७ वैशाख २०८१ शुक्रबार
समाज

प्रशासन भन्छ : पप्पुलार्इ कारवाही गर्ने कानुनी आधार छैन्

सिन्धुली– गत शुक्रबार कमला नदी पार गर्ने क्रममा दुधौली नगरपालिकाकै ६५ बर्षिय मलेसी दनुवारको ज्यान गयो।  लामो समयदेखि कमलामा निर्माणधिन पुल नबनेपछि बर्षेनी यहाँका स्थानीयले ज्यान गुमाउँदै गएका छन्। पप्पु कन्ट्रक्सनको लापरवाहीले सिन्धुलीको दुधौली नगरपालिका ३ झुगा र दुधौली नगरपालिकाकै वडा नं. २ हत्पते जोड्ने कमला नदीमा निर्माणधिन पक्की पुल आठ बर्षदेखि अलपत्र अबस्थामा परेको नदी पार गर्दा कतिबेला कसको ज्यान जान्छ भन्नेमा स्थानीय सधै त्रसित छन्। आठ बर्षअघि औपचारिक रुपमा तामझामसहित शिल्यान्याश भएको पुलको आधासमेत काम हुन नसकेको स्थानीय बताउँछन्। 

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले काम नगर्ने ठेकेदारलाई आफूहरुले कारवाही गर्न सक्ने अधिकार नभएको र सडक विभागले नै हेर्ने बताए। ‘अब सडकले नै हेर्ने भनिएको छ’, प्रजिअ ढकालले भने, ‘हामीले कारवाही गर्न सक्दैनौ।’

विश्व बैंकको ३२ करोड आर्थिक सहयोगमा आर्थिक बर्ष ०७२/०७३ मै निर्माण सम्पन्न हुने गरी पप्पु–लुम्बीनी जेभिले उक्त पुल निर्माणको जिम्मा लिएको भएपनि हालसम्म ६० प्रतिशत पनि काम हुन नसकेको स्थानीय बताउँछन्। पाँच सय ४६ मिटर लामो उक्त पुलको पिल्लरको काम चार बर्ष अगावै सकिएको भएपनि बाँकी काम हालसम्म हुन नसकेको दुधौली नगरपालिका कार्यालयले जनाएको छ। कन्ट्रक्सनको लापरवाहीले लामो समयदेखि पुलको अलपत्र हुँदा ८ बर्षमा ३५ जना बढीले कमला नदी पार गर्ने क्रममा ज्यान गुमाईसकेको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले जानकारी दिए। ‘पुलमाथिबाट नदीको वारपार गर्ने सपना बोकेको झन्डै चार बर्ष बढी भयो, तर चारवर्ष अगाडि जति निर्माण भयो त्यतिमै अलपत्र पारेर ठेकेदार कता हराए पत्तो छैन’, प्रवक्ता राउतले भने, ‘गृहमन्त्रीले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने अभियान चलाएको समयमा हामीले यो पुलको जानकारी गराउन मन्त्रालयमै गयौ, तर कारवाही भएको थाहा छैन।’ उनले पुल नभएकै कारण बर्षेनी आधादर्जन बढीले ज्यान गुमाउने गरेको जनाए। 

निर्माणधिन पुल अलपत्र पारेर निर्माण कम्पनीको मेनेजिङ डाइरेक्टर हरिनारायण रौनियारले कमलानीको पुलको नबनाई बर्षेनी दर्जनौको ज्यान लिइ रहेको स्थानीयको आरोप छ। पुल निर्माण नभई अलपत्र पारेका कारण यहाँका स्थानीयले बर्षेनी ज्यान गुमाउनु परेको छ, तर ठेकेदार भने जनताको काम गर्छु भनेर बचन दिएर पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी बने यस्तो ठेकेदारबाट जनताले कस्ता विकासको अपेक्षा गर्ने? एक स्थानीय प्रश्न गरे। 

उता प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कारवाही गर्ने कुनै कानुनी आधार नभएकाले आफूहरुले कारवाही गर्न नसकेको जनाए। ‘एकपटक काम नगर्ने ठेकेदारलाई गृहमन्त्रालयले कारवाही गर्ने अभियान चलाएको थियो, त्यहि बेला हामीले पनि ठेकेदार रौनियारलाई बोलाई छलफल गरेका थियौ’, प्रजिअ ढकालले नागरिकसँग भने, ‘हामीलाई ६ महिनामा काम सक्छु समय दिनुस् भनेपछि काम गर्ने प्रतिवद्धता सहित गराइएको थियो, तर हाल काम भएको छैन।’ उनले काम नगर्ने ठेकेदारलाई आफुहरुले कारवाही गर्न सक्ने अधिकार नभएको र सडक विभागले नै हेर्ने बताए। ‘अब सडकले नै हेर्ने भनिएको छ’, प्रजिअ ढकालले थपे, ‘हामीले कारवाही गर्न सक्दैनौ।’ 

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतसहितको टोलीले ठेकेदारलाई कारवाही गरि काम अगाडि बढाउन दवाब दिन भन्दै गृहमन्त्री रामबहादुर थापालाई भेटेर फाइल पेश गरेका थिए। तर नगरपालिकाले अगुवाई गरेपनि ठेकेदारले लापरवाही गर्दा यसबर्ष पनि नदी पार गर्दा तीन जनाले ज्यान गुमाई सकेको प्रवक्ता राउतले जनाए। मदनभण्डारी राजमार्ग अन्तर्गत कमलानदीमा निर्माणधिन उक्त पुल जिल्लाकै सबैभन्दा लामो र पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषा जिल्लामा कमलानदीमै निर्माण गरिएको पक्की पुल पछिकै दोस्रो लामो पुल हो। पुल निर्माण अलपत्र हुँदा निर्माण भएका कतिपय पिल्लर भासिएका छन् भने कतिपय बग्ने अबस्थामा छन्। 

दुधौली नगरपालिका २, हत्पतेमा रहेको प्रशिद्ध धार्मीक तीर्थस्थल मधुगंगा महादेवको दर्शनका लागि साउन महिनाको सोमबार तीर्थयात्रीको ठुलो चाप हुने गरेको छ। उक्त मन्दिरमा जानका लागि कमलानदी पार गर्नुपर्ने हुन्छ। कमलामा पुल नहुँदा बर्षेनी स्थानीयले ज्यान गुमाइरहेका छन्। 

प्रकाशित: १२ भाद्र २०७५ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App