६ वैशाख २०८१ बिहीबार
खेल

‘दोषी देखिए कारबाही गर्छाैं’

कुरासमा नेपालका उपेन्द्र थापा (हरिया) उज्बेक खेलाडीसँग प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्यः राखेप

काठमाडौं – एथलेटिक्सको २ सय मिटर दौडका प्रतिस्पर्धी यामसाजन सुनार खेलअघि खुट्टामा चोट लागेको कारण देखाउँदै मंगलबार नेपाल फर्किएका छन् । उनले चोटका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलाई चिठी बुझाएर स्वदेश फिर्ता भएका थिए। 

सेभ द मिसन राखेप सदस्यसचिव विष्टका अनुसार सुनारले सोमबार इन्डोनेसियामा भएको व्यवस्थपकहरूको बैठकमा आफूले प्रतिस्पर्धा गर्न नसक्ने जनाएका थिए। 

‘नेपाल फर्किएपछि सुनारले प्रतिस्पर्धा नगरेकोबारे छानबिन गर्छौं । उनी दोषी ठहरिए कारबाही गर्छौं,’ सदस्यसचिव विष्टले भने, ‘इन्डोनेसियामा सहभागी सबै खेलका पदाधिकारीसँग अनुशासनसम्बन्धी रिपोर्ट माग गर्छाैं। कुनै गल्ती भएको रहेछ भने सोहीअनुसार कारबाही पनि गर्छाैं।’

एसियाली खेलकुदमा आशाभन्दा निराशा बढी भएको भन्दै विष्टले आगामी दिनमा खेलकुदको विकासका लागि ठोस योजनासहित अगाडि बढ्नुपर्ने समय आएको बताए । दुई सय मिटर दौडमा सहभागी नभएका यामसाजन सुनारलगायत  एथलेटिक्सका अन्य खेलाडीहरू सोमबहादुर कुमाल, कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की मंगलबार स्वदेश फर्किएका हुन्। 

एसियाली खेलकुदमा तीन दशकपछि भलिबलमा सहभागिता जनाएको नेपाली पुरुष भलिबल टोलीले मंगोलियालाई ३–१ को सेटमा पराजित गरेको छ। 

मंगलबार भएको स्पर्धामा नेपालका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए । महिलातर्फ ५ हजार मिटरको दौडमा नेपालकी विश्वरूपा बुढाले १३औं स्थान प्राप्त गरेकी छिन् । १५ जना सहभागी स्पर्धामा बुढाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरेकी थिइन् । विश्वरूपाले १० हजार मिटर दौड र उसुका वीरमान लामाले प्रतियोगितामा भाग नलिएकोमा पनि सदस्यसचिव विष्टले छानबिन गरी कारबाही गर्ने बताएका छन्। 

पुरुष भलिबल टोलीले समूहको अन्तिम खेलमा सुखद नतिजा निकालेको छ । एसियाली खेलकुदमा तीन दशकपछि भलिबलमा सहभागिता जनाएको नेपाली पुरुष भलिबल टोलीले मंगोलियालाई ३–१ को सेटमा पराजित गरेको हो। 

पहिलो सेट २८–२६ ले गुमाए पनि बाँकी सेटमा नेपालले पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१६ ले जित्दै १–१ को बराबरी गरेको नेपालले तेस्रो सेटमा ३०–२८ को संघर्ष पूर्ण जित निकाल्न सफल भयो । अन्तिम सेटमा २५–१९ को जित दर्ता गर्दै नेपाली भलिबल टोलीले जकार्तामा जारी एसियाली खेलकुदमा पहिलो जित दर्ता गरेको हो। 

एसियाली खेलकुदअन्तर्गत समूह ‘डी’ मा रहेको नेपालले यसअघि चाइनिज ताइपेई र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो।

सेपाकताक्रोअन्र्तगत मंगलबार भएको स्पर्धामा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको छ । जेएससी हलमा भएको खेलमा नेपाल भियतनामसँग २–० पराजित भएको हो । रूपेश सुनार, दीपेशजंग थापा, गोविन्द मगर, सञ्जित धिमाल र रोविन भट्टराई सम्मिलित नेपाली टोलीले भियतनामका खेलाडीसामु खुलेर खेल्न सकेनन्।

स्क्वासमा पनि नेपाली पुरुष टोलीको यात्रा मंगलबार समाप्त भएको छ । जापानको टोलीसँग ३–० ले पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको हो । नेपालको तर्फबाट अमृत थापामगर, अरहान्तकेशर सिंह, ज्ञानु चौधरी र राजेन्द्र शाक्यले नेपालको प्रतिनिधित्व गरेका थिए। 

कुँरासको पुरुष ६६ केजी तौलसमूहमा उज्बेकिस्तानका रुस्लान बुरिभसँग १०–० पराजित हुँदै नेपालका उपेन्द्र थापा अन्तिम १६ बाट बाहिरिएका छन् । यसअघि उपेन्द्रले पाकिस्तानका सेद सामुल्लाहमाथि १–० को जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका थिए । मंगलबारै भएको महिला स्पर्धामा नेपालकी भगवती माझी अन्तिम ३२ बाट बाहिरिएकी छिन् । उनी चाइनिज ताइपेईकी च्यावेन सउसँग १०–० ले पराजित भएकी हुन्। 

नेपालका नेरिश थापा मंगलबार भएको स्केटबोर्डमा १४औं स्थानमा आएका छन् । प्रारम्भिक चरणको पहिलो खेलमा नेपालका थापाले १४.३ अंक बनाएका थिए । पदकको अपेक्षा गरिएको अर्को खेल जुडोमा नेपाली खेलाडीले बुधबारबाट प्रतिस्पर्धा गर्दै छन् । जुडोमा नेपालका तर्फबाट ८ खेलाडीले सहभागिता जनाउँदै छन्। 

महिलातर्फ ओलम्पियन तथा दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता फुपूल्याम्हू खत्री, देविका खड्का, मनिता श्रेष्ठ प्रधान र पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् । पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ, सञ्जित डंगोल, श्रीराम मकाजु र रोविन श्रेष्ठले नेपालको चुनौती पेस गर्नेछन्। 

प्रकाशित: १३ भाद्र २०७५ ००:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App