coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस सर्लाहीमा चरम गुटबन्दी

सर्लाही– नेपाली कांग्रेस सर्लाहीमा चरम गुटबन्दी देखिएको छ। महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा जिल्लास्तरीय नेता कार्यकर्ताले गुट उपगुटका कारण पार्टीको अवस्था धराशायी हुँदै गएको गुनासो समेत गरे। केन्द्रीय महामन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सभापति नागेन्द्र कुमार रायसहित उनी निकटका नेता कार्यकर्ताको मञ्चमा उपस्थिती नै थिएन।

कार्यक्रममा बोल्दै पूर्व जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालले गुट उपगुटका कारण उर्वर भूमि सर्लाहीमा दिन प्रतिदिन कांग्रेसको अवस्था खस्कँदै गएको महामन्त्री कोइराला समक्ष गुनासो गरे। ‘गुट उपगुटका कारण पार्टी क्षतविक्षत भएको छ’, खनालले भने, ‘महामन्त्रीज्यू अब तपाईंको हातमा पार्टीलाई एकढिक्का बनाउनुपर्ने ठूलो जिम्मेवारी छ।’

त्यस्तै जिल्ला कोषाध्यक्ष बाबुकाजी प्रधानले तीनवटै तहको निर्वाचनमा कांग्रेसले विपक्षीबाट नभई गुट उपगुटका कारण लज्जास्पद पराजय व्यहोर्नु परेको धारणा व्यक्त गरे। ‘पछिल्ला निर्वाचनमा कांग्रेस विपक्षीबाट हैन कांग्रेसीकै कारण हार व्यहोरिरहेको छ’, उनले भने, ‘अबपनि केन्द्रीय नेतृत्व आफै सच्चिएर मातहतमा समेत उचित पहलकदमी नलिए कांग्र्रेस थप धराशायी हुँदै जानेछ।’

नेपाली कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा अन्तरघातको आरोपमा कारबाही सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा कार्यक्रम आयोजना गर्न लागिएकाले जिल्ला सभापति नागेन्द्रकुमार रायले कार्यक्रममा उपस्थिती नजनाएको उनी निकट एक कार्यकर्ताले जानकारी दिए। आफ्नो गृह जिल्लामा केन्द्रीय महामन्त्री कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम चलिरहँदा जिल्ला सभापति एवं संघीय सांसद् राय प्रतिनिधि सभा बैठकमा सहभागिता जनाइरहेका थिए। जिल्ला सभापति राय केन्द्रीय सभापति शेरबहादुर देउवा निकट हुन्।

साबिक क्षेत्र नं. ४ र हाल २ नं. क्षेत्रीय समितिका अध्यक्ष दिनेश मिश्रको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला कार्यक्रम भएको हो। मिश्रलाई अनुशासन समितिले अन्तरघात गरेको आरोपमा कारबाही सिफारिस गरेको एक कार्यकर्ताले बताए।

पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व उपसभापतिविनोद खनाल, पूर्व सभास्द रामचन्द्र चौधरी लगायत नेताहरुको समूहले महामन्त्री कोइरालालाई सर्लाही ल्याएर कार्यक्रम गरेका हुन्। यसअघि पनि पटक–पटक जिल्ला सभापतिलाई थाहै नदिई जिल्ला स्थित नेता कार्यकर्ताको समूहले विभिन्न केन्द्रीय नेतालाई ल्याएर कांग्रेसको कार्यक्रम हुँदै आएको छ। 

कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कुनै पनि गुट उपगुटमा नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। ‘हामी भित्रैको गुटउपगुटका कारणले पार्टीले विभिन्न निर्वाचनमा पराजय व्यहोर्नु परेको हो’, उनले भने, ‘त्यसैले पार्टी भित्रको गुट उपगुट अन्त्य हुनुपर्छ।’

गुटउपगुट अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउनका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको पष्ट्याउँदै महामन्त्री कोइरालाले उपस्थित कार्यकर्तालाई पनि एकढिक्का हुन आग्रह गरे। ‘गुट उपगुट अन्त्यका लागि बरु म कुनै पदमा पनि बस्दिन’, उनले भने, ‘पार्टीलाई एकढिक्का बनाउन सबैले आ–आप्mनो ठाउँबाट त्याग गर्न सक्नुपर्छ।’

प्रकाशित: १२ भाद्र २०७५ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App