थल लैजान सकिनेछ।

महाशाखाका अनुसार विमानस्थलदेखि सम्मेलनस्थल सोल्टी होटलसम्म राष्ट्रप्रमुखलाई २० देखि ३० मिनेटको अवधिमा पु¥याइनेछ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यान्मारका प्रधानमन्त्री बिन मिन्ट र भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक आउने कार्यक्रम छ । भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनका लागि मंगलबार नै म्यान्मारका प्रधानमन्त्री बिन मिन्ट मंगलबार नै काठमाडौं आएका छन्।

अन्य देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री बुधबार र बिहीबार बिहान आउने कार्यक्रम छ । भदौ १४ गते बिहान भारत र थाइल्यान्डका प्रधानमन्त्री काठमाडौं आउने कार्यक्रम रहेकाले बिहीबार ट्राफिक समस्या धेरै हुने अनुमान गरिएको छ । दुवै प्रधानमन्त्री फरकफरक समयमा विमानस्थलदेखि होटलसम्मको यात्रा गर्नेछन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवा भोजका लागि राष्ट्रप्रमुखहरू शीतलनिवास जाने कार्यक्रम रहेको छ । दिवाभोज सकिएसँगै सबै अतिथि शीतलनिवास, लाजिम्पाट, लैनचौर, जमल, सहिद गेट, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटल पुग्ने कार्यक्रम तय गरिएको छ।

१४ र १५ गते विद्यालय बिदा
सरकारले बिमस्टेक सम्मेलनलाई दृष्टिगत गरी भदौ १४ र १५ गते विद्यालय बिदा दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरेर दुई दिन काठमाडौं, ललितपुर र भक्तपुरका शिक्षण संस्थामा बिदा दिइएको जनाएको छ । बिमस्टेक चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले बिदा दिइएको मन्त्रालयको सूचनामा जनाइएको छ।

५०–५० मिटरमा सुरक्षाकर्मी
बिमस्टेकलाई लक्षित गरेर महानगरीय ट्राफिक महाशाखाले एक हजार ६ सय ट्राफिक प्रहरी सडकमा खटाउने भएको छ । महशाखाका प्रहरी निरीक्षक दाहालका अनुसार ५० मिटरको अन्तरमा एकजना ट्राफिक प्रहरी सडकमा खटिनेछन् । ‘अतिविशिष्ट व्यक्तिको सवारी हुँदा सडक पूर्णतया खाली गराइनेछ,’ प्रहरी निरीक्षक दाहालले भने, ‘विशिष्ट व्यक्तिको सुरक्षालाई लक्षित गरेर अन्य सवारीसाधन अन्यत्रै डाइभर्सन गरिनेछ।’

बुधबार बिजोर सवारीमात्रै सञ्चालनमा
महाशाखाका अनुसार बिमस्टेक सम्मेलन अवधिभर काठमाडौं उपत्यकामा सवारीसाधन जोरबिजोर प्रणालीमा चलाइने भएको छ । बिमस्टेक सम्मेलनमा हुने सवारीजामलाई लक्षित गरेर जोरबिजोर प्रणाली लागू गरिसकेको छ । महाशाखाका अनुसार भदौ १३ गते (बुधबार) र १५ गते (शुक्रबार) बिजोर नम्बर प्लेटका सवारीसाधन मात्रै उपत्यकाका सडकमा चलाउन पाइनेछ।

जोरबिजोर प्रणाली निजी, भाडा र पर्यटक सबै सवारीसाधनमा लागू हुनेछ । भदौ १४ गते जोर नम्बर प्लेटका सवारीसाधन मात्रै गुडाउन पाइनेछ । विशिष्ट पहुनाको सवारी भइरहेका बेला एम्बुलेन्स र दमकललाई भने निर्बाध रूपमा सञ्चालन गर्न दिइने महाशाखाले जनाएको छ । जोरबिजोर प्रणाली दुईपांग्रे र त्योभन्दा माथिका सवारीसाधनमा लागू गरिनेछ । महाशाखा प्रमुख वसन्तकुमार पन्तले बिमस्टेक सम्मेलनलाई लक्षित गरेर भदौ १३देखि १५ गतेसम्म तीन दिन जोरबिजोर नम्बर प्लेटका आधारमा सवारीसाधन चलाउनुपर्ने बताए । उनले भने, ‘अतिविशिष्ट अतिथिको सवारी व्यवस्थित गर्न जोरबिजोर लागू गरेका हौं।’

महाशाखाका प्रहरी निरीक्षक दाहालका अनुसार मन्त्रीस्तरीय निर्णयबाट लागू भएको जोरबिजोर प्रणाली कार्यान्वयन नगर्ने सवारीसाधनलाई कारबाही गरिने जनाएको छ । ‘जोरबिजोर प्रणाली कार्यान्वयन नगर्ने सवारीसाधनलाई ठाउँको ठाउँ समातेर कारबाही प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने, ‘नियम पालना नगर्ने सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक कारबाही गरिनेछ ।’ अत्यावश्यक सवारीसाधन एम्बुलेन्स र दमकल, बिमस्टेकको कार्ड होल्डर र सूचना विभागको पास हुनेका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुनेछैन । भदौ १३ गतेदेखि १५ गतेसम्म बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म जुनसुकै नम्बर प्लेटका सवारीसाधन गुड्न सक्नेछ।

खुलामञ्चको बसपार्क बन्द गरियो
बिमस्टेक सम्मेलनलाई लक्षित गरेर खुलामञ्चमा रहेको पुरानो बसपार्क चार दिनलाई बन्द गरिएको छ । बिमस्टेक सम्मेलनमा आउने राष्ट्रप्रमुखलाई खुलामञ्चको टुँडिखेलमा राष्ट्रिय सम्मान गरिने भएकाले खुलामञ्चको बसपार्क बन्द गरिएको हो ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चस्थित पुरानो बसपार्क भदौ १२ गतेदेखि १६ गतेसम्म बिमस्टेक सम्मेलनको तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतसम्भार गर्न पाँच दिनका लागि बन्द गरिएको सूचना टाँसेको छ । महाशाखाका प्रहरी निरीक्षक दाहालले पुरानो बसपार्कबाट बनेपा तथा अरनिको राजमार्गमा चल्ने सवारीसाधन डाइभर्सन गरेर गंगबु बसपार्क लैजाने व्यवस्था गरिएको बताए।

उनका अनुसार अरानिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधन कोटेश्वर–सातदोबाटो, बल्खु, कंलकी हुँदै नयाँबसपार्कतर्फ डाइभर्सन गरिएको छ । नयाँबसपार्क हुँदै ती सवारीसाधन बनेपालगायतका क्षेत्रमा जान पाउनेछन् । उक्त नियम भदौ १५ गतेसम्म लागू गरिनेछ । थानकोट, कीर्तिपुर, जोरपाटी साँखु, दक्षिणकालीलगायतका स्थानबाट आउने सवारीसाधनलाई रत्नपार्कमा पिक एन्ड ड्रपको मात्रै व्यवस्था गरिएको छ।

प्रकाशित: १३ भाद्र २०७५ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App