७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल दिल्लीमा, मुख्य वातचित आज

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको पहिलो दिन दिल्लीमा निकै व्यस्त रहे। बिहीबार अपराह्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दाहाल रातिसम्म विभिन्न भेटघाट र छलफलमा सहभागी भए। भ्रमणको दोस्रो दिन शुक्रबार महत्वपूर्ण छलफल हुने कार्यतालिका बनाएका दाहालले पहिलो दिन भारतीय नेसनल पार्टीका महासचिव डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी तथा अखिल भारत नेपाली एकता मञ्चका आबद्ध प्रवासी नेपालीसँगको छलफलमा सहभागी भए।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा चारदिने औपचारिक भ्रमणमा भारत गएका दाहाललाई विमानस्थलमा विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन्। प्रधानमन्त्री भएको एक महिना ११ औं दिन भारत भ्रमणमा गएका दाहालले शुक्रबार भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीसहित वित्त र विद्युतमन्त्रीसँग भेटघाट कार्यक्रम रहेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।

भारत भ्रमणअघि नै दाहालले यसपटक भारतसँग कुनै नयाँ सन्धि, सम्झौता नहुने बताए पनि यसअघिका  सहमति कार्यान्वयनमा पुनः पहल हुने परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ। दाहालको भ्रमणमा हुलाकी राजमार्ग, मुजफ्फर–ढल्केवर विद्युत प्रसारण लाइनलगायत विषयमा छलफल र सहमति हुने बताइएको छ।

भारत भ्रमणमा जानुअघि दाहालले यसपटकको भ्रमण दुई देशबीच सम्बन्ध सुधारमा केन्द्रित रहेको बताएका थिए। दिल्लीमा दाहालसँगको भेटघाटपछि भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीले नेपालका भूकम्पपीडितका लागि सहयोगस्वरुप आठ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। उक्त भेटमा दाहाल र यचुरीबीच नेपालको पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको थियो। नेपाली दूतावासमा आयोजित अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रममा दाहालले संविधान संशोधनबारे चर्चा गरे।

कार्यक्रममा बोल्दै दाहालले मधेसी, थारु, जनजातिका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताए। असन्तुष्टि समूहको माग सम्बोधन हुने गरी संविधान संशोधन नगरे संविधान कार्यान्वयन नै गर्न नसकिने उनको भनाइ थियो। मञ्चको छलफलपछि दाहाल दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सरिक भए।

दाहालको बसाइँ राष्ट्रपति भवनमा

भारत सरकारले दाहालको भ्रमणलाई राजकीय भ्रमण रहेको जनाएको छ। दाहालको बस्ने व्यवस्था राष्ट्रपति भवनमा मिलाइएको छ। शुक्रबार दाहाललाई भारतीय सेनाले 'गार्ड अफ अनर' दिने कार्यक्रम छ। महत्वपूर्ण व्यक्तिसँगको भेटघाटपछि दाहाल-मोदीले संयुक्त विज्ञप्ति जारी गर्ने बताइएको छ।

निधिलाई कार्यवाहक

दाहाल भारत भ्रमणमा गएपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि कार्यवाहक प्रधानमन्त्री भएका छन्। मन्त्रिपरिषद्को वरिष्ठ सदस्यको हैसियतले निधिलाई कार्यवाहक दिइएको हो। दाहालसँग परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका सचिव, उद्योग व्यवसायी भारत भ्रमणमा गएका छन्। प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपा नेपालका प्रतिनिधि भने भ्रमण टोलीमा सहभागी छैनन्।

परराष्ट्र मन्त्रालयले बुधबार अबेर मात्र भ्रमण टोलीमा सदस्य पठाउन खबर गरेकाले तयारी नपुगेको एमालेका एक नेताले जनाए। भारत भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा दाहाललाई सभामुख ओनसरी घर्ती, निधिलगायतले बिदाइ गरेका थिए। चारदिने भारत भ्रमण क्रममा प्रधानमन्त्री दाहाल हिमाञ्चलको नाथपा झाँक्री जलविद्युत आयोजनास्थल पनि पुग्ने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७३ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App