coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बिमस्टेक सचिवस्तरीय बैठक: प्राथमिकता क्षेत्र समीक्षा, वडापत्र निर्माण र प्रसारण लाइनबारे सहमति

मंगलबार काठमाडौंमा बसेकाे बिमस्टेकको सचिवस्तरीय बैठक। तस्बिर : दिपेश श्रेष्ठ

 काठमाडौ– बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल(बिमस्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ।

राजधानीको सोल्टी होटलमा सम्पन्न बैठकले बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए।

बैठकमा बिमस्टेकका सरोकारका १४ वटा विभिन्न प्रतिवेदनमा छलफल भएको थियो। ब्यापार तथा लगानी, यातायात तथा सञ्चार, सीमापार अपराध, प्रतिआतंकबाद, गरिबी निवारण, कृषिलगायतका विषयका प्रतिवेदन बैठकमा पेश भएका थिए।

बैठकले बिमस्टेकले हाल तय गरेका १४ वटा प्राथमिकता क्षेत्रलाई पुनर्विचार गर्ने सहमति गरेको छ। ‘प्राथमिकताका क्षेत्रमध्ये केहीलाई एकीकृत गर्ने, केही हटाउने र केहीलाई थप प्राथमिकता दिने गरी पुर्नविचार गर्नेमा सहमति भएको छ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पौड्यालले भने।

१९औ चरणको सचिवस्तरीय बैठकले बिमस्टेकको वडापत्र बनाउने विषयमा पनि सैद्दान्तिक सहमति कायम गरेको छ। चौथो शिखर सम्मेलनका लागि चासोका साथ हेरिएको अन्तरदेशीय विद्युत् प्रसारण लाईन (पावर ग्रीड इन्टरकनेक्सन) सम्झौता गर्न यो बैठकमा सहमति जुटेको छ।

बैठकले बिमस्टेक सचिवालयले पेश गरेका प्रशासनिक तथा प्राविधिक प्रस्तावहरु पनि पारित गरेको छ। भोलि बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्नेछ। उक्त बैठकले शिखर सम्मेलनका एजेन्डालाई अन्तिम रूप दिनेछ।

प्रकाशित: १२ भाद्र २०७५ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App