८ वैशाख २०८१ शनिबार
राजनीति

ओली–नेपाल खटपट

काठमाडौं – तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ । जिल्ला कमिटीहरूमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरूलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ।

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपालनिकट नेताहरु काठमाडाैं आउन थालेका छन् । नेतृत्व चयन गर्दा बदनीयत राखेर अन्याय गरिएको भन्दै अर्घाखाँची जिल्लाका पुराना नेता रामबहादुर चौहान काठमाडौं आएका छन् । तत्कालीन एमाले जिल्ला सचिव रहेका चौहान अध्यक्ष चेतनारायण आचार्य प्रदेशसभा सदस्य र उपाध्यक्ष जीवनारायण कोइराला पार्टीको प्रदेश समिति सदस्य भएकाले वरियताक्रमअनुसार अध्यक्ष आफू हुनुपर्ने दाबी गर्छन्।

तर जिल्लास्थित कार्यदलले भने चौहानलाई जानकारीसमेत नगराई २०६९ को अधिवेशनमा उनैसँग जिल्ला सचिवमा पराजित पिताम्बर आचार्यलाई अध्यक्षमा सिफारिस गरेर अनुमोदनका लागि प्रदेश समितिमा पठाएको छ । आफूलाई जानकारीसमेत नगराई जुनियरलाई अध्यक्षमा रिफारिस गरिएपछि उनी असन्तुष्ट भएका हुन् । चौहान जबरजस्ती नेतृत्व चयन गर्ने कार्यदललाई कारबाही गर्नुपर्ने बताउँछन्।

प्रदेश नम्बर ४ र ५ का अधिकांश जिल्लामा आफूहरूलाई पेलेर ओली पक्षले एकलौटी रुपमा जिल्ला नेतृत्व सिफारिस गरेको नेपाल पक्षको आरोप छ।

पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भई बनेको नेकपामा जिल्ला तहको नेतृत्व बाँडफाँट भएको छ । अर्घाखाँची पूर्वएमालेको भागमा परेको छ । त्यस्तै पूर्वएमालेको भागमा परेको बाँकेमा पनि जिल्ला नेतृत्व चयनमा विवाद देखिएको छ । त्यहाँ पनि ओली पक्षले माधव नेपाल समर्थक नेतालाई पेलेर जिल्ला अध्यक्ष सिफारिस गरेको छ । रोल्पा, कञ्चनपुरसँगै प्रदेश नम्बर ४ र ५ का अधिकांश जिल्लामा आफूहरूलाई पेलेर ओली पक्षले एकलौटी रुपमा जिल्ला नेतृत्व सिफारिस गरेको नेपाल पक्षको आरोप छ।

‘साथीहरूलाई पेलेर जिल्ला नेतृत्व सिफारिस भएका कतिपय घटना बाहिर आइसकेका छन् । कतिपयले शीर्ष नेतालाई भेटेर आफ्ना गुनासा राखिरहेका छन्,’ नेपालनिकट एक केन्द्रीय सदस्यले भने । नेपाल पक्षले विधिमा टेकेर नेतृत्व सिफारिस गर्नुपर्नेमा ओली पक्षले त्यसलाई लत्याएको आरोप लगाएको छ । ‘कार्यदल भनेको के हो ? कार्यदल सर्वेसर्वा हो भने पर्याप्त छलफलबिनै गुटका नेता किन रिफारिस भइरहेका छन् ?’ ती नेताले पार्टी अध्यक्ष ओलीप्रति लक्षित गर्दै प्रश्न गरे । नेपाल पक्षले कार्यदलले अन्तक्रियात्मक र सहभागितात्मक हिसाबले निर्णय नगरी व्यक्तिलाई टिपेर सिफारिस गरिरहेको आरोप लगाएको छ । जिल्ला कमिटिका पूर्वपदाधिकारीसँग पर्याप्त छलफल गरी एउटा मापदण्ड बनाएर अघि बढे समस्या उत्पन्न नहुने नेपाल पक्षको भनाइ छ । पार्टी अध्यक्ष ओली पक्ष जबरजस्ती पेलेर अघि बढेकाले समस्या आएको ती नेताले बताए।

हाल विवाद भइरहेका जिल्लामा नेतृत्व सिफारिस कार्यदलले अन्तरक्रिया नै नगरी एकलौटी नाम सिफारिस गरेको नेपाल पक्षको आरोप छ । वरियता मिचेर ‘आफ्ना’ समूहका मान्छेलाई नेतृत्वमा ल्याउने ओली पक्षको प्रवृत्तिले विवाद निम्त्याएको र नेतृत्वले बुद्धिमतापूर्ण तरिकाले समयमै समस्या सम्बोधन नगरे यसले विकराल रुप लिने नेपाल पक्षको तर्क छ । ‘केही जिल्लामा सर्वसम्मत रुपमा पनि नेतृत्व सिफारिस भएको छ । अन्तक्रिया र हिजोको समितिलाई आधार बनाएर वरिष्ठतालाई उचित स्थान दिएका ठाउँमा विवाद छैन तर जबरजस्ती नाम सिफारि भएका ठाउँमा विवाद चुलिने अवस्थामा छ,’ नेकपाका एक नेताले भने, ‘हिजोको कार्यसमितिका अध्यक्षले दाबी नगरेको अवस्थामा उपाध्यक्ष र सचिवलाई प्राथमिकता दिनुपर्याे । अध्यक्ष, उपाध्यक्ष, र सचिवले समेत दाबी नगरेको अवस्थामा मात्र अन्य विकल्प खोज्नुपर्याे । विधिले काम गर्नुपर्याे ।विधिगत ढंगले अघि नबढ्ने हो भने असन्तुष्टि बढ्छ्।’

हाल पार्टी एकीकरण चरणमा रहेकाले यसमा न्यायसंगत निर्णय नभए सहज ढंगले अघि बढन कठिन हुने नेपाल पक्षको तर्क छ । यसले बाह्य तत्वलाई पनि फाइदा पुग्ने असन्तुष्ट नेताहरुको भनाइ छ । पूर्वएमालेको भागमा परेका समितिमा निवर्तमान जिल्ला समितिका वरिष्ठ नेताले नेतृत्वमा पहिलो प्राथमिकता पाए गुटउपगुटको अवस्था नै नआउने नेपाल पक्षको भनाइ छ । जिल्ला तहमा अन्यायमा परेका कार्यकर्तालाई संरक्षण गर्नु नेताको दायित्व भएको नेपाल पक्ष बताउँछ । ‘कार्यकर्ता अन्यायमा पर्दा केपी ओली वा माधव नेपाल जो भए पनि हेरेर बस्न मिल्दैन, बोल्नुपर्छ,’ नेपाल निकट ती नेताले भने।

नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा विधिसम्मत ढंगले अघि नबढे पार्टी सञ्चालनमा समस्या आउने बताउँछन् । ‘नेतृत्व चयन गर्न विभिन्न कार्यदल बनेका छन्, ती कार्यदलले विधिसम्मत ढंगले काम गरे कुनै समस्या हुँदैन,’ खतिवडाले भने।

प्रकाशित: १३ भाद्र २०७५ ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App