७ वैशाख २०८१ शुक्रबार
राजनीति

करको भ्रम चिर्नुस् : प्रधानमन्त्री अाेली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्। “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो। नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ। त्यसलाई सच्याएर लैजानु पर्दछ। गलत हल्ला र प्रचारको पछाडि नलागौँ।” 

नेपाल नगरपालिका सङ्घको छैटाैं राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले करको विषयमा जनस्तरमा अनेक प्रकारका हुने नहुने भ्रम फैलाइएकाले त्यसलाई चिरेर जनतालाई सेवा दिन आग्रह गरे। करको विषयमा रहेको बुझाइका कारण भ्रम उत्पन्न गराउन खोजिएकाले जनतालाई बुझाएर साथैमा लिएर जाने वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। 

केही स्थानीय तहले नबुझी लागू गरेको करका कारण सङ्घीय सरकार र प्रदेश सरकारलाई समेत अपजस आएकाले त्यसलाई सच्याउनुपर्ने बताए। स्थानीय सरकारलाई साधन स्रोत, सशक्त र प्रभावकारी बनाउन केन्द्रीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जनप्रतिनिधिलाई एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए। 

जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले स्थानीय तहको जिम्मेवारी महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो। स्थानीय तहका जनप्रतिनिधिको वरियताका विषयमा रहेको समस्या केही दिनभित्रै टुङ्गो लगाइने र त्यसको तयारीमा सरकार रहेको जानकारी दिए। 

प्रकाशित: १२ भाद्र २०७५ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App