७ वैशाख २०८१ शुक्रबार
कला

बिक्रीमा ‘राज कपुर’ को स्टुडियो

मुम्बई – बलिउड अभिनेता राज कपुरको नाममा ७० वर्ष अघि स्थापित आर के स्टुडियो बिक्री हुने भएको छ । मुम्बईको चेम्बुरस्थित स्टुडियोलाई बेच्नका लागि कपुर परिवारले सहमति जनाइसकेका छन् । एकताका निकै व्यस्त रहने यो स्टुडियो पछिल्लो दशकमा अत्यन्तै कम प्रयोगमा आएको थियो।  

गत वर्ष आगलागीको चपेटामा परेको स्टुडियोलाई पुननिर्माण गर्न लाखौं रकम खर्च हुने देखिएपछि कपुर परिवारले यसलाई मर्मत गर्नेभन्दा पनि बेच्ने मन बनाएका हुन्  । आधुनिक किसिमका स्टुडियो मुम्बईमा खुल्ने क्रम बढेपछि यो स्टुडियो सुटिङ प्रयोजनका लागि कमै मात्र प्रयोग हुन्थ्यो।

स्टुडियो दिनानुदिन घाटामा गएपछि कपुर परिवारले स्टुडियो बेच्ने निर्णय लिएको हो । यो स्टुडियो २ हेक्टर जमिनमा बनेको छ । जहाँ राज कपुरले आफ्ना धेरै फिल्म सुटिङ गरेका थिए । यो स्टुडियो वरपर कमै मात्र फिल्मको सुटिङ हुन थालेपछि पनि स्टुडियो प्रयोगविहिन हुँदै आएको थियो।

मुम्बईमा हाल अधिकतम सुटिङ वेस्टर्न लाइन्सको फिल्मसिटीदेखि लिएर अन्य स्थानमा हुने गरेका छन् । आर. के. स्टुडियो हार्बर लाइनमा रहेको छ । कपुर परिवार स्टुडियो बेच्नका लागि बिल्डर्स, कर्पोरेट्स र डेवलपर्सको सम्पर्कमा छन्। 
यो स्टुडियो बेच्ने निर्णय गर्नु कपुर परिवारका लागि सजिलो थिएन । ‘हामीले आफ्नो हृदयलाई ढुंगामा राखेका छौं।

छातीमा ढुंगा राखेर सोचेर र सम्झेर यो फैसला लिनुपरेको हो,’ ऋषि कपुरले भनेका छन् ।  ऋषिले स्टुडियोमा आधुनिक प्रविधिको प्रयोग गरेर पुनर्जिवन दिने योजना बनाए पनि उनका दाजु रणधीरले यो कुरामा सहमत नभएपछि बेच्नु परेको बताएका छन्। 

राज कपुरले सन् १९४८ मा यो स्टुडियोको स्थापना गरेका थिए । गत वर्षको सेप्टेम्बर १६ मा यो स्टुडियोमा ‘सुपर डान्सर’को सेटमा आगलागी भएको थियो । आर केको ब्यानरले ‘आग’, ‘बरसात’, ‘आवारा’, ‘श्री ४२०’, ‘जिस देश में गंगा बहती है’, ‘मेरा नाम जोकर’, ‘बोबी’, ‘सत्यम शिव सुन्दरम’, ‘राम तेरी गंगा मैली’ जस्ता फिल्म  निर्माण गरिसकेको छ । यो ब्यानरले निर्माण गरेको पछिल्लो फिल्म ‘आ अब लौट चलें’को निर्देशन ऋषि कपुरले गरेका थिए।

 

प्रकाशित: १२ भाद्र २०७५ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App